सुरुङ निर्माण ठेक्कामा ढिलाइ

काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौतामा ढिलाइ हुने भएको छ । असारमै सम्झौता गर्ने भनिए पनि जापानी सहयोग नियोग (जाइका) लार्ई सहमतिका लागि पठाइएको पत्रको जवाफ नआउँदा अलमल बढेको हो । 

‍‘हामीले मूल्यांकन गरेर पत्र पठाएको करिब तीन साता हुन लाग्यो, जवाफ आइसकेको छैन,’ सडक विभागको वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले भने, ‘जाइकाबाट जवाफ आउनासाथ ठेक्का प्रक्रिया अगाडि बढाउनेछौं ।’अबको केही दिनभित्रै जवाफ आउने र साउनभित्र ठेक्काको टुंगो लागिसक्ने उनले दाबी गरे । ठेक्का सम्झौता ढिलाइले निर्माण अवधि पनि पछि धकेलिनेछ । ‘जवाफ आएपछि २८ दिनको समय दिएर सम्झौताका लागि बोलाउनुपर्ने हुन्छ,’ थापाले भने, ‘जवाफ आउन ढिलाइ नहोला, साउनभित्रै ठेक्का सम्झौता हुने सम्भावना धेरै छ ।’


उनले सुरुङ मार्ग निर्माण गर्न सक्ने कम्पनी नै छनोट हुने दाबी गरे । ठेक्का प्रक्रियामा ६ निर्माण कम्पनीले सहभागिता जनाएकामा जापानी कम्पनी हाज्मा/एन्डो जेभी छनोट हुने पक्कापक्की जस्तै छ । अन्यमा ५ चिनियाँ कम्पनी थिए । चिनियाँ कम्पनीको प्राविधिक पक्ष नियाल्दा ‘क्वालिफाइड’ नभएपछि जापानी कम्पनीले ठेक्का पाउने पक्का भएको हो ।


‘ठेक्का सम्झौताका लागि यो आर्थिक वर्ष सकियो,’ नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले भने, ‘जापान सरकारबाट नो अब्जेक्सन आएपछि ठेक्का प्रक्रिया अघि बढ्नेछ ।’ उनका अनुसार ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम सक्नुपर्नेछ । जापान सरकारकै ऋण सहयोगमा सुरुङ मार्ग बनाउन लागिएको हो ।


‘वर्षात सुरु भइसकेको छ,’ खरेलले भने, ‘त्यही भएर अहिले काम हुँदैन, असोज/कात्तिकबाट मात्र काम गराउने गरी सम्झौता हुनेछ ।’ बीपी राजमार्ग, कोटेश्वर–सूर्यविनायक सडक बनाइसकेको यो कम्पनीले कास्कीको मर्दी खोला खानेपानी आयोजनाअन्तर्गत खानेपानी शुद्धीकरण परियोजनाको पनि ठेक्का पाएको छ । सुरुङको लम्बाइ २ दशमलव ६८ किमि रहनेछ ।


गुर्जुधाराबाट पश्चिमतर्फ ६ सय मिटरको आकाशे पुल (फ्लाई ओभर) बन्नेछ । यो उत्तरतर्फ मोडिएर साढे २ किमि सडक बन्नेछ जुन सुरुङको मुखमा पुग्नेछ ।

प्रकाशित : श्रावण ३, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?