रानीपोखरी पुनर्निर्माण : पानी रसाएन, अरू विकल्पबाट भरिँदै

दामोदर न्यौपाने

काठमाडौँ — रानीपोखरीमा सके प्राकृतिक स्रोतकै पानी भर्ने तयारी थियो । प्रयास पनि भयो । बर्खा लाग्नु अघिदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको प्रयास विफल भएको छ । अब अन्य विकल्पबाट पानी भर्नुपर्ने बाध्यता आइलागेको छ । 

प्राधिकरणले बर्खा लाग्नुअघि नै पानीको स्रोतसमेत पत्ता लगाउने गरी पोखरीको काम अघि बढाएको थियो । पोखरीमा परीक्षण गर्दा प्राकृतिक स्रोतबाट पानी आउने सम्भावना लगभग सकिएको निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ । पोखरीको चार कुना र बीचमा समेत गरी ८ ठाउँमा परीक्षण गरिएको समितिको सचिव रोशनकाजी तुलाधरले जानकारी दिए ।

‘प्राकृतिक स्रोतबाट पानी आउने सम्भावना लगभग छैन,’ तुलाधार भन्छन्, ‘पोखरी वरिपरि बनेका घर, सडक पिचजस्ता कारणले जमिन सतहमा पानीको बहाब घटेको छ । त्यही भएर पानी आउने सम्भावना घटेर गएको छ ।’

पोखरीको ८ ठाउँमा परीक्षण गरिएको मध्ये ४ ठाउँमा चाहिँ पानी रसाएको थियो । पानी रसाएको ठाउँबाट पनि पानी आउनेसम्भावना नदेखिएको तुलाधरले बताए ।

पोखरीमा पानी भर्न चार वटा विकल्पसहित काम सुरु भएको थियो । पहिलो विकल्प प्राकृतिक स्रोतबाट पानी भर्ने । त्यसबाट नपुगे बाहिरी स्रोतबाट राख्ने योजना प्राधिकरणले बनाएको थियो । बाहिरी स्रोतमा रानीपोखरी वरिपरी वर्षामा बग्ने पानीलाई शुद्धीकरण गरेर पोखरीमा राख्ने, मेलम्चीको पानी राख्ने वा डिप बोरिङ गरेर पानी भर्नेजस्ता विकल्प प्रयोग गरिने प्राधिकरणले जनाएको छ । पोखरी ८ वटा इनारबाट प्राकृतिक रूपमा पोखरी ‘रिचार्ज’ गर्ने व्यवस्था थियो ।

रानीपोखरी पुनर्निर्माणको क्रममा विवाद भएपछि बनेको विज्ञ समितिले पनि पोखरीमा इनारबाट पानी भर्ने र इनारबाटै बढी भएको पानी बाहिर जाने प्रविधि रहेको औंल्याएका थिए । पोखरी यहीं छ भनेर विज्ञले पनि पत्ता लगाउन सकेका थिएनन् ।

रानीपोखरी पुनर्निर्माणको क्रममा विवाद भएपछि पुरातत्त्वविद् विष्णुबहादुर कार्कीको संयोजकत्वमा २०७४ पुसमा विज्ञ समिति बनेको थियो । १५ दिन अध्ययन गरेर समितिले प्रतिवेदन बुझाएको थियो । त्यही सुझावअनुसार पोखरी र पोखरीको बीचको मन्दिर प्राचीन शैलीमा बनाउन लागिएको हो । पोखरी निर्माणको काम उपभोक्ता समितिले पाएको छ । मन्दिर, पुललगायत बाहिर निर्माणको काम भने ठेकेदारमार्फत हुने भएको छ । पोखरी निर्माणको लागि उपभोक्ता समितिलाई ९ करोड ५० लाख रुपैयाँ विनियोजन भएको तुलाधारले जानकारी दिए ।

तुलाधरका अनुसार पोखरीको १५ प्रतिशत काम सकिएको छ । पोखरी निर्माणका लागि भक्तपुरका कालिगढ र कामदार खटिएका छन् । कामदार सबै महिला छन् । उनीहरूसँग ५० वर्ष सुकेको भक्तपुरको भाजु पुखु प्राचीन प्रविधिबाट बनाएको अनुभव छ । त्यही अनुभवका आधारमा उनीहरूलाईरानीपोखरीको जिम्मा दिइएको थियो ।

काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको पोखरी र मन्दिर पुनर्निर्माणको क्रममा विवाद भएको थियो । २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । महानगरले मन्दिर र पोखरी बनाउने क्रममा आधुनिक निर्माण सामग्री प्रयोग गरेपछि त्यसको विरोध भएको थियो ।

विरोध भएपछि पुरातत्त्व विभागले काम रोकिदियो । महानगरले प्राचीन प्रविधबाट मन्दिर बनाउने जनशक्ति नभएको बताएपछि मन्दिर बनाउने जिम्मा पुरातत्त्व विभागले लियो । विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहालले विज्ञले दिएको सुझावअनुसार ग्रन्थकुट शैलीमा मन्दिर बनाउन राजी नभएपछि फेरि विवाद आएको थियो । विवादले काम अघि नबढेपछि गत वर्षको माघमा सरकारले रानीपोखरी र मन्दिर पुर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै दिएको थियो ।

कसरी आउँछ इनारबाट पानी ?
उपत्यकाको पानी वितरणको प्राचीन प्रविधि अध्ययन गरेका जोशीका अनुसार पोखरीको सतहभन्दा तल बग्ने पानीलाई कालो माटोले थुनिन्छ । माटोले थुनेको छेउमा इनार खनिन्छ । कालो माटोले थुनेपछि पानी माथितिर जान्छ । अनि पोखरी भरिन्छ । कालो माटो थलथले हुन्छ ।

थलथले माटो पानी परेपछि ढाडिन्छ । ढाडिएपछि पानी कतै जाँदैन । रोक्छ । ‘पानी भएन भने पटपटी फुट्छ,’ तिवारी भन्छन्, ‘पानी हाल्यो भने फुल्छ । यही बुझेर ढुंगेधारा, पोखरी, इनार बनाउँदा कालोमाटो प्रयोग गरिएको हो ।’ रानीपाखरीको डिलमा कालोमाटो राखिएको छ । त्यो पानी अड्याउन राखिएको हो । तिवारीका अनुसार पोखरी प्राचीन वास्तुशास्त्रअनुसार निर्माण गरिएको छ ।

पोखरीमा पानी आउने इशान (उत्तरपूर्व ) र पानी बाहिर जान आग्नेय (दक्षिणपूर्व) दिशामा इनार हुनुपर्ने उनको अनुमान छ । पानी विज्ञ प्रयागराज जोशी पनि धेरैपछिसम्म दक्षिण दिशामा इनार देखिएको बताउँछन् । ‘अहिले महानगरीय प्रहरी महाशाखा भवन भएको ठाउँमा रानीपोखरीको इनार थियो,’ उनी भन्छन्, ‘त्यहाँ तातो पानी आएको देखिन्थ्यो ।’ पानी वितरण गर्ने प्राचीन प्रविधिमा इनारबाट इनारमै लैजाने व्यवस्था मिलाइएको हुन्छ ।

रानीपोखरीको कनेक्सन टुँडिखेलसँग थियो । टुँडिखेललाई जलभण्डार थियो । आउटलेटका लागि मिलाइएको पानी इनारको पिँधमा राखिएको बालुवाबाट जलभण्डारतिर पठाइएको हुन्थ्यो । ‘इनारमा पानी भरिन्छ,’ जोशी भन्छन्, ‘अनि तल बालुवाबाट रसाएर पानी जलभण्डारमा जान्छ ।’
टुँडिखेलभित्र पानी बगिरहने जलभण्डार रहेको जोशी बताउँछन् । तर यो भण्डार सुक्दै गयो । ‘टुँडिखेलमा दुई मिटर खन्नासाथ पानी आउँछ,’ जोशी भन्छन्, ‘यहाँ आउनेपानीको मुख्य स्रोत रानीपोखरी नै हो ।’

