१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आकाशबाटै निरीक्षण

६ दिनपछि प्रभावित क्षेत्र भ्रमणमा खाली हात निस्किएका मन्त्री र नेताहरुले बाढीपीडितलाई भेटेनन् 
अजित तिवारी, शिव पुरी

जनकपुर र रौतहट — बाढी र डुबानले उठीबास लगाएको ६ दिनपछि निरीक्षणमा आएका मन्त्री र सांसदले आकाशबाट चक्कर लगाएका छन् । उनीहरू सरकारी अधिकारीसित मात्र ‘ब्रिफिङ’ सुनेर संघीय राजधानी फर्केका छन् । 

आकाशबाटै निरीक्षण

काठमाडौंबाट बुधबार सेनाको हेलिकप्टरमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ रौतहट आएका थिए ।


मन्त्रीहरूसँगै हेलिकप्टरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राजपा अध्यक्षमण्डलका अध्यक्ष अनिल झा र नेकपाका नेता प्रभु साहले बाढीग्रस्त क्षेत्रको हवाई भ्रमण गरे । उनीहरू खाली हात थिए । उनीहरूले पीडितलाई पनि भेटेनन् । गृहमन्त्री थापाले उद्धार, राहत र पुनःस्थापनाको काम निरीक्षण गर्न आएको बताए । उनले बाढी र डुबानबाट हुने क्षति रोक्न पूर्वतयारीमा कमी भएको स्वीकार गरे ।


मन्त्री–नेताहरू आउने थाहा पाएपछि पीडितहरू राहतको आस गर्दै गौरस्थित सेनाको पुरेनवा गण नजिकै पुगेका थिए । गणमा हेलिकप्टरबाट उत्रिएलगत्तै मन्त्री र नेताहरूले सामूहिक तस्बिर खिचाए । गणको माथिल्लो तल्लामा बसेर बाढी–डुबानबारे ब्रिफिङ सुने । रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले टोलीलाई बाढी र डुबानबारे ब्रिफिङ गरे ।


उनले स्वास्थ्यमन्त्री यादवलाई बाढी प्रभावित क्षेत्रमा चिकित्सक अभाव भएको भन्दै ध्यानाकर्षण पनि गराए । भौतिक पूर्वाधारमन्त्री महासेठले बाढीबाट सडकमा पुगेको क्षतिबारे विवरण मागे । ऊर्जामन्त्री पुनले विद्युत्मा भएको नोक्सानीबारे बुझ्न खोजे । पूर्वप्रधानमन्त्री नेपालले गौर नजिकको पुल निर्माण नसकिँदै चर्किएको भनेर डिभिजन सडकको ध्यानाकर्षण गराए । नेता नेपालको घर पनि डुबान परेको थियो ।


उनी गणबाट १ किमिको दूरीमा रहेको आफ्नो घर पनि गएनन् । रौतहट नै गृहजिल्ला रहेका राजपा नेता झा पनि गणमै बसिरहे । डुबानमा परेको इशनाथ नगरपालिकाको बन्जाराहा गाउँ जाने योजना बने पनि सुरक्षा निकायले डुंगाबाट जानुपर्ने र जोखिम हुने भनेपछि उनीहरू गएनन् ।


रौतहटबाट आकाशबाटै सर्लाहीको डुबान क्षेत्र हेर्दै टोली सप्तरी पुगेको थियो । राजविराजस्थित सेनाको भीमदल गणमा हेलिकप्टरबाट उत्रिएर उनीहरू गाडीमा तिलाठी पुगे । तिलाठी स्वास्थ्यमन्त्री यादवको निर्वाचन क्षेत्रमा पर्छ । त्यसपछि उनीहरू हेलिकप्टरमा सिरहा हुँदै जनकपुर विमानस्थलमा उत्रिएका थिए ।


जनकपुर विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रमुख सचिव दीपक सुवेदी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप कँडेलले बाढी–डुबानबाट भएको क्षति, उद्धार, राहत र पुनःस्थापनाबारे बिफ्रिङ गरेपछि उनीहरू हेलिकप्टरबाटै काठमाडौं फर्किएका थिए । मन्त्री–नेताहरूको बाढीग्रस्त क्षेत्रमा लर्को रहे पनि पीडितहरू भने राहत र पुनःस्थापना कुरिरहेका छन् । सोमबारदेखि ठूलो पानी पर्न रोकिएकाले डुबान र बाढीग्रस्त क्षेत्रका बासिन्दा आफैं तग्रिन थाले पनि खाना र बसाइको समस्या हटेको छैन ।


