कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेलचेक्र्याइँले मृत्युका घटना बढे

विनु तिम्सिना

विराटनगर — मोरङको जहदा गाउँपालिकाका १६ वर्षीय आदर्श पोद्धार लोहन्द्रा खोलामा पौडी खेल्न गएका थिए । लगातारको वर्षाका कारण लोहन्द्रा खोलामा पानीको बहाव बढेको थियो । तर लापरबाही गर्दै पौडी खेल्न गएका पोद्धारलाई खोलाले बगायो । केही दिनदेखि भइरहेको वर्षातलाई पनि बेवास्ता गर्दै माछा मार्न गएका सुनसरीका सागर थापालाई पनि खोलाले बगायो ।

हेलचेक्र्याइँले मृत्युका घटना बढे

आफ्नो कुकुरलाई बचाउन खोलाभित्र छिरेका उदयपुरका ३५ वर्षीय मनकुमार तामाङ न आफू बाँचे न त उनको कुकुर नै ।


झापा दमककी ६ वर्षीया एलिजा न्यौपाने स्थानीय भालु खोलाको कल्भर्टमा जमेको पानीमा खेलिरहेकी थिइन् । एक्कासी पानीमा खसेकी उनको डुबेर मृत्यु भयो । बुढी खोलामा बाढीसँगै बगेर आएको दाउरा झिक्न खोलामा पसेका सुनसरीका खालिद मियालाई तत्काल स्थानीय र प्रहरीले उद्धार गर्न सफल भयो । नत्र दाउराका लागि उनले आफ्नो ज्यान नै दिनुपर्ने हुन सक्थ्यो । अहिले उनको विराटनगरस्थित विराटनगर टिचिङ अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण प्रदेश १ मा २६ जनाको मृत्यु भएको छ । यसमध्ये अधिकांश आफ्नै लापरबाहीका कारण र सावधानी नअपनाउँदा खोलाले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


बाढी पहिरोमा परी खोटाङमा ३, झापामा ३, ओखलढुंगामा ४, भोजपुरमा ५, इलाममा १, सुनसरीमा १, उदयपुरमा ४, संखुवासभामा १, पाँचथरमा १ र मोरङमा ३ जनाको मृत्यु भएको छ । यी मध्ये मृत्युहुनेमा ११ जना बालबालिका र ६ जना महिला रहेका छन् । कार्यालयले दिएको तथ्याङ्क अनुसार सबैभन्दा बढी खोलाले बगाएका कारण मृत्यु भएको छ । १४ जनाको खोलाले बगाएर मृत्यु भएको छ भने १२ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।


लगातारको वर्षाका कारण खोलामा बहाव बढेको, पोखरीमा पानीको सतह बढेको अवस्थामा पौडी खेल्ने, माछा मार्ने, जबरजस्ती खोला तर्ने, खोलामा बगेर आएका दाउरा समाउन जाने लगायतका आफ्नै लापरबाहीका कारण मृत्युको घटना बढेको प्रदेश एकका प्रहरी प्रमुख प्रहरी.नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बताए ।


‘प्रदेश १ मा आएको बाढीपहिरोमा अधिकांश मृत्यु खोलाले बगाएर भएको देखिन्छ,’ उनले भने, ‘खोलामा बाढी आइरहेको छ पौडी खेल्न जाने, माछा मार्न जाने अनि खोलामा आएका दाउरा बटुल्न जाने यस्ता आफ्नै लापरबाहीले गर्दा धेरैले ज्यान गुमाएका छन् ।’ सुनसरीका १० वर्षे बालक अर्पण राईलाई खोलाले बगाएको अझै बेपत्ता नै छन् । ‘माछा मार्न भनेर गएर उनलाई खोलाले बगायो,’ प्रदेश प्रहरी प्रमुख ज्ञवालीले भने,‘त्यसै पनि बाढी आएको बेला खोलामा बगाएर आएका माछा खान हुँदैन एउटा माछाको लोभले ज्यान गुमाइरहेका छन् ।’


तराईका जिल्लाहरूमा घर छेउमा पोखरी हुने गरेको र वर्षातको मौसममा पोखरीमा पानी धेरै जम्मा हुने गरेको छ । अभिभावकहरुले राम्रो ध्यान पुर्‍याउन नसक्दा बालबालिकाहरु यस्ता पोखरीमा डुब्ने गरेको प्रदेश प्रहरी प्रमुख ज्ञवालीले बताए ।

प्रकाशित : श्रावण १, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?