टुँडिखेल, भद्रकालीलगायतको क्षेत्र सिमसार हो । बस्ती बसेपछि यो सिमसार पनि मासिएको छ । टुँडिखेलको जलभण्डार पनि ढल राखेपछि मासिँदै गयो । ‘२०३४ सालतिर यहीबाट त्रिपुरेश्वरसम्म ढल बिछ्याइयो,’ जोशी भन्छन्, ‘ढल बिछ्याउँदा जलसतह खनियो । सतहभन्दा तलबाट ढल राखियो । ढल राखेको ठाउँबाट पानी रसाउँदै गयो । जलभण्डार घट्यो,’ उनी भन्छन्, ‘जल भण्डार घट्दै गएपछि सुन्धारालगायत पनि सुक्दै गए ।’ विस्तारै सुक्दै गएको सुन्धारा कर्मचारी सञ्चय कोष भवन बनाउँदा जग गहिरो बनाइयो । सुन्धरामा जाने पानीकोबाटो बन्द भयो । सुन्धरा पूरै सुक्यो ।

रानीपोखरीको पानी आपूर्ति कम हुँदै गयो । ‘राजकुलोबाट रेगुलर पानी आउँथ्यो,’ जोशी भन्छन्, ‘अब त्यो सिस्टम छैन । राजकुलो मासियो । लैनचौर पनि सुक्यो । अब वर्षाको पानीमा मात्रै भर परेको थियो रानी पोखरी । सतह निकै घटेको थियो । त्रिचन्द्र क्याम्पसको छतको पानी यहाँ पठाउने व्यवस्था गरिएको थियो ।’

‘तान्त्रिक विधि पूरा गरियोस्’
प्रताप मल्लले आफ्नो तान्त्रिक विश्वास्अनुसार रानीपाखरीमा संरचना बनाएका छन् । संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार त्यति बेला भूतप्रेतमा विश्वास गरिन्थ्यो । प्रतापको छोरालाई भूतले मारेको विश्वास गरियो । छोरा खाने भूतलाई हात्तीले कुल्चेर मार्‍यो ।

त्यही विश्वासले रानीपोखरी छेउमा हात्तीले भूतलाई कुल्चेको प्रतिमा राखिएको छ । पोखरीको पानी पनि तान्त्रिक मन्त्र जपेर देश र विदेशका विभिन्न धार्मिक स्थलबाट ल्याएर भरिएको थियो । ‘यो तान्त्रिक विधि पनि पूरा गर्नुपर्छ,’संस्कृतिविद् यज्ञमानपति बज्राचार्य भन्छन् ।

मन्दिर, पुल र बगैँचा ठेक्का सम्झौता
रानीपोखरीबीचको मन्दिर, वरिपरिको बगैँचा र मन्दिरसम्म जाने पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । निर्माणको जिम्मा सीए/तुलसी कन्ट्रक्सन जेभीले पाएको छ । यसको निर्माण लागत १४ करोड २७ हजार रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमै मन्दिर बनाउने जानकारी दिए । ‘अब रानीपोखरी द्रुतगतिमा अघि बढ्छ,’ ज्ञवालीले भने ।

५१ तीर्थको जल
दिगो स्रोत त छँदै छ, त्योभन्दा पहिला गर्नै पर्ने केही धार्मिक र सांंस्कृतिक विधि छन् । ती विधि असम्भव छैनन् तर अप्ठयारा छन् । रानीपोखरीसँग संस्कृति जोडिएको छ । त्यो संस्कृति कायम राख्नु अर्काे चुनौती हो । यहाँ विभिन्न ५१ तीर्थ स्थलका पानी ल्याएर पोखरी बनाइएको हो ।

वनारसको वैद्यनाथ, गण्डकी, नीलकण्ठ, कौशिकी, विष्णुमती, वाग्मती, बागेश्वरी, सकुनतीर्थ, मुस्ताङको मुक्तिनाथ, सुनसरीको बराहक्षेत्र, रसुवाको गोसाइँकुण्ड नुवाकोटको त्रिशूलीलगायत तीर्थस्थलबाट जल ल्याएर रानीपोखरी निर्माण गरिएको थियो । प्राधिकरणले यी सबै प्रक्रिया पूरा गर्ने जनाएको छ । ‘हामी यो प्रक्रिया पनि पूरा गर्छौं,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भन्छन्, ‘रानीपोखरीको प्राचीनता जस्ताको तस्तै रहने गरी निर्माण गर्छाैं ।’

