कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

२० हजार इन्जिनियरको सामूहिक बीमा गरिँदै 

रासस

काठमाडौँ — २० हजार इन्जिनियरको एकै पटक सामूहिक दुर्घटना बीमा हुने भएको छ । जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले नेपाल इन्जिनियर्स एसोसिएसनबाट आयोजना हुने ५७ औँ  इन्जिनियर दिवसका अवसरमा प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले दुर्घटना बीमा गर्न लागिएको हो । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष प्राडा त्रिरत्न बज्राचार्यले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा इन्जिनियरको सामूहिक दुर्घटना बीमा गर्न लागिएको जानकारी दिए । बिमांक बापतको पहिलो किस्ता रकम भने एसोसिएसन आफैँले उपलब्ध गराउने भएको छ । त्यसमा ५० लाख रुपैयाँ उपलब्ध गराएर बिमा सुरु गरिनेछ ।

पहिलो चरणमा सुरु गरिएको बिमालाई विस्तार गर्दै लैजाने सोचमा रहेको जानकारी दिँदै अध्यक्ष बज्राचार्यले भने,'जुन स्थानमा हाम्रा इन्जिनियरले काम गर्नुहुन्छ, सोही स्थानमा नै एक प्रकारको समझदारी गरी बीमा रकम उपलब्ध गराउन प्रयास गरिनेछ ।' प्रगतिशील गठबन्धन बनाएर निर्वाचनमा गएको वर्तमान कार्यसमितिले निर्वाचनका समयमा गरिएको प्रतिबद्धता पूरा गर्न लागेको अध्यक्ष बज्राचार्यको भनाइ थियो ।

एसोसिएसनका महासचिव छविराज पोखरेलका अनुसार इन्जिनियरलाई थप व्यावसायिक एवं दक्ष बनाउने र जीवन सुरक्षाका लागि समेत बिमा कार्यक्रम अगाडि बढाउन लागिएको हो । 'सकेसम्म कुनै पनि इन्जिनियर दुर्घटनामा नपरून् भन्ने नै हाम्रो कामना छ । काम गर्दै जाँदा दुर्घटना नै परिहालेको अवस्थामा पनि उपचारका लागि सहज होस् भन्ने लक्ष्य राखिएको छ', महासचिव पोखरेलले भने ।

नेपाल इन्जिनियरिङ परिषद्का अनुसार हाल देशभर ५० हजार इन्जिनियर छन् भने एसोसिएसनमा आबद्ध भएका इन्जिनियरको संख्या २७ हजार छ । एसोसिएसनमा आबद्ध नभएका इन्जिनियरलाई पनि संगठित गर्ने प्रयासमा लागिएको महासचिव पोखरेलको भनाइ थियो ।

यस्तै एसोसिएसनले इन्जिनियरलाई थप दक्ष र पेशाप्रति इमान्दार बनाउने लक्ष्यका साथ परीक्षा लिएर प्रमाणपत्र लिने व्यवस्था गर्न लागेको छ । इन्जिनियरिङ सेवा ऐनको तयारीमा समेत लागिएको जनाइएको छ ।


सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सम्पूर्ण इन्जिनियरका तर्फबाटपनि साथ र सहयोग रहने जनाउँदै एसोसिएसनले गुणस्तरीय भौतिक निर्माणका लागिसमेत आफूहरु परिचालन भइरहेको बताएको छ । हरेक वर्ष साउन ३ गते ‘ इन्जिनियर दिवस’ मनाउने निर्णय गरेको एसोसिएसनले यस वर्ष इन्जिनियर दिवसको नारा ‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरिङ सेवा’ तय गरेको छ ।

दिवसका अवसरमा ऊर्जा, सिँचाइ तथा खानेपानी, यातायात पूर्वाधार, संघीयता कार्यान्वयन, सुशासन र सूचना प्रविधिका क्षेत्रमा तीन प्राविधिक सत्रको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा इन्जिनियरिङ क्षेत्रमा लामो समयदेखि योगदान गर्ने इन्जिनियरलाई समेत सम्मान गरिने भएको छ ।

प्रकाशित : श्रावण २, २०७६ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?