परीक्षा अनियमितताका आरोपित त्रिवि सेवाका परीक्षकद्वारा आत्महत्या

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् ।

परीक्षा अनियमितताका आरोपित त्रिवि सेवाका परीक्षकद्वारा आत्महत्या

आयोगका पूर्वकर्मचारीसमेत रहेका ६७ वर्षीय पाण्डे बिहीबार साँझ त्रिपुरेश्वरस्थित एक भवनको ६ तलामाथिबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


उनी कानुन व्यवसायीलाई भेट्न उक्त भवनमा सञ्चालित ल फर्ममा पुगेका थिए । त्यही भवनबाट हामफालेर आत्महत्या गरेको हुन सक्ने महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले बताए । ‘त्यहाँ हिँडडुल गर्दा सजिलै खस्ने ठाउँ छैन, हामफाले जस्तो देखिन्छ,’ उनले भने, ‘उपचारका क्रममा अस्पताल लैजादैं गर्दा मृत्यु भएपछि थप अनुसन्धान गरिरहेका छौं ।’ उनको शव पोस्टमार्टमकै क्रममा रहेको प्रहरीले जनाएको छ । ‘उहाँ केही दिनदेखि तनाबमा हुनुहुन्थ्यो रे, कानुन व्यवसायी भेट्न भन्दै भवनमा चढनुभएको रहेछ,’ ज्ञवालीले भने, ‘भेटेर फर्कने क्रममा घटना भएको देखिन्छ ।’


परीक्षार्थीको नम्बर थपघट गरेर नतिजा फेरबदल गराएको आरोपमा अख्तियारले उनीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । सेवा आयोगको विज्ञापन नम्बर १८/०७३/०७४ अन्तर्गतको मुख्य कार्यालय सहायक पदको दोस्रो पत्र र कार्यालय सहायकको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षणमा उनी संलग्न थिए । यी दुईसहित ६ पदको परीक्षामा आयोगका पदाधिकारी, परीक्षक, समपरीक्षक र कर्मचारीले अनियमितता गरेको अख्तियारको ठहर छ । आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल, सदस्यसचिव परशुराम कोइरालाविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।


लमजुङ स्थायी घर भएका पाण्डेले आयोगको पूर्वसहप्रशासक पदबाट २०७० फागुनमा अनिवार्य अवकाश पाएका थिए । मुख्य कार्यालय सहायक र कार्यालय सहायकको परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा अनियमितता गरेको अख्तियारको छानबिनमा खुलेको थियो । आयोगका सदस्यसचिव कोइरालाले टेलिफोन गरेर बोलाएपछि उत्तरपुस्तिका परीक्षणमा गएको उनले बयान दिएका थिए । ‘मलाई नियुक्तिपत्र दिइएको थिएन, उत्तरपुस्तिका परीक्षण गरी बच्चुराम पाण्डे (आयोगकै कर्मचारी) लाई बुझाएको हुँ,’ बयानमा उनले भनेका थिए, ‘उत्तरपुस्तिका जाँच्दा उत्तरकुञ्जिका पनि दिएको थिएन, प्रश्नपत्रको अङ्कभारका आधारमा नम्बर प्रदान गरेको हुँ, त्यसका क्रममा कुनै उत्तरपुस्तिकामा केरमेट भएको हुनसक्छ ।’


बयानकै क्रममा उनले सुरुको प्राप्ताङ्क केरमेट गरेर नम्बर थपघट गरेको समेत स्वीकार गरेका थिए । ‘रातो अक्षरले करेमेट गरेको मैले हो ।, मैले सुरुमा दिएका अङ्कमा केहि अङ्क थपिदिन भनी सेवा आयोगका कर्मचारीको निर्देशन अनुसार पछि आएर थप गरिदिएको हो, अंक थप्न परशुराम कोइरालाले निर्देशन दिएका हुन्,’ उनले भनेका थिए । सुरुमा दिएको अंक ठिक रहेको र पछि दिएको अंक नियमत होइन भनेर उनले कानुन बमोजिम सजाय भोग्य तयार रहेको जनाएका थिए । मुख्य कार्यालय सहायकका परीक्षार्थी मध्ये ११ जनाको उत्तरपुस्तिकामा केरमेट भएको र शंकास्पद तरिकाले नम्बर थपघट गरि परीक्षाको परिणाम फेरबदल गराएको पाइएको थियो ।


फेरबदल गरिएका उत्तरपुस्तिकाहरुमा पास गराउनुपर्नेलाई नियोजित रुपमा २ देखि ३० अंक सम्म थप गरी उत्तीर्ण गराइएको थियो भने १ जनालाई १० अंक घटाएर फेल गराइएको भेटिएको हो । उत्तरपुस्तिका परीक्षण पाण्डे र समपरीक्षण तथा त्रिवि जनप्रशासन विभागका प्रमुख टेकनाथ ढकाल संलग्न रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । कार्यालय सहायक पदको परीक्षामा २ जनाको उत्तरपुस्तिकामा केरमेट गरि अंक थप गरेर पास गरिएको हो । तीनै २ जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा ४ देखि ५ अंक सम्म बढाएर नतिजा फेरबदल गराइएको थियो ।


प्रकाशित : श्रावण ३, २०७६ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?