प्रकाशित : श्रावण १, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्

पहिला पोखरी अहिले पार्किङ

प्रशान्त माली

(ललितपुर) — नेपाल भाषामा पलेस्वाँ पुखु भनिने सप्तपाताल पोखरीमा ललितपुर महानगरपालिकाले पार्किङ सञ्चालन गर्न ठेक्का दिएको छ । यसको विरुद्धमा पाटनबासीले विरोध जनाएका छन् । सप्तपाताल पोखरी लगनखेलस्थित अशोक थुरको सान हो ।

पुल्चोकको थुरको सान त्यहाँको कमलपोखरी थियो । स्थानीय न:टोलबासीले ठेक्कापट्टा रद्द नगरेमा जस्तोकुसै कदम चाल्न पनि पछि नहट्ने चेतावनी दिएका छन् ।

उनीहरूले पोखरी संरक्षणको बारेमा ललितपुर महानगरपालिका, २० वडा कार्यालयमा ज्ञापन र पाटनका ४० वटा टोललाई सहयोगका लागि पत्र पठाएका छन् । पार्किङको ठेक्का पाएका स्थानीय विनोद महर्जनले मासिक एक लाख ६१ हजार रुपैयाँ बुझाउने गरि ५ वर्षका लागि ठेक्का पाएका हुन् । उनले प्रतिपर्यटक बसको ५० रुपैयाँ र अन्य प्रतिसवारीसाधानको ३० रुपैयाँका दरले उठाउने छन् ।

पाटन न:टोलका ८५ वर्षीय जोगिचा महर्जन ११ वर्ष लाग्दा आमा बितेकी थिइन् । वर्षभरि दिवंगत भएका आफन्तले मोक्ष प्राप्त गरून् भन्ने कामना गर्दै सापारुका दिन पाटनका चार थुर लिन जाने चलन छ । उनको पालासम्म थुरवरिपरि ३२ रोपनी बढी फैलिएका चार वटा कमल पोखरी थिए । सबभन्दा ठूलो १६ रोपनी बढी क्षेत्रफलमा फैलिएको वडा नम्बर २० ‘ख’ कित्ता नम्बर ३७ थियो ।

जसमा २०४४ मा ललितपुर महानगरको कार्यालय भवन बनाइयो । ४१ नम्बर कित्ताको पोखरीमा त्रिपद्म मावि सञ्चालनमा छ । अहिले कित्ता नम्बर ४० को ४ रोपनी १५ आना ३ पैसा १ दाममा पार्किङ सञ्चालन गर्न ठेक्का दिएका हुन् । उनी भन्छन्, ‘स्वयम्भु चैत्य र अशोक थुर उपत्यकाका विशिष्ट बौद्धस्थल हुन् । यसको गर्भमा रहेको पोखरी मास्नु पाप हो, जर्गेना गरे पुण्य मिल्छ ।’

उनका अनुसार पोखरी मास्दा थुरको इतिहास नै धरापमा पर्‍यो । ‘पोखरी छँदा थुरको दृश्य अत्यन्त मनमोहन थियो । जसलाई पनि लोभ्याउने खालको थियो,’ उनले भने, ‘सबै मिलेर पोखरीलाई पोखरी नै बनाआँै ।’ पुल्चोकमा अहिले ३८ नम्बर कित्तामा मात्र पोखरी बाँकी छ ।

२०२६ सम्म पोखरीमा पानी थियो । पाटनकै एक जना व्यक्तिले पोखरीमा घर निर्माण गर्न नक्सापास स्वीकृतिका लागि तत्कालीन नगरपालिकामा फाइल पेस गरे । यसको विरुद्धमा स्थानीयले सर्वोच्चमा रिट दायर गरे । अदालतले पोखरी नै कायम गर्न फैसला गरे । अहिले महानगरको ठेक्कापट्टा सर्वोच्च फैसलाविरुद्ध भएको पोखरी संरक्षण समितिका पदाधिकारी बताउँछन् । पञ्चायतकालमा टीकाभैरवबाट बग्ने राजकुलो बन्द भए । पञ्चदानको दिनमा सबै जना मिलेर कुलो सफा गर्ने चलन बन्द भयो । पोखरी सुक्दै गए । पोखरी डम्पिङ साइड बन्यो ।