बाढी र डुबानले प्रदेश २ मा ३४ जनाको मृत्यु भएको छ । १३ हजार ४४ परिवार विस्थापित भएका छन् । ६ लाख ७९ हजार ६ सय १५ जना बाढी र डुबानले प्रभावित बने । ३ हजार ५ सय ७४ घर क्षतिग्रस्त छन् । १ लाख १८ हजार १ सय ४ घर डुबानमा परेका थिए । बाढी–डुबानले यतिधेरै जनधन क्षति गर्दा पनि मन्त्री–नेताहरूले आकाशबाट निरीक्षणको भन्दै पीडित रुष्ट बनेका छन् ।


मन्त्रीहरू आउने खबर सुनेपछि दुर्गाभगवतीको विद्यालयमा रहेका बाढीपीडितहरू बिहानै सरसफाइ गरेर बसेका थिए । ‘मन्त्रीहरू आकाशमै चक्कर लगाएर फर्किए । दुःख लाग्यो,’ कैलाश देवीले भनिन् । संघीय मन्त्री मातृका यादव सोमबार कमला नदीबाट प्रभावित क्षेत्र निरीक्षण गरेर फर्किएका छन् । राजपाका अर्का नेता राजेन्द्र महतो धनुषाको आफ्नो निर्वाचन क्षेत्र ३ मा पुगे ।

देउवाले पनि पीडित भेटेनन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नै रौतहट आएका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधि मंगलबारै बाढी प्रभावित क्षेत्रमा पुगेका थिए । देउवाले बिहीबार महोत्तरी र धनुषाको बाढी प्रभावित क्षेत्र निरीक्षण गर्ने तयारी छ ।


सभापति देउवा हवाई जहाजबाट सिमरा हुँदै प्रभावित क्षेत्र पुगेका थिए । उनले वाग्मतीले कटान गरेको क्षेत्र निरीक्षण गरे । गढीमाईको लक्ष्मीपुरका केहीलाई बाटोमै भेटेर उनी दुर्गा भगवती गाउँपालिका पुगेका थिए । त्यहाँ उनले पालिकाका अध्यक्ष अरुण साहको घरमा खाना खाए ।


तर सय मिटर नजिकै बसेका विस्थापित भेटेनन् जहाँ बाढी र डुबानका कारण करिब २ सय परिवार कष्टसँग बसिरहेका छन् । उनी बडहर्वामा उनी बाँध हेरेर फर्किए । बाँधमा दुई सय घरपरिवार त्रिपाल टाँगेर बसेका छन् । त्यहाँ उनले पीडितसँग थोरै कुरा गरे । ‘भारतीय बाँधका बारेमा सरकारले गम्भीर चासो लिनुपर्छ,’ उनले भने, ‘बाँधकै कारण यत्रो क्षति भएको छ । यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’ ‘सभापति देउवा राहत नलिई आउनुभएकाले पीडितलाई भेटदा समस्या हुन सक्छ भनेर कटान क्षेत्र मात्र निरीक्षण गर्नुभयो,’ कांग्रेसका एक जिल्ला नेताले भने । देउवाले बाढी प्रभावित क्षेत्रमा भ्रमण गर्ने क्रममा भारतीय नम्बर प्लेटका दर्जनौं गाडीले पछ्याएका थिए ।


'नेपाली बाँधले नै डुबान’

गृहमन्त्री रामबहादुर थापाले नेपाली बाँधलाई व्यवस्थित गर्न ध्यान दिने बताएका छन् । ‘भारतले सीमामा बाँधरूपी बाटो बनाएका कारण नेपाली भूभाग डुबानमा परेको भन्ने कुरा आएपछि हामीले भारतसँग कूटनीतिक रुपमा निकास दिन कुराकानी गर्‍यौं,’ जनकपुर विमानस्थलमा गृहमन्त्री थापाले भने, ‘हाम्रोतिर ठीक ढंगले तटबन्ध गर्न सके समस्या समाधान हुन सक्छ भन्ने पनि कुरा आएको छ ।’


राजपाका नेता अनिल झाले पनि भारतीयभन्दा नेपाली तटबन्धले नै बाढी र डुबानको समस्या बढाएको बताए । उनले २५ वर्षदेखि मर्मतसम्भार नगरिएका बाँधकै कारण मधेस डुबानमा परेको दाबी गरे । गृहमन्त्री थापाले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि सरकारले छिट्टै प्राधिकरण गठन गर्न लागेको जानकारी दिए । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाढीको स्थायी समाधान चुरे संरक्षण नै रहेको बताए ।

प्रकाशित : श्रावण २, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?