कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सीमा विवादले २ गाउँपालिकाबीच द्वन्द्व

भीमबहादुर सिंह

जाजरकोट — जिल्लाको शिवालय र सुर्खेतको सिम्ता गाउँपालिकाबीच सीमा विवाद भएको छ । दुवै गाउँपालिकाले सिमानामा रहेको छेडाचौरलाई आआफ्नो दाबी गरेपछि द्वन्द्व चर्केको हो । 

सीमा विवादले २ गाउँपालिकाबीच द्वन्द्व

शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीको समूहले असार २७ गते सिम्ताले छेडाचौर बजारमा राखेको स्वागत बोर्ड फालिदिएको थियो । सिम्ताका अध्यक्ष कवीन्द्रकुमार केसीले २६ गते उक्त बोर्ड राखेका थिए । अध्यक्ष शाहीको टोलीले सिम्ताको बोर्ड हटाई शिवालयको राखेलगत्तै सिम्ताको टोली पुनः छेडाचौर आई हटाइदिएको थियो । छेडाचौर शिवालयको वडा नं १ र सिम्ताको वडा नं १ बीचमा पर्छ ।


दुई पक्षबीच विवाद बढेपछि सीमाक्षेत्रमा राखिएका बोर्ड फालाफाल गरिएको स्थानीय खडग बीसीले बताए । नक्सा र भोगचलनको हिसाबले छेडाबजार शिवालयको सिमानामा पर्ने उनको भनाइ छ ।


सर्वोच्च अदालतले छेडाचौर बजार जाजरकोटको शिवालय गाउँपालिकाको क्षेत्रमा पर्ने भनी फैसला गरिसकेकाले विवाद गर्नु जरुरी नभएको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले बताए । सर्वोच्चले छेडाचौर पश्चिम खोलादेखि सुर्खेत भूभाग र पूर्व छेडाचौर बजार जाजरकोटमा पर्ने भनी अन्तिम फैसला गरिसकेको उनको भनाइ छ । पहिले नै समाधान भएको विषय स्थानीय सरकार गठन पछि पुनः बल्झिएको उनले जनाए । ‘छेडाचौर बजारको जग्गा सिम्ता गाउँपालिकाका स्थानीयका नाममा दर्ता भयो भन्दैमा सिमाना सुर्खेतमा पर्दैन,’ उनले भने, ‘छेडाबजार नापी नक्सामा जाजरकोटको सीमा क्षेत्रमा पर्ने प्रस्ट देखिन्छ ।’


तर छेडाचौर बजार सिम्ता गाउँपालिका क्षेत्रमा पर्ने प्रशासकीय अधिकृत जनक हमालले जनाए । छेडाबजारमा रहेका जग्गाको लालपुर्जा सुर्खेत मालपोत कार्यालयबाट जारी भएकाले पनि सिम्ता गाउँपालिकाको सीमाभित्र पर्ने पुष्टि भएको उनको भनाइ छ । सिमाना विवाद सम्बन्धमा दुवै पक्षबीच बैठक बसेर छलफलबाट समाधान खोजिने उनले जानकारी दिए । ‘हचुवामा बोर्ड फालेर विवाद गर्नुपर्ने कारण नै छैन,’ उनले भने, ‘विवादको सुरुवात शिवालयले गरेको हो, दुवै पक्ष मिलेर अघि बढ्नुपर्ने अवस्था छ ।’ उनले २/४ मिटर जमिनका लागि द्वन्द्व गर्न नहुने तर्क गरे ।


छेडाचौर बजारमा एकले अर्काको बोर्ड हटाउन थालेपछि दुई पक्षबीच झडपको स्थिति सिर्जना भएको थियो । सिम्ता र शिवालयबीच पटकपटक मुहान, जंगल, सिमानालगायत विषयमा विवाद हुने गरेको छ ।

प्रकाशित : श्रावण १, २०७६ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?