तत्कालीन नगर पञ्चायतले फोहोर फाल्ने ठाउँ भयो भनेर पोखरीको आकार सानो बनायो । पोखरी आसपास पर्खाल लगायो । तैपनि फोहोर फाल्नेक्रम रोकिएन । वरिपरि अत्याधिक दुर्गन्ध फैलिन थाल्यो । हँुदाहँुदै बंगुर पाल्ने ठाउँ बन्यो । २०५४ मा नगरपालिकाले सभाहल बनाउने भनी पोखरी पुरे । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास पनि गरे । स्थानीयले विरोध गरेर हल बनाउन दिएन । तीन वर्षअघि पार्किङ टेन्डर गर्दा स्थानीयले पोखरी नै कायम गर्न माग गरेर डेलिगेसन गएका थिए । त्यतिबेला नगरपालिकाले तीन वर्षपछि पोखरी बनाउने आश्वासनमा स्थानीयलाई नै पार्किङ सञ्चालन गर्न दिए ।

अहिले पुन: ५ वर्षका लागि ठेक्का गरेपछि स्थानीय महानगरको विरुद्धमा खनिएका हुन् । न:टोल कमलपोखरी संरक्षण समितिका अध्यक्ष बाबुराजा महर्जन भन्छन्, ‘यो पोखरीमा महानगरले आँखा लगाएको छ । यसमा न:टोलबासीको रगत र पसिना जोडिएको छ । ठेकेदारलाई कुनै पनि हालतमा पार्किङ सञ्चालन गर्न दिँदैनौं । जबरजस्ती गरेमा कडा रूपमा प्रस्तुत हुन बाध्य हुने छौंँ ।’

उनका अनुसार महानगरको नगरपरिषद् सम्पन्न भएको छैन । ‘जनप्रतिनिधिले चाहेमा ठेक्का रद्द गर्न सकिन्छ,’ उनले भने, ‘महानगरले समर्थन नगरे पनि साउन १ देखि स्थानीयकोसहभागितामा पोखरी खन्न सुरु गरिनेछ ।’

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले ठेक्कापट्टा भइसकेकाले पोखरीको डीपीआर र फिजिभिलिटी स्टडी रिपोर्ट नबनेसम्म पार्किङ सञ्चालनमा ल्याउन स्थानीयसँग छलफल गरिने बताए । ‘पोखरी नबनेसम्म पार्किङ सञ्चालन गर्न दिँदा केही फरक पदैन,’ उनले भने, ‘अहिले स्थानीय आक्रोसित हुनु स्वाभाविक हो ।’ उनले ठेक्कापट्ट गर्नुअघि नै स्थानीयले यस विषयमा पहल गरेको भए अहिले समस्या नआउने बताए । ‘पहिला स्थानीयलाई नै पार्किङ सञ्चालन गर्न ठेक्का दिँदै आइरहेको थियो,’ उनले भने, ‘राम्रो कामका लागि महानगरले पहल गर्छ । आवश्यक परेमा ठेक्का समेत रद्द सक्छ ।’ उनले यस विषयमा सम्बन्धित वडाध्यक्षलगायतसबैसँग छलफल गरेर अगाडि बढिने बताए ।

ललितपुर महानगरपालिका २० का वडासदस्य धनबहादुर महर्जनले कुनै पनि हालत पार्किङ राख्नु दिन नहुने बताए । ‘महानगरको नीति तथा कार्यक्रममा इनार, कुवा, ढुंगेधारा, पोखरीको पहिचान गरेर संरक्षण गर्ने योजना छ,’ उनले भने, ‘यो त आफैं नियम बनाउने आफैं मिच्ने जस्तो भएको भयो ।’ उनले मंगलबार हुने नगरसभामा समय माग गरेर पोखरीको बारेमा उत्थान गर्ने बताए । पोखरीमा हिउँदमा राजकुलो र बर्खामाआकाशे पानी जम्मा गर्न गरिन्छ ।

प्रकाशित : श्रावण १, २०७६ १०:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT