कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हर्बल हब

घनश्याम खड्का

म्याग्दी — गुर्जावासी यतिखेर जंगलभित्र पल्टेका रुखका मुढा चहार्न व्यस्त छन्– रातो च्याउ टिप्न । च्याउसँगै यार्चागुम्बु, निरमसी, कटुकी, जंगली लसुन, सतुवा, नागबेली, विषजरा, जटामसी, चिराइतो, सुगन्धवाल, सेतकचिनी, चुल्ठे अमिलो र सिवकथ्रोनलगायत जडीबुटी बेचेर गत वर्ष ८० लाख रूपैयाँ कमाए उनीहरुले । च्याउ लिन पोखरा र काठमाडौंदेखिका ग्राहक दैलामै पुग्छन् । जडीबुटीको माग भारत र चीनबाट समेत हुन्छ ।

हर्बल हब

धुम्म बादल । सिमसिम झरी । बाक्लो घुम ओढेका गाउँले झ्याम्म निगालाको झाडीले ढाकेको जंगलभित्र पल्टेका ठूल्ठूला रूखका मुढा–मुढा चहार्न व्यस्त छन् ।


असंख्य खोंच र गल्छीका विकटतासँगै धौलागिरि गाउँपालिका–१ धौलागिरि हिमशृंखलाको चुरेन, पुथा र गुर्जा हिमालको फेदीमा लुकेर बसेजस्तो गुर्जा गाउँको जीवनशैली रोचक छ । परम्परागत शैलीका घर गुजमुज्ज परेको बस्ती खासमा ‘हर्वल हब’ अर्थात् जडीबुटीको केन्द्र हो ।


गुर्जामा यार्चागुम्बु, गुची च्याउ, रातो च्याउ, निरमसी, कटुकी, जंगली लसुन, सतुवा, नागबेली, विषजरा, जटामसी, चिराइतो, सुगन्धवाल, सेतकचिनी, चुल्ठे अमिलो र सिवकथ्रोनलगायत दुई दर्जन बढी जडीबुटी संकलन र बिक्री हुने गरेको छ । असारदेखि भदौसम्म जंगली च्याउ टिप्ने उपयुक्त मौसम हो ।


गुची, रातो, खुत्के र एकखुट्टेलगायत दर्जन प्रकारका च्याउ गुर्जा बस्ती र आसपासका धौलागिरि हिमाल फेदीका जंगलमा पाइन्छन् । जंगलमा पाइने यी च्याउ बेलैमा संकलन नगरे मासिएर जान्छन् । संकलन गर्दा राम्रो दाम पाइन्छ । सदरमुकाम बेनी बजारसँगै, पोखरा र काठमाडौं बस्नेहरूका भान्सामा माग बढेपछि गुर्जावासीलाई च्याउ खोज्न हतारो भएको हो । गुर्जामा मात्र होइन, लुलाङ र कुइनेमंगले समेत लेकाली जंगलमा रातो च्याउ टिप्नेहरू यतिबेला व्यस्त छन् ।


‘च्याउ किन्न व्यापारी हातहातमा पैसा बोकेर दैलामै आउँछन्,’ गुर्जाका सोमबहादुर छन्त्यालले भने, ‘जंगलका मुढामा पैसा फलेको छ, जति टिप्न सक्यो, उति राम्रो ।’ गाईभैंसी, भेडापालन र मकै, आलु, गहुँ र जौको खेतीबाट जीविकोपार्जन गर्ने गुर्जावासीको नगद आम्दानीको मुख्य स्रोत यार्चागुम्बु, जंगली च्याउ र जडीबुटीको व्यापार हो ।


