१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चन्द समूहलाई वार्तामा ल्याउन दौडधुप

दीपेन्द्र विष्ट

काठमाडौँ — सत्तारूढ दल नेकपाका नेताहरू नेत्रविक्रम चन्द समूहलाई वार्तामा ल्याउन दौडधुपमा लागेका छन् । सरकारले औपचारिक वार्ता टोली बनाउनभन्दा विभिन्न सम्पर्क सूत्र प्रयोग गरेर छलफल थालेको चन्द समूहका एक स्थायी कमिटी सदस्यले बताए ।

चन्द समूहलाई वार्तामा ल्याउन दौडधुप

‘विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट नेतालाई वार्ताका लागि पठाएका छन्’ ती सदस्यले भने ।


वार्ताका लागि औपचारिक पत्र नपठाई अनौपचारिक रूपमा मात्र कुरा गर्न खोजेको विषयलाई चन्द समूहले प्रलोभनमा पार्ने सरकारको रणनीतिका रूपमा लिएको छ । ‘वार्ता गर्नेभन्दा नेतालाई प्रलोभन पार्ने काम भइरहेको छ, सत्तापक्षका साथीहरूले विभिन्न प्रलोभन देखाइरहेका छन्,’ ती स्थायी कमिटी सदस्यले भने, ‘वार्ताको कुरा गरेर गलाउने रणनीति जस्तो देखिन्छ ।


नागरिक समाज, सञ्चारकर्मी, सर्वसाधारण र राजनीतिक दलले वार्ता बस्दा राम्रो हुन्छ भन्ने सुझाव दिएपछि चन्द समूहले सरकारले पत्र पठाए वार्ता बस्ने निर्णय गरेको थियो । यसअघि सरकारले चन्द समूहलाई वार्ताका लागि पत्र पठाएको भनेर हल्ला मात्र गरेको उनको आरोप छ । ‘पहिले पनि सरकारले पत्र पठायौं भनेर हल्ला गर्‍यो, हामी वार्ताविरोधी जस्तो देखियौं,’ चन्द समूहका ती नेताले भने, ‘ठीक छ, अब वार्तामा बसौं भनेर निर्णय गरियो । सरकारचाहिँ पत्र नपठाउने, पद दिने प्रलोभन देखाउन लागेको छ ।’


सरकारले औपचारिक रूपमा वार्तामा बोलाए त्यसका लागि कसरी जाने भन्ने सामान्य खाकासमेत चन्द समूहले बनाइसकेको ती नेताले जानकारी दिए । कसको नेतृत्वमा वार्ता टोली बनाइएको छ भन्नेचाहिँ उनले खुलाएनन् । ‘सरकारी पक्ष औपचारिक रूपमा आए मात्रै त्यो सार्वजनिक हुन्छ’ उनले भने ।


पछिल्लोपटक प्रधानमन्त्री केपी शर्माले ओलीले गृहसचिव प्रेम राईलाई नख्खु जेलमा रहेका चन्द समूहका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओलीलाई भेट्न पठाएको ती सदस्यले जानकारी दिए । ‘राईजी प्रधानमन्त्रीको सन्देश बोकेर जानुभएको थियो तर यसरी व्यक्तिगत रूपमा भेटेर केही पनि हुँदैन,’ ती सदस्यले भने, ‘औपचारिक रूपमा आउनुपर्‍यो ।’


त्यसैगरी नेकपा महासचिव विष्णु पौडेल र सांसद सोमप्रसाद पाण्डेले पनि विभिन्न नेतालाई सम्पर्क गरेको उनको भनाइ छ । अर्का अध्यक्ष पुष्पकमल दाहालले चन्द समूहका पोलिटब्युरो सदस्य अनिल शर्मालाई भेटेको उनले बताए । ‘अध्यक्ष दाहाल चन्द समूहसँग वार्ता गर्ने पक्षमा छन्,’ उनले भने ।


नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले व्यक्तिगत रूपमा चन्द समूहलाई वार्तामा ल्याउन पहल गरिराखेको बताए । ‘मलाई कसैले खटाएको होइन, अब बन्दुक चलाएर हुँदैन, वार्तामा आउनुपर्छ, मैले चन्दजीहरूलाई पनि भन्दै आएको छु,’ उनले भने, ‘त्यसकारण दुवैतर्फबाट विश्वासको वातावरण बनाउनुपर्छ ।’ भोजपुर र सर्लाही घटनाले दुवै पक्षमा विश्वासको संकट पैदा भएको जनाउँदै उनले अब त्यसलाई सामान्यीकरण गर्दै वार्तामा बस्नुपर्ने बताए ।


पार्टी प्रतिबन्धपछि आफ्नो पार्टीका जिल्लास्तरका तीन नेतालाई सरकारले मुठभेडमा मारेको दाबी चन्द समूहले गरेको छ । जेठ १३ मा भोजपुरमा तीर्थ घिमिरे, असार १० मा सर्लाहीमा कुमार पौडेल र असार २५ मा ओखलढुंगा इन्चार्ज नीरकुमार राईको भोजपुरमा प्रहरीसँग मुठभेडमा मृत्यु भइसकेको छ ।


गृहमन्त्री रामबहादुर थापाका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदीले चन्द समूहले विश्वसनीय वातावरण र स्पष्ट माग राख्नुपर्ने बताए । औपचारिक माग राखेपछि मात्रै सरकारले औपचारिक रूपमा वार्ता टोली गठन गर्न सक्ने उनको भनाइ छ । ‘उहाँहरू पनि औपचारिक रूपमा आउनुपर्‍यो नि, पत्र त प्राविधिक विषयवस्तु हो,’ उनले भने, ‘संविधान, कानुनअनुसार आए मात्र वार्ता हुन्छ । अहिले वार्ता टोली गठन गर्दैनौं, व्यक्तिगत रूपमा कसले कहाँ भेट्छ, त्यसले खास अर्थ राख्दैन ।’


यसअघि सरकारले वार्ता टोली गठन गर्दा चन्द समूह भागेको उनले बताए । ‘वार्ताको पक्षमा हामी जहिले पनि छौं,’ उनले भने ।

प्रकाशित : श्रावण ३, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?