कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

चिकित्सकको सुझाव–‘सर्पदंशबाट बच्न झुलभित्र सुतौं’

अतुल मिश्र

काठमाडौँ — डुबानमा परेका मधेसका जिल्लाहरूमा सर्पदंशको घटनामा बृद्घि भएपछि विज्ञहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा सर्पदंशबाट बच्न झुल टाँगेर सुत्ने, खुल्ला ठाउँ–भूइँमा नसुत्ने, अँध्यारोमा हिडदा टर्चको उपयोग गर्ने, बाहिर निस्कँदा लामो बाहुला भएको लुगा लगाउनुका साथै बाक्लो र अग्लो बुट जुत्ता प्रयोग गर्ने सल्लाह विज्ञहरूको छ ।


‘तराईका बाढी र डुबान प्रभावित जिल्लाहरूमा अहिले सर्पदंशको घटनामा बृद्घि भएपछि जनस्तरमा थप सतर्कता आवश्यक भएको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको जुनोटिक तथा अन्य सरुवा रोगनियन्त्रण शाखाका प्रमुख डा.समीरकुमार अधिकारी भने, ‘वर्षायाममा डुबान नै भएन भने पनि वर्षेनी सर्पदंशका घटना बढेकै हुन्छन् । बाढी र डुबान भएका ठाउमा थप सतर्कता आवश्यक छ ।’ लुक्ने ठाउँ जलमग्न हुँदा सर्प बस्तीमा आउने जोखिम रहने उनले बताए ।


तराईका जिल्लाहरूमा बाढी र डुबानपछि सर्पदंशको घटना बढेको रिपोर्ट आएको जनाउदै स्वास्थ्य मन्त्रालयको इमर्जेन्सी अपरेसन सेन्टरका प्रमुख चूडामणि भण्डारी भन्छन्, ‘प्रभावित सबै ठाउँमा सर्पदंशको घटना बढे पनि सप्तरी, महोत्तरी र रौतहटमा अलि बढी देखिएको रिपोर्ट छ ।’


सर्पदंशका घाइतेको उपचारका लागि ‘एन्टी स्नेक भेनम’ सबै जिल्लामा पठाइएपनि डुबान प्रभावित क्षेत्रका लागि अपुग रहेको विज्ञहरूले औंल्याएका छन् । थप १ हजार १ सय भाइल एन्टी स्नेक भेनम प्रभावित क्षेत्रमा पठाइएको छ । त्यति परिमाणको खोप सर्पदंशको चपेटामा परेका १ सय १० जनालाई मात्रै पुग्छ ।


सबभन्दा बढी गोमन र करेत सर्पले डस्ने घटना हुने गरेका छन् । धेरैजसो राति हिँड्ने करेतको टोकाइ सजिलै थाहा नहुने भएकाले उपचारमा ढिलाइ हुँदा घाइतेको ज्यान जानसक्छ । डा.अधिकारी भन्छन् ‘झुलमा सुत्दा समेत सर्पको टोकाइबाट केही हदसम्म बच्न सकिन्छ ।’


विषालु सर्पले टोके पनि करिव आधाजसो टोकाइ सुख्खा टोकाइ अर्थात विषरहित टोकाइ हुने भएकाले आत्तिनु पर्दैन । ‘सर्पको विषभन्दा पनि आत्तिनाले हर्ट एटैक भएर मृत्यु भएका घटना धेरै छन्,’ धेरैजसो सर्प विषालु नहुने औंल्याउँदै डा.अधिकारी टोकाइमा परे पनि नआत्तिन सल्लाह दिन्छन् ।


जस्तोसुकै सर्पले टोके पनि छिटो अस्पताल पुर्‍याए सजिलै निको पार्न सकिन्छ । मुलुकमा सर्पदंश प्रभावितहरूको ८२ वटा उपचार केन्द्रमार्फत एन्टी स्नेक भेनमको माध्यमले निःशुल्क उपचार भइरहेको छ । विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार नेपालमा वर्षेनी करिब २० हजार जनालाई सर्पले टोक्ने गरेको छ ।


उपचार गर्ने निकायमा पुगेकाहरूबाट संकलित सरकारी तथ्यांकअनुसार गत वर्ष मुलुकमा ५ हजार ६ सय ६ जनालाई सर्पले टोकेकोमा २० जनाको मृत्यु भएको थियो । सर्पदंशका घटनामा परेकामध्ये ७ सय ९४ लाइ विषालु सर्पले

टोकेको थियो ।


संगठनका अनुसार विश्वमा बर्सेनि सर्पदंशका ५४ लाख घाइतेमध्ये २७ लाखलाई विषालुले सर्पले टोक्ने गरेको छ । संसारभर सर्प टोकाइले बर्सेनि ८१ हजारदेखि १ लाख ३८ हजार जना सम्मको मृत्यु हुने गरेको तथ्यांक छ ।

प्रकाशित : श्रावण २, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?