कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कर्णाली संसद्‍मा असंसदीय भाषा, सांसद बोलिरहे, सभामुख रमिते बने

चाँदनी कठायत

(वीरेन्द्रनगर) — कर्णाली प्रदेशसभा बैठकमा शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको थियो । नेकपा सांसद करवीर शाहीले मन्त्री खड्गबहादुर खत्रीतिर औंला ठडयाउँदै भने, ‘किताब बाहिर रातो भए पनि भित्र कालो छ, तपाईं त मान्छे कालो, मन पनि कालो ।’

कर्णाली संसद्‍मा असंसदीय भाषा, सांसद बोलिरहे, सभामुख रमिते बने

संसद्मा हाँसो छुट्यो । सभामुख राजबहादुर शाहीले उनको भनाइप्रति कुनै प्रतिक्रिया जनाएनन् । यसबाट हौसिएका सांसद शाहीले थपे, ‘तपाईंका आँखा नै त्यस्तै छन्, मोतिबिन्दु रोग लागेको भए उपचार गर्नलाई म मेरो तलबबाट पैसा हालिदिन्छु ।’


संसद्मा अशोभनीय, अमर्यादित र आपत्तिजनक शब्द प्रयोग गर्न नहुने अन्तर्राष्ट्रिय मान्यता छ । कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम २० (घ) मा समेत अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न नहुने स्पष्ट व्यवस्था छ । कर्णाली प्रदेशसभा बैठकमा भने सांसदले अमर्यादित र अशोभनीय भाषाशैली प्रयोग गरिरहेका छन् ।


यसलाई कडाइका साथ नियमन गर्ने प्रमुख पदाधिकारी सभामुख पनि रमितेजस्तै देखिन्छन् । शुक्रबारको बैठकमा कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खड्कालाई ‘बोक्सी’ को संज्ञा दिए । ‘हाम्रा मन्त्रीलाई देउता नै लागेको हो कि ?,’ उनले भने, ‘मन्त्री यसैगरी बोक्सी नै भएर बस्ने हो भने झाँक्री बोलाएर झारफुक त गर्नैपर्‍यो ।’


संसद्मै मन्त्रीलाई बोक्सी भनिरहँदा सभामुख शाही मौन बसे । त्यसपछि बोलेकी नेकपा सांसद पद्मा खड्काले सांसद शाहीको भाषाप्रति आपत्ति जनाउँदै उक्त शब्द संसद्को रेकर्डबाट हटाउन माग गरिन् । त्यसपछि मात्र सभामुख शाहीले ‘संसद्को मर्यादालाई कायम राखी मर्यादित र सन्तुलित शब्द प्रयोग तथा हाउभाउ प्रदर्शन गर्न’ आग्रह गरे ।


कतिपय अन्य सांसदले पनि अत्यन्तै आपत्तिजनक शब्द प्रयोग गर्ने गरेका छन् । सामान्य आचरण र मर्यादा नाघ्ने यस्ता अभिव्यक्तिको नियन्त्रण भने हुन सकेको छैन । बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको पहिलो दिन नेकपा सांसद ठम्मरबहादुर विष्टले सन्तुलित बजेट ल्याउन दबाब दिइरहेको प्रमुख प्रतिपक्षी कांग्रेसलाई उकास्दै भने, ‘सदनमा गोली चले पनि (विरोध गर्न) नछाड्नुस् ।’ उनको यो वाक्यांश सम्मिलित ७ मिनेटको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । तर, संसदभित्र बोलिएको आपत्तिजनक शब्दमा न सभामुखले, न अन्यले ध्यान दिए ।


सांसद विष्टले संसदीय मर्यादामाथि थप प्रहार गरिरहे । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको बजेटमाथिको छलफलमा मन्त्रीलाई ‘भाङ खाएर बजेट ल्याएको’ अभिव्यक्ति दिए । ‘भाङ नै खाएको भए पनि एकछिन त छाडेहोला नि †’ सार्वजनिक नैतिकतामाथि प्रतिकूल हुने अभिव्यक्ति दिँदै उनले भने, ‘यसरी गाईजात्राको तालमा बजेट आएको छ ।’


प्रदेशसभामा पहिलोपटक प्रवेश गरेका नयाँ सांसद मात्र होइनन्, संघीय संसद्मा अभ्यास गरेका अनुभवी सांसदले पनि संसदीय गरिमा गिराइरहेका छन् । दोस्रो संविधानसभामा सभासद रहेका नेकपा सांसद अमरबहादुर थापाले बजेट किताबमा पुँजीगत र चालु बजेट नभएको भन्दै ‘मन्त्रालयमा गणित पढेका मान्छे छन् कि छैनन् ?’ भनेर होच्याउने शब्दावली प्रयोग गरे । नेकपाकै अर्का सांसद गणेशप्रसाद सिंहले ‘मन्त्रीको आईसी उडेको’ अभिव्यक्ति दिए । ‘किताबका विवरण स्पष्ट छैनन्,’ उनले भनेका थिए, ‘यो लेखौं कि, त्यो लेखौं भनेर आईसी उडेजस्तो लाग्यो मलाई त ।’


प्रदेशसभा नियमावलीमा अमर्यादित भाषा बोल्ने सांसदलाई के–कस्तो कारबाही हुने भन्ने स्पष्ट व्यवस्था नभए पनि परिच्छेद– ७ मा उल्लिखित ‘बैठकमा सुव्यवस्था’ सम्बन्धी प्रावधानमा सभामुखले अभद्र व्यवहार गर्ने र नियमावली उल्लंघन गर्ने सांसदलाई चेतावनी दिने, बैठक कक्षबाट निष्कासन गर्ने र सदस्यको निलम्बन गर्नेसम्मको अधिकार छ ।


सभामुख शाही अन्तर्राष्ट्रिय मान्यताअनुरूप नै संसद्मा आफ्ना भनाइ राख्दा अवाञ्छित शब्द तथा हाउभाउ प्रस्तुत गर्न नपाइने प्रचलन रहिआएको बताउँछन् । बजेटमाथिको छलफलमा केही सांसदले अशोभनीय भाषा प्रयोग गरेकाले पहिलो पटक सचेत गराइएको उनले बताए ।


‘बारम्बार आग्रह गर्दा पनि सांसदहरूले असंसदीय शब्द प्रयोग गरिरहे उनीहरूको आवाज रेकर्डबाट हटाउनेलगायत अन्य कारबाहीको प्रक्रिया चलाउन पनि सकिन्छ’ उनले भने ।


प्रकाशित : श्रावण १, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?