धनगढी विस्फोट : खाजा खाँदाखाँदै पड्कियो

अर्जुन शाह, चित्रांग थापा

धनगढी — बिहीबार साँझ । करिब ७ बजेको हुँदो हो, से७प ३१४४ नम्बरको मोटरसाइकलमा दुई जना आए र सहिदगेटको पूर्वपट्टि जस्तापाताले छाएको मिलन होटल छिरे । चियासमोसा मगाए । खाइसकेपछि चुरोट मागे ।

उनीहरू थिए, नेत्रविक्रम चन्द समूहका कार्यकर्ता रामबहादुर सिंह र लक्ष्मण सेराला । उनीहरूलाई चुरोट दिएर होटलका सञ्चालक केशव पाण्डे भित्र के छिरेका थिए, बाहिर विस्फोटको आवाज आयो(ड्याम्म । ‘उनीहरू चुरोट खाँदै थिए । म भित्र थिएँ । बाहिर अचानक ड्याम्म आवाज आयो,’ विस्फोटमा घाइते भई उपचाररत पाण्डेले भने, ‘विस्फोटबाट मेरा टाउकामा चोट लाग्यो र नजिकैको मायामेट्रो अस्पतालमा उपचार गराउन गएँ ।’चिकित्सकले टाउकामा रगत जमेको जानकारी दिएपछि उनी नेपालगन्ज गएका छन् ।

घटनामा सिंहको ढाड र खुट्टामा गम्भीर चोट लागेको थियो । बिहीबार राति नै अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको छ । सेरालाको खुट्टा, पाखुरा र छातीमा गम्भीर चोट लागेकाले शुक्रबार साँझ शल्यक्रिया गरिएको छ । अर्धचेत अवस्था रहेका उनी केही बोल्न सक्ने अवस्थामा छैनन् ।

घटनाका बेला होटलमा नास्ता खान बसेका भारतको लखिमपुर जिल्लाका ग्रिल मिस्त्री मोबिन खान र कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष जितेन्द्र यादव पनि पनि घाइते भएका थिए । माया मेट्रोमै उनीहरूको उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख धीरेन्द्र साउदले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले एक थान मोटरसाइकल, मृतक सिंहको च्यातिएको झोलाबाट एक थान टेस्टर र डायरी फेला पारेको छ । घटनापछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको कैलालीका एसपी सुदीप गिरीले बताए । ‘घाइते चारै जनाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन्,’ सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी तारिणीप्रसाद लम्सालले भने, ‘उनीहरूलाई आफन्तले भेटघाट गरिरहेका छन्, शनिबारसम्ममा डिस्चार्ज हुन सक्छन् ।’

सेराला बोल्न थालेपछि घटनाबारे थप जानकारी प्राप्त हुने उनको भनाइ छ । ‘यतिबेला लोकसेवा आयोगको परीक्षा भइरहेको छ, केन्द्र आसपासमा बम पडकाएर परीक्षा बिथोल्ने योजना पनि हुन सक्छ,’ उनले भने, ‘आदिवासी जनजातिहरूले लोकसेवाले लिन लागेको परीक्षाको विरोध गरिरहेका छन् । उनीहरूको सहानुभूति पाउन सक्ने योजनाअन्तर्गत बम बोकेर हिँडेको प्रारम्भिक छानबिनले देखाएको हो ।’

विस्फोटको जिम्मा चन्द समूहले लियो
चन्द समूहका सेती महाकाली ब्युरो इन्चार्ज निर्माणले विस्फोटको जिम्मा आफ्नो पार्टीले लिएको बताएका छन् । बिहीबारको बम विस्फोटमा परी आफ्नो पार्टीका सदस्य रामबहादुर सिंहको मृत्यु भएको उनले स्विकारेका छन् । उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ पड्किँदा सिंहको मृत्यु भएको उल्लेख छ ।

मृतक सिंह केही महिनाअघि चन्द समूहले काठमाडौंमा गरेको खुला आमसभामा सहभागी भएपछि पार्टीमा आबद्ध भएका हुन् । उपचाररत उनी राम्ररी बोल्न सक्ने भएपछि घटनाबारे थप जानकारी लिइने प्रहरीको भनाइ छ ।

घटनामा श्रीमान् परेको थाहा पाएर अस्पताल आएकी विमलाले सेराला डेढ महिनाअघि मात्र भारतबाट आएको दाबी गरेकी छन् । शुक्रबार साँझ लक्ष्मणको शल्यक्रिया गरिएको छ । उनीहरू श्रीमान्श्रीमती नै माओवादीका पूर्वलडाकु हुन् ।

