कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

डुबेर राहत पर्खाइ

भरत जर्घामगर

सिरहा — तीन दिन बित्दा पनि जिल्लाका बाढीपीडितले राहत पाउन सकेका छैनन् । पानी नघटदा उनीहरू डुबान क्षेत्रमै रात काट्न बाध्य छन् । 

डुबेर राहत पर्खाइ

सिरहा १२ हटिया टोल, पछवारीका ६२ वर्षीय इन्दल लहेरीले सुरक्षित स्थानमा जान नसक्दा डुबान भएकै ठाउँमा बसेको सुनाए । ‘सेना, प्रहरी र वडाध्यक्ष शत्रुघन साहले ल्याइदिएको चाउचाउ, चिउरा, मुरही र पानी पीएर बसेको छु,’ उनले भने । लहेरीको घर कमला खोलाको बाढीले बगाएको हो ।


हाटबजारमा कपडा बेचेर गुजारा गर्दै आएका उनको सम्पत्तिका नाममा त्यही घर र घडेरी मात्र थियो । ‘दुखियालाई भगवान्ले पनि बाढी पठाएर, दुःख दिएर अन्याय गर्‍यो,’ उनले भने, ‘हाम्रो पीडा बुझ्न सांसददेखि कोही नेता आएनन् ।’


पछवारीका भोला कवाडी, मोहम्मद आलम मियाँलगायत २६ जनाको घर पूर्ण क्षतिग्रस्त छ । पानीले घेरिएर बसेका उनीहरू सुरक्षाकर्मीले बेलाबेला डुंगाबाट पुर्‍याइदिने चिउरा र चाउचाउ खाएर खुला आकाशमुनि बसिरहेका छन् । राहतका नाममा त्रिपालसम्म पाएका छैनन् ।


सिँचाइका लागि कमला नदी नियन्त्रण योजना कार्यालय जनकपुरले निर्माण गरेका ३ वटा कल्भर्टमा ‘एन्टी लड सुलुस गेट’ अधुरै छोडदा बाढी गाउँ पसेको थियो । सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरीयालगायत दर्जनौं गाउँ डुबानमा छन् ।


सबैभन्दा बढी क्षति सिरहा नगरपालिकाका १२, ६, १७, ३, १३ वडा र कल्याणपुर नगरपालिकाको १२ वडामा पुगेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सिरहाका ५ हजार २० घर पूर्ण रूपमा क्षतिग्रस्त छन् । ९ हजार ६२ घरमा आंशिक क्षति छ । २ हजार ६ सय ३१ परिवार विस्थापित भएका छन् ।


पीडितका लागि जिल्ला प्रशासनसँग तीन हजार त्रिपाल, नेपाल रेडक्रस सोसाइटीसँग १५ सय कम्बल र ४ सय परिवारका लागि पूर्ण राहत प्याकेज भए पनि गोदाममै थन्किएको छ । हरेक स्थानीय तहमा विपद व्यवस्थापनका लागि रकम विनियोजन गरिएको भए पनि तत्काल राहत उपलब्ध हुन सकेको छैन ।


स्थानीय तहले तत्काललाई चिउरा, चाउचाउ र पानी मात्र बाँडिरहेका छन् । ‘स्थानीय सरकारले विपदका बेला प्रभावकारी काम गर्न सकेन,’ नागरिक समाज सिरहाका अगुवा राजकुमार राउत कुर्मीले भने, ‘विपदमा उद्धार र राहतका लागि उसको भूमिका कमजोर छ ।’


रेडक्रस सोसाइटी सिरहाका कार्यक्रम संयोजक अशोक यादवले बाढीपीडित र विस्थापितको पहिचानमा ढिलाइ भएका कारण राहत सामग्री वितरण गर्न नसकिएको बताए । प्रजिअ गोपाल कुमार अधिकारीले बाढीपीडितको तथ्यांक संकलन भइरहेको जनाए ।


सिरहा ३ का सांसद लीलानाथ श्रेष्ठले वर्षायाम अझै बाँकी रहेको भन्दै बाँध फेरि फुट्न सक्ने भएकाले त्यसलाई रोक्न र दीर्घकालीन बाँध बनाउन मन्त्रालयमा बजेट व्यवस्थाका लागि पहल गरिरहेको बताए । दुई दिनपछि बाढीपीडित क्षेत्रमा पुग्ने पनि उनले जनाए ।


