१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपाली तटबन्धले नै डुबान :गृहमन्त्री

अजित तिवारी

जनकपुर — गृहमन्त्री रामबहादुर थापाले नेपाली तटबन्धकै कारण तराई–मधेस डुबानमा परेको बताएका छन् । उनले नेपाली तटबन्धलाई ठीक ढङ्गले व्यवस्थापन नगरेका कारण डुबानको समस्या बढेको बताए ।

नेपाली तटबन्धले नै डुबान :गृहमन्त्री

‘सीमामा भारतले बाँधरुपी बाटो बनाएका कारण नेपाली भू–भाग डुबानमा परेको खबर आएपछि हामीले भारतसँग कुराकानी गर्‍यौँ,’ बाढी प्रभावित क्षेत्रको हेलिकप्टर निरीक्षणपछि जनकपुर विमानस्थलमा बिफ्रिङ गर्दै गृहमन्त्री थापाले भने,‘त्यो(भारत) बाँधले समस्या नल्याएको देखियो । हामीतिर ठिक ढंगले तटबन्धन नगरेकाले डुबानमा परेको हो ।’ उनले खोला–नदीको तटबन्धलाई व्यवस्थित गर्नुपर्ने बताए ।


पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित झन्डै आधा दर्जन मन्त्रीसहित बुधबार प्रदेश २ को बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका गृहमन्त्री थापाले दैवीप्रकोप व्यवस्थापनका लागि सरकारले छिट्टै प्राधिकरण गठन गर्न लागेको जानकारी दिए । उनले प्राधिकरण गठनका लागि नियमावली बनिसकेको बताए ।


‘बाढी र डुबानले प्रदेश २ मा बढी क्षति पुर्‍याएको छ,’उनले भने, ‘राहत र पुर्ननिर्माणको काम अगाडि बढाउनुपर्छ । चुरे विनाशले मधेसमा बाढीले बढी क्षति पुर्‍याएको देखिन्छ ।’ गृहमन्त्री थापाले विपद्को बेला तत्कालै उद्धार, राहत र अन्य कामका लागि पहाड र तराईमा हेलिकप्टरको बन्दोबस्त मिलाउने सरकारको सोच रहेको बताए ।


गृहमन्त्री थापासँगै हवाई निरीक्षणमा रहेका राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष मण्डलका सदस्य अनिल झालेपनि भारतीय बाँध भन्दा नेपाली तटबन्धले नै बाढी र डुबानको समस्या बढाएको बताए ।


उनले २५ वर्षदेखि मर्मतसम्भार नगरिएका तटबन्धकै कारण मधेस डुबानमा परेको दाबी गरे । ‘१७ महिनामा ९ पटक प्रतिनिधिसभामा मैले नै बाढीको बारेमा बोले । तर सरकार गम्भीर भएन,’नेता झाले भने, ‘प्राकृतिक विपद्प्रति सरकार संवेदनशील भएको पाइएन ।’


स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाढीको स्थायी समाधान चुरे संरक्षण नै रहेको बताए । उनले चुरेलाई बचाउन र त्यसलाई छेडखानी गर्ने क्रम रोक्नुपर्ने सुझाव दिए । ‘हेलिकप्टरबाट हेर्दा चुरे क्षेत्रको खोला सुख्खा छ । मधेसमा पानी उफानमा छ,’ मन्त्री यादवले भने, ‘चुरेमा पानी नै अडिएन । सबै पानी तल आयो । यो सब चुरे दोहनले नै भएको हो ।’

प्रकाशित : श्रावण १, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?