१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

क्याम्पस प्रमुखले अनियमितता गरेको भन्दै प्राध्यापक आन्दोलित

काठमाडौँ — क्याम्पस प्रमुखले अनियमितता गरेको आरोप लगाउँदै भक्तपुरस्थित सानोठिमी बहुमुखी क्याम्पसका प्राध्यापक आन्दोलित भएका छन् । चरणबद्ध आन्दोलनको घोषणा गरेका प्राध्यापकले क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको राजीनामा माग गरेका छन् । 

क्याम्पस प्रमुखले अनियमितता गरेको भन्दै प्राध्यापक आन्दोलित

पूर्वएमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन र पूर्वमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले बुधबारदेखि क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा रोक लगाउने जनाएका छन् । आन्दोलनकै चरणमा मंगलबार क्याम्पसमा रहेका अधिकांश विभाग प्रमुखले राजीनामा दिएका थिए । ‘१५ दिनदेखि विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका थियौं,’ प्रगतिशील संगठनका अध्यक्ष सोमनाथ ढकालले भने, ‘अनियमितता रोक्न क्याम्पस प्रमुखको राजीनामा मागेका हौं ।’


क्याम्पस प्रमुख घिमिरे यसअघि पनि क्याम्पसको जग्गा व्यक्तिगत लाभका लागि सस्तो मूल्यमा भाडामा दिएको आरोपमा विवादित बनेका थिए । पूर्वक्याम्पस प्रमुखको पालामा जम्मा भएको ७ करोड रकम घिमिरेले जथाभावी खर्च गरेर क्याम्पसलाई टाट पल्टाउन लागेको प्राध्यापकको आरोप छ ।


‘अनियमितता रोक्न खोज्ने प्राध्यापकहरूको उल्टो मानमर्यादामा असर पुग्ने काम क्याम्पस चिफबाट हुन थाल्यो,’ राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष अम्बरजङ लिम्बूले भने, ‘त्यसैले राजीनामा मागेका हौं ।’ विश्वविद्यालय अनुदान आयोगले भवन निर्माण गर्न उपलब्ध गराएको २ करोड रकम अपारदर्शी रूपमा खर्च गरेको प्राध्यापकहरूको आरोप छ ।


शिक्षक, कर्मचारी नियुक्तिमा समेत विश्वविद्यालयका केही पदाधिकारीसँग मिलेर क्याम्पस प्रमुख घिमिरेले पदीय दुरुपयोग उनीहरूले प्रेस विज्ञप्तिमा जनाएका छन् । ‘कसैको पहुँच नै नभएको पत्रिकामा विज्ञापन छपाएर गुपचुप तरिकाले करारका आफू निकट कर्मचारी भर्ती गरिएको र त्यसको नतिजा एक हप्तापछि क्याम्पसको सूचना पाटीमा टाँस गरिएको छ,’ लिम्बुले भने ।


घिमिरेले क्याम्पसको पैसाबाट मोबाइल फोन खरिद र इन्धनसमेत दुरुपयोग गरेको उनीहरूको आरोप छ । उनले १ लाख ५ हजार मूल्य पर्ने मोबाइल खरिद गरेका हुन् । विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षाको रकम समेत दुरुपयोग गरेर व्यक्तिगत फाइदा लिएको प्राध्यापकहरूले गुनासो गरे । क्याम्पस प्रमुख भने प्राध्यापक संगठनहरू क्याम्पसमा हाबी हुन नपाएर झूटो आरोप लगाएको तर्क गर्छन् ।


‘झूटा र आधारहीन आरोप लगाएर मलाई कमजोर बनाउन खोजिएको छ,’ क्याम्पस प्रमुख घिमिरेले भने, ‘संगठनहरूले जबरजस्ती विभागीय प्रमुखको राजीनामा गर्न लगाएका हुन्, मैले क्याम्पसको अहित हुने काम गरेको छैन ।’ क्याम्पसलाई टाट पल्टाएको आरोप झूटो भएको उनले दाबी गरे । ‘क्याम्पसको खातामा अहिले ८ करोड रुपैयाँ छ, क्याम्पसमा जडान गरिएको सिसी क्यामेरा अवलोकन गर्न स्तरीय मोबाइल किनेको हो,’ उनले भने, ‘मेरो कार्यकाल ११ महिनामात्र बाँकी छ, त्यसपछि मोबाइल मैले घर लैजाने होइन, क्याम्पसकै हुने हो ।’


केही प्राध्यापक र विभागीय प्रमुखसहित कर्मचारीहरू क्याम्पस प्रमुखको पक्षमा र केही विपक्षमा लाग्दा पठनपाठन र अन्य गतिविधि प्रभावित हुन थालेको छ ।

प्रकाशित : श्रावण १, २०७६ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?