स्थानीयका अनुसार गुर्जाको जंगलबाट संकलन गरिने यार्चागुम्बु, च्याउ र जडीबुटी सबै बिक्री हुन्छ । गत वर्ष यार्चागुम्बु प्रतिकेजी ५ लाख, गुची च्याउ प्रतिकेजी २० हजार, खुत्के च्याउ ८ हजार र रातो च्याउ १५ सयमा किनबेच भएको थियो । खरिद गर्न व्यापारी स्थानीयका दैलामै पुग्छन् । तीन दर्जनभन्दा बढी जडीबुटी निर्यात गरी वार्षिक सरदर ८० लाख गुर्जामा भित्रिने गरेको छ । यार्चागुम्बु र खुत्के च्याउ चीन निर्यात हुन्छ भने गुची च्याउको माग दक्षिण भारतमा बढी छ । रातो च्याउको मुख्य बजार बेनी, पोखरा र काठमाडौं हो ।


सुकाएको रातो च्याउ गाउँमै प्रतिकेजी १२ सयमा खरिद गरी बेनीमा १६ सय, पोखरा २ हजार र काठमाडौं पुर्‍याएर २२ सयमा बिक्री हुन्छ । वार्षिक २५/३० केजी संकलन हुने खुत्के च्याउ जंगलमै ६ हजार प्रतिकेजीमा खरिद गरी काठमाडौं पुर्‍याएर ८ हजारमा बेच्नेहरू छन् ।


गुची च्याउ जंगलमा २० हजारमा संकलन गरी सहर पुर्‍याएर २५ हजारमा बिक्री भएको वडाध्यक्ष झक छन्त्यालले बताए । उनका अनुसार गुर्जाको जंगलमा गुच्ची च्याउ वार्षिक ४/५ केजीसम्म संकलन हुन्छ । गुर्जाका बासिन्दा कुनै न कुनै रूपमा जडीबुटी व्यापारमा संलग्न भएर वार्षिक कम्तीमा पनि २५ हजारदेखि २ लाखसम्म कमाउँछन् । गुची च्याउको राजस्व मात्र प्रतिकेजी ३ सय रुपैयाँ छ ।


‘व्यापारीले जडीबुटी संकलन पुर्जीसहित पैसा बोकेर गाउँमा आउँछन् । संकलन गर्नुपर्ने परिमाणअनुसार सबैका हातहातमा पेस्की दिन्छन् । हामीले वनबाट संकलन गरेर गाउँमा ल्याएर व्यापारीलाई दिने हो,’ वडाध्यक्ष छन्त्यालले भने, ‘केही वर्षयता यार्चागुम्बु र गुची च्याउ धेरै पाइँदैन । सतुवा उत्पादन घटेकाले संकलनमा प्रतिबन्ध लगाएका छौं । सेतक चिनीको माग बढी आएको छ ।’


उनका अनुसार चालु सिजनमा गुर्जाबाट ४ हजार १ सय ५० केजी सेतक चिनी, साढे ३ केजी यार्चागुम्बु, ३० केजी वन लसुन र २ सय २६ केजी भीरमह संकलन भएर बिक्रीका लागि बाहिरिएको छ । अन्य जडीबुटीको अभिलेख राख्न वडा कार्यालय लागेको छ ।

समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जामा २ सय ३० घरपरिवार छन् । गुर्जामा गाडी पुगिसकेको छैन ।


गुर्जा पुग्ने तीनवटा पैदल मार्ग छन् । सबैभन्दा नजिकको अर्को बस्ती पुग्न कम्तीमा ८ घण्टा हिँडेर ४ हजार मिटरसम्म अग्ला निर्जन जंगल भएको पहाड छिचोल्नुपर्छ । गुर्जाको रुखाचौर, इङ्ले, खोलाखर्क, लगवाङ, ताम्जा र फेसताङलगायत जंगलमा च्याउ पाइन्छ । यार्चागुम्बु भने चुरेन, पुथा, गुर्जा र धौलागिरि हिमाल फेदीका बुक्यान क्षेत्रमा पाइन्छ ।


जिल्ला वन कार्यालयमा यो वर्ष यार्चागुम्बु २.५ केजी, रातोच्याउ ३७ केजी र सेतक चिनी ११ हजार ८ सय ४० केजी निकासी भएको तथ्यांक छ । रातो च्याउ टिप्ने सिजन बल्ल भएकाले संकलन पुर्जी लिन व्यापारी आउन थालेका छन् ।

प्रकाशित : श्रावण ४, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?