कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मृगौला प्रत्यारोपण शतप्रतिशत सफल

अतुल मिश्र

काठमाडौँ — सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो साढे दुई वर्षमा ४ सय २९ जनामा मृगौला प्रत्यारोपण गरेकामा शतप्रतिशत सफल भएको जनाएको छ । केन्द्रले २०७३ मंसिर ११ यता उक्त संख्यामा प्रत्यारोपण गरेको हो ।

मृगौला प्रत्यारोपण शतप्रतिशत सफल

‘यो अन्तर्राष्ट्रियस्तरमा गर्व गर्न सकिने सफलता हो,’ केन्द्रका कार्यकारी निर्देशक एवं मृगौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले भने, ‘यो वर्षको मेसम्ममा १७९ वटा मृगौला प्रत्यारोपण गरिसकेका छौं ।’ अढाई वर्षयता केन्द्रमा मृगौला प्रत्यारोपण एउटा पनि असफल नभएको उनले बताए । केन्द्रमा मृगौला प्रत्यारोपण निःशुल्क गरिन्छ ।


२०६९ माघ ६ देखि केन्द्रले ६ सय ४६ जनामा मृगौला प्रत्यारोपण गरिसकेको छ । यिनमा ६४ जिल्लाका सेवाग्राही छन् । १४ जना भारतीयसमेत छन् । सबैभन्दा बढी व्यक्ति काठमाडौंका ४९ जना, झापाका २९, चितवनका २८, काभ्रेका २४ र कास्कीका २३ जना छन् ।


सय शय्या क्षमताको केन्द्रले अहिलेसम्म गरेका मृगौला प्रत्यारोपणमध्ये आठवटामा असफलता मिलेको छ । केन्द्रका अनुसार ४ जनाको मृगौला प्रत्यारोपणपछि संक्रमण र हृदयाघातले मृत्यु भयो । बाँकी ४ जनामा प्रत्यारोपित मृगौलाले काम गरेन ।


‘मृगौला, कलेजो, मुटु र फोक्सोजस्ता बहुआंगिक प्रत्यारोपणको लक्ष्य लिएको संस्था मृगौला प्रत्यारोपणमा विश्वस्तरीय सेवा प्रवाह गर्न सफल भएको छ,’ डा. श्रेष्ठले भने, ‘कलेजो प्रत्यारोपणजस्तो जटिल शल्यक्रिया सुरुमा विदेशी विशेषज्ञको सहयोग र पछि आफ्नै क्षमतामा पनि गरिसकेका छौं ।’


केन्द्रले मुलुकमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको हो । अहिलेसम्म चार जनामा कलेजो प्रत्यारोपण गरेको छ । त्यस्तै मस्तिष्क मृत्यु भएका ६ जनाको मृगौला र एक जनाको कलेजो अन्य व्यक्तिमा प्रत्यारोपण गरेको छ ।

हालसम्म देशमै पहिलो पटक आफ्नो परिवारभित्र अंगदाता र ग्रहणकर्ताबीच ‘म्याच’ नभएमा दुई परिवारबीच साटासाट गरी गरिने मृगौला प्रत्यारोपण २८ जोडी अर्थात् ५६ जनामा सम्भव भइसकेको छ ।


छिमेकी मुलुकका नागरिक र विश्वभरबाट गैरआवासीय नेपाली केन्द्रमा मृगौला प्रत्यारोपणका लागि आउने गरेको डा. श्रेष्ठले बताए । ‘हामी मृगौला प्रत्यारोपण निःशुल्क गर्छौं तर छिमेकी मुलुकमा २० देखि ५० लाख रुपैयाँसम्म खर्च हुन्छ,’ उनले भने, ‘हालै मात्र छिमेकी मुलुकमा प्रत्यारोपण गर्न गएका नेपालका एक प्रतिष्ठित व्यक्तिको प्रत्यारोपणपछि ज्यान गएको उदाहरण नभएको होइन । तर आफ्नै देशको प्रत्यारोपण केन्द्रमा भएका शतप्रतिशत सफलतालाई मान्यता नदिइनु उचित र देश–जनताको भलोमा हुन सक्दैन ।’

प्रकाशित : श्रावण १, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?