सिरहा ४ का सांसद राजकिशोर यादवले राज्यव्यवस्था समिति बैठकमा बाढीपीडितको स्थलगत अवलोकनका लागि सांसद टोली परिचालनको तयारी भइरहेको जानकारी दिए । समिति सदस्यसमेत रहेका उनले धनुषादेखि पूर्वको अवलोकनपछि टोलीले बिहीबारबाट राहत अवस्था, पुनःस्थापना, तत्काल र दीर्घकालीन रूपमा हल गर्न सकिने समस्याबारे सरकारलाई सुझाव दिने बताए ।


छाक टार्नै मुस्किल

उदयपुर– बाढीले लखेटिएर उदयपुर आइपुगेका सप्तरीका ४८ परिवार घर फर्किएका छन् । उनीहरूले बेलका नगरपालिका–१ भालमन्तीस्थित बुलबुले भमरा सामुदायिक वनको भवनमा आश्रय लिएका थिए । आश्रयस्थलमा खाना, बास र औषधोपचार व्यवस्था नभएपछि बुधबार उनीहरू घरै फर्किएका हुन् ।


सप्तरीको सप्तकोसी नगरपालिका–२ सिद्धिपुरका उनीहरूको खाद्यान्न, कपडा, भाँडाकुँडा सबै बगेको छ । वर्षा रोकिएपछि घर फर्किए पनि खान–बस्न समस्या भएको ५४ वर्षीया फुलोदेवी रामले बताइन् । ‘घर त फर्कियौं तर घरबाहेक केही छैन,’ उनले भनिन्, ‘हिजो ३/४ जना केटाहरूले राहत भन्दै ३ केजी चामल र आधा केजी दाल दिएर गए । हिजो र आज त्यसैले छाक टारियो, भोलि के गर्ने हो, थाहा छैन ।’


फत्तेपुर बजारका युवाले प्रतिपरिवार तीन किलोका दरले चामल बाँडेका थिए । पीडित ३० परिवारमा ५० बालबालिकासहित २ सय ३१ जना छन् । उनीहरूलाई सुरुमा नगरपालिकाले दाल, चामल, नुन, तेल र ४ थान झुल दिएको थियो ।


‘सुरुमा सप्तकोसी नगरपालिकाले वडा सदस्य मोहमद जाहिर हुसैनमार्फत दाल, चामल, चिउरा, भुजा उपलब्ध गराएको थियो,’ अर्का पीडित मोहम्मद उसमान मियाँले भने, ‘त्यसपछि न नगरपालिका आयो, न अन्य सरकारी निकायले हेर्‍यो ।’


३ दिनदेखि च्युरा र भुजाको भरमा गुजारा गरिरहेका पीडितलाई युवकहरूले उपलब्ध गराएको चामलले केही राहत मिले पनि ठूलो परिवार हुनेलाई एकछाक पनि टरेन । ‘सानो परिवारले दुई छाक खाए,’ उसमानले भने, ‘अब बेलुका के खाने, कहाँ सुत्ने, के ओछ्याउने भन्ने समस्या छ ।’


पीडितको उपचारका लागि भन्दै बुधबार चिकित्सकसहितको टोली गाउँ गएको थियो । चिकित्सकले जाँच गरेर औषधि दिएर गएको पीडितले बताए । बस्तीमा आधा दर्जनभन्दा बढी गर्भवती र ५० जना बालबालिका छन् । अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने र ज्वरो आउने समस्या छ । शुद्ध खानेपानी अभावमा धेरैलाई रुघाखोकी र पखालाले सताएको स्थानीयको भनाइ छ ।

सुकुम्बासी बस्तीका बाढीपीडितबारे सप्तकोसी नगरपालिकाका जनप्रतिनिधिले अहिलेसम्म चासो नदेखाएको सञ्चारकर्मी दिनेश शर्माले बताए । ‘राहत र उद्धारमा जुट्नुपर्ने नगरपालिका आफैं नगरसभाको चटारोमा परेको छ,’ उनले भने, ‘त्यसैले पीडित ओझेल परेका हुन् ।’


नगरसभाकै कारण पीडितलाई ध्यान दिन नसकिएको नगर प्रमुख उत्तम गौतमले बताउँदै आएका छन् । सुरुमा बाढीपीडितका लागि चामल, चिउरा र त्रिपाल व्यवस्था गरिएको उनले बताए । त्रियुगा नदी बीच भागबाट बगेका कारण सामान्य अवस्थामा समेत विस्थापितको गाउँ पुग्न उदयपुरको बाटो भएर जानुपर्ने अवस्था छ ।

प्रकाशित : श्रावण २, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?