मुक्त कमैयाको जमिनमा अरूकै घर

मधु शाही

बाँके — रामचन्द्र थारूलाई मुक्त कमैयाका रूपमा सरकारले कोहलपुर नगरपालिका–११, लोकनगरमा जग्गा उपलब्ध गराएको थियो । अहिले त्यही जमिन अरूले हडप्न लागेपछि चिन्तित छन् ।

जग्गा पाएको केही वर्षसम्म उनी छाप्रो बनाएर आमाबुबासित त्यहीँ बसे । ‘आमा बिरामी भएपछि पुर्ख्यौली बस्तीमा लैजान भन्नुभयो,’ उनले भने, ‘म पनि उतै ज्याला–मजदुरी गरेर बसें । यता मेरो जग्गामा अरूले घर बनाएछन् ।’


सरकारले जग्गाको लालपुर्जा हातमै थमाउँदा छेदा थारू खुसी थिए । लोकनगरमा बसोबास तयारी गरिरहेका थिए । उक्त जग्गामा बसोबास गर्दै आएका व्यक्तिले १२ हजार रुपैयाँ दिएपछि मात्र बस्न पाइन्छ भनेर सुनाए । ‘त्यत्रो पैसा कहाँबाट ल्याउनू ?’ उनले भने, ‘डरले लालपुर्जा बाकसमा राखें । घर बनाउन आइनँ ।’ उनको जग्गामा पनि अहिले अरू नै घर बनाएर बसोबास गरिरहेका छन् । मुक्त कमैया अधिकारकर्मी हरिराम हरिजनका अनुसार यसरी भूमिहीन मुक्त कमैयाको जग्गामा आँखा लगाउने थुप्रै छन् ।


स्थानीय तुलसा थारूले आफ्नो जमिनमा अरूले घर बनाएको भन्दै खाली गराउन माग राखी वडा कार्यालयमा निवेदन दिएकी छन् । सरकारले मुक्त कमैयालाई एक लाख रुपैयाँ दिन्छ । उक्त रकम प्राप्तिका लागि सहयोग गर्छु भन्दै खेम भगौडियाले उनको जमिन भोगचलन गर्न अनुमति मागेका थिए । तर भगौडियाले पछि आएर जग्गा छोड्न मानेनन् । ‘मैले सोचें, एक–दुई महिनामा गइहाल्छ,’ उनले भने, ‘हेर्दाहेर्दै पक्की घर पो बनाउन लाग्यो ।’


थारूका अगुवा (बडघर) चिङका थारूको छेउमै छेदाको जग्गा छ । त्यहाँ पनि अरूले नै घर बनाएर बसेका छन् । छेदाले चिङ्काको मिलेमतोमा जमिन अरूलाई दिइएको आरोप लगाए । घर बनाउँदा भएको खर्च दिएपछि मात्रै जमिन छोड्छौं भनेको उनले बताए । ‘घर बनाएको खर्च मैले कसरी तिर्न सक्छु,’ उनले भने । पीडितका अनुसार चिङ्कासमेत भगुरु, मनोज, श्रीराम थारू र भगौडियालगायत केही व्यक्तिले जमिन कब्जा गराएका हुन् । चिङ्कालाई भेट्न तीनपटकसम्म उनको घर पुग्दा पनि सम्पर्क हुन सकेन ।


मालपोत कार्यालयको तथ्यांकअनुसार यहाँका ८ सय ३७ मुक्त कमैयालाई जग्गा वितरण गरिएको थियो । वडा कार्यालयले अनुगमन गर्दा अहिले घर बनाएर बसोबास गरिरहेका ६ सय ९ परिवार मात्र छन् । तीमध्ये मुक्त कमैया बस्तीमा जग्गा हडपेर बसोबास गरिरहेका १ सय ५८ जना छन् । वडा कार्यालयमा दर्ता नभएका ७० घरधुरी छन् ।


लोकनगरमा रहेका अधिकांश मुक्त कमैयाका घर खाली छन् । खाली जमिन र घरमा जग्गा दलालले मनपरी गर्दै आएको ६३ वर्षीय सोहनलाल थारूले बताए । उनको घरअगाडिको जग्गा खाली थियो । उक्त जग्गा पाएका मुक्त कमैया परिवार नआएपछि केही वर्ष उनले तरकारी खेती गरेका थिए । अचानक उक्त जमिनमा अपरिचितले घर बनाएर बसे । ‘अहिले लालपुर्जावाला मान्छे आएर घर खाली गर भन्दै जान्छ,’ सोहनलालले भने, ‘झगडा चलिरहेको छ ।’ जग्गा हडप्दै घर बनाएर बेच्ने परिपाटी यहाँ धेरै देखिएको उनले बताए ।


वास्तविक मुक्त कमैयाले घरसमेत बनाउन सकेका छैनन् । उनीहरू ज्याला–मजदुरी गर्दै भाडामा बसिरहेका छन् । ‘जमिन छ । खाली छ,’ उनले भने, ‘त्यही जमिनमा अरूले रजाइँ गरेका छन् ।’ कतिपय मुक्त कमैयाका नाममा लाजपुर्जा पाएका व्यक्तिले नै जग्गा भाडामा दिएर आयआर्जन गरिरहेका छन् ।


जग्गा खाली गराउन वडा कार्यालयमा ६ जनाको निवेदन परेको थियो । उक्त विवाद कोहलपुर नगरपालिकास्थित न्यायिक समितिले मिलाउन नसकेपछि अदालत पुगेको कोहलपुर–११ का वडाध्यक्ष कर्णबहादुर थापाले बताए । ‘नेताको बलमा जथाभाथी गर्ने धेरै छन्,’ उनले भने ।

प्रकाशित : श्रावण ३, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?