२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

१५ किमिमा दुई दर्जन पहिरो

डिल्लीराम खतिवडा

उदयपुर — पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध भएपछि सातायता दर्जनौं सवारी बीच सडकमै अलपत्र छन् । ठाउँठाउँमा पहिरो गएका कारण राजमार्ग सञ्चालन नहुँदा ती सवारी बीचमै रोकिएका हुन् । 

सानाठूला करिब ३४ सवारी अलपत्र छन् । बादुरा खोलाले दुई सवारीलाई बगाएको छ । राजमार्गको मिर्चैया–कटारी, कटारी–बेतिनी खण्ड आंशिक रूपमा सञ्चालनमा आएको छ । तर बेतेनी–घुर्मी खण्डको अवरुद्ध हटाउन नसक्दा समस्या भएको व्यवसायीले बताए । बेतनी–घुर्मी २५ किलोमिटर सडक खण्डमा दुई दर्जनभन्दा बढी स्थानमा पहिरो गएका कारण तत्काल सञ्चालन गर्न कठिनाइ भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।


माथिल्लो सगरमाथा क्षेत्रमा दैनिक उपभोग्य वस्तुलगायत विभिन्न सामग्री लिएर गएका र माथिबाट फर्किएका सवारीसाधन बीच सडकमै फसेको प्रहरी नायब उपरीक्षक सागर केसीले बताए । ‘राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ । खोल्न नसक्दा सवारीसाधन रोकिएका हुन्,’ प्रहरी नायब उपरीक्षक केसीले भने, ‘अवरुद्ध सडक खोल्ने काम हुँदै छ, सम्भवतः दुई दिनसम्ममा खोलिन्छ ।’ सडक खोलिए पनि फसेका सवारीसाधन निकाल्ने मात्र काम हुने र अहिले नै भारी सावरी चलाउन कठिन हुने उनको भनाइ छ ।


यता उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोलाको दुवैतर्फ पहिरो जाँदा ना१ज ३६३२ नम्बरको टाटासुमो र मे१ख २२२६ नम्बरको ट्रकलाई बाढीले बगाएको ट्राफिक प्रहरीले जनाएको छ । घुर्मी–लेखानी १५ किलोमिटरको दूरीमा मालवाहक ट्र्र्रक र यात्रुवाहक ३४ सवारीसाधन अलपत्र छन् । यहाँ पनि दुई दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ ।


‘अलपत्र ३४ सवारी संकटग्रस्त अवस्थामा छन्,’ कटारी नगरपालिका ११ का अध्यक्ष दीपक बुढाथोकीले भने, ‘पुनः पहिरो जान सक्ने सम्भावना भएकाले ती सवारीसाधन संकटग्रस्त अवस्थामा छन् ।’ सडक खुलाएर संकटमा रहेका सवारीसाधन निकाल्ने प्रयास भए पनि डोजर नै जान नसक्ने अवस्था भएकाले समस्या थपिएको उनले बताए ।


राजर्मागको बेतेनी/घुर्मी खण्डको ठाँटीभन्ज्याङ र लप्सेको भीरमा ठूलो पहिरो गएको छ । ठाँटीभन्ज्याङमा करिब २ सय मिटर सडक नै बगेको छ । पहिरोले रोड नै बगाएर लगेपछि नयाँ ट्र्याक बनाउनुपर्ने भएको छ । लप्सेमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काको भनाइ छ । ‘बेतेनी–घुर्मी २५ किमि क्षेत्रमा मोटरसाइकलसमेत सञ्चालन हुन सक्ने अवस्था छैन,’ उनले भने ।


राजमार्ग अवरुद्ध भएपछि खाद्यान्न एवं पेट्रोलियम पदार्थको ढुवानीमा समस्या भएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका महासचिव जमानसिंह बस्नेतले बताए । ‘सवारी आवागमन बन्द हुँदा माथिल्लो क्षेत्रमा खाद्यान्न र पेट्रोलियम पदार्थको ढुवानीमा कठिनाइ भएको छ,’ उनले भने, ‘त्यसैगरी सर्वासाधारणलाई समेत आवतजावतमा समस्या भएको छ ।’ पेट्रोलियम पदार्थको ढुवानी नहुँदा ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका आन्तरिक सडकमा सञ्चालन हुने यातायात घरमै थन्किएका छन्् ।

प्रकाशित : श्रावण ३, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?