१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

३ सय बिजुली बस किन्न ३ अर्ब निकासा

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले ३ सय वटा बिजुली बस किन्न ३ अर्ब रुपैयाँ निकासा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार साझा यातायातलाई बस खरिद र संचालनको जिम्मेवारी दिएको छ । प्रदुषण रहित उपत्यका बनाउन विद्युतीय बस सञ्चालन गर्ने योजना अन्तर्गत यो रकम दिइएको हो । साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले ३ अर्ब रुपैयाँ साझालाई प्राप्त भइसकेको जानकारी दिए । 

३ सय बिजुली बस किन्न ३ अर्ब निकासा

‘युरो ४ मापदण्डका बस सञचालन गरिराखेका छौँ’ पाण्डेले कान्तिपुरसित भने, ‘उपत्यकालाई विद्युतीय बसको सहर बनाउने साझाको अभियान हो, त्यो जारी रहन्छ ।’ बिजुली बस खरिदका लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले २ करोड रुपैयाँ प्रदान गरेका छन् । ‘यो रकम पनि विजुली बस खरिदकै लागि हो’ पाण्डेले भने, ‘टेण्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढाउँछौँ ।’


मन्त्रिपरिषद बैठकले पनि साझालाई बिजुली बस खरिद गर्ने जिम्मा दिने निर्णय गरेको हो । त्यसपछि मन्त्रालयले साझालाई बिजुली बस खरिदका लागि ‘स्पेसिफिकेसन’ समेत तोकिएको छ । त्यसैको आधारमा रहेर साझाले बस खरिद गर्ने छ । केही दिनमै टेण्डर आह्वान हुनेछ । चार्जिङ क्षमता, सिट संख्यालगायतका स्पेसिफिकेसन मन्त्रालयले नै तोकेको छ । ३० सिट क्षमता भन्दा बढीका विद्युतीय बस भित्र्याइनेछ । बस अपांगगमैत्री, वातावरणमैत्री, आधुनिक र प्रविधियुक्त हुनेछन् ।


सार्वजनिक यातायातलाई बढी विश्वसनीय र भरपर्दो बनाउन पनि विद्युतीय बसलाई व्यवस्थित ढंगले सञ्चालनमा ल्याउन लागेको अधिकारीहरुले बताएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले सरकारको नीति अन्तर्गत नै बिजुली बस खरिद गर्न लागेको बताए । ‘५ वर्षभित्र २० प्रतिशत सवारी साधन पुर्‍याउने सरकारको लक्ष्य नै छ’ उनले भने, ‘अब निजी सरकारी सबै क्षेत्रलाई विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गर्छौ ।’


चार्जिङ समस्या हुने भएकोले त्यसका लागि पनि विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाउन अध्ययन गरिने उनले जानकारी दिए । ‘टेण्डर गरेर बस ल्याउँदा चार्जिङ स्टेशनको पनि समस्या हल हुन्छ’ उनले भने, ‘विद्युतीय बस चलाउन राम्रो हो ।’


हाइब्रिड (इन्धन र विजुली दुवैबाट चल्ने ) बस चलाउँदा झनै राम्रो हुने भन्दै उनले त्यसबारे पनि छलफल भइरहेको जानकारी दिए । ‘हाइब्रिड अलि खर्चिलो होला तर विद्युतीय बसको चार्जिङ सिधिएमा गाह्रो हुन्छ, त्यसैले हाइव्रिड विद्युत सिधिए पनि इन्धनका आधारमा सञ्चालन हुन्छ’ उनले भने, ‘हाइव्रिड बसबारे पनि छलफल भइरहेको छ, विस्तारै ती पनि आउँछन ।’ विद्युतीय सवारी साधन ल्याउनेलाई भन्सार सहुलियत समेत उपलब्ध गराइने उनले बताए ।

प्रकाशित : श्रावण १, २०७६ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?