प्रकाशित : श्रावण ४, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

हर्बल हब

घनश्याम खड्का

म्याग्दी — गुर्जावासी यतिखेर जंगलभित्र पल्टेका रुखका मुढा चहार्न व्यस्त छन्– रातो च्याउ टिप्न । च्याउसँगै यार्चागुम्बु, निरमसी, कटुकी, जंगली लसुन, सतुवा, नागबेली, विषजरा, जटामसी, चिराइतो, सुगन्धवाल, सेतकचिनी, चुल्ठे अमिलो र सिवकथ्रोनलगायत जडीबुटी बेचेर गत वर्ष ८० लाख रूपैयाँ कमाए उनीहरुले । च्याउ लिन पोखरा र काठमाडौंदेखिका ग्राहक दैलामै पुग्छन् । जडीबुटीको माग भारत र चीनबाट समेत हुन्छ ।

धुम्म बादल । सिमसिम झरी । बाक्लो घुम ओढेका गाउँले झ्याम्म निगालाको झाडीले ढाकेको जंगलभित्र पल्टेका ठूल्ठूला रूखका मुढा–मुढा चहार्न व्यस्त छन् ।

असंख्य खोंच र गल्छीका विकटतासँगै धौलागिरि गाउँपालिका–१ धौलागिरि हिमशृंखलाको चुरेन, पुथा र गुर्जा हिमालको फेदीमा लुकेर बसेजस्तो गुर्जा गाउँको जीवनशैली रोचक छ । परम्परागत शैलीका घर गुजमुज्ज परेको बस्ती खासमा ‘हर्वल हब’ अर्थात् जडीबुटीको केन्द्र हो ।

गुर्जामा यार्चागुम्बु, गुची च्याउ, रातो च्याउ, निरमसी, कटुकी, जंगली लसुन, सतुवा, नागबेली, विषजरा, जटामसी, चिराइतो, सुगन्धवाल, सेतकचिनी, चुल्ठे अमिलो र सिवकथ्रोनलगायत दुई दर्जन बढी जडीबुटी संकलन र बिक्री हुने गरेको छ । असारदेखि भदौसम्म जंगली च्याउ टिप्ने उपयुक्त मौसम हो ।

गुची, रातो, खुत्के र एकखुट्टेलगायत दर्जन प्रकारका च्याउ गुर्जा बस्ती र आसपासका धौलागिरि हिमाल फेदीका जंगलमा पाइन्छन् । जंगलमा पाइने यी च्याउ बेलैमा संकलन नगरे मासिएर जान्छन् । संकलन गर्दा राम्रो दाम पाइन्छ । सदरमुकाम बेनी बजारसँगै, पोखरा र काठमाडौं बस्नेहरूका भान्सामा माग बढेपछि गुर्जावासीलाई च्याउ खोज्न हतारो भएको हो । गुर्जामा मात्र होइन, लुलाङ र कुइनेमंगले समेत लेकाली जंगलमा रातो च्याउ टिप्नेहरू यतिबेला व्यस्त छन् ।

‘च्याउ किन्न व्यापारी हातहातमा पैसा बोकेर दैलामै आउँछन्,’ गुर्जाका सोमबहादुर छन्त्यालले भने, ‘जंगलका मुढामा पैसा फलेको छ, जति टिप्न सक्यो, उति राम्रो ।’ गाईभैंसी, भेडापालन र मकै, आलु, गहुँ र जौको खेतीबाट जीविकोपार्जन गर्ने गुर्जावासीको नगद आम्दानीको मुख्य स्रोत यार्चागुम्बु, जंगली च्याउ र जडीबुटीको व्यापार हो ।

स्थानीयका अनुसार गुर्जाको जंगलबाट संकलन गरिने यार्चागुम्बु, च्याउ र जडीबुटी सबै बिक्री हुन्छ । गत वर्ष यार्चागुम्बु प्रतिकेजी ५ लाख, गुची च्याउ प्रतिकेजी २० हजार, खुत्के च्याउ ८ हजार र रातो च्याउ १५ सयमा किनबेच भएको थियो । खरिद गर्न व्यापारी स्थानीयका दैलामै पुग्छन् । तीन दर्जनभन्दा बढी जडीबुटी निर्यात गरीवार्षिक सरदर ८० लाख गुर्जामा भित्रिने गरेको छ । यार्चागुम्बु र खुत्के च्याउ चीन निर्यात हुन्छ भने गुची च्याउको माग दक्षिण भारतमा बढी छ । रातो च्याउको मुख्य बजार बेनी, पोखरा र काठमाडौं हो ।

सुकाएको रातो च्याउ गाउँमै प्रतिकेजी १२ सयमा खरिद गरी बेनीमा १६ सय, पोखरा २ हजार र काठमाडौं पुर्‍याएर २२ सयमा बिक्री हुन्छ । वार्षिक २५/३० केजी संकलन हुने खुत्के च्याउ जंगलमै ६ हजार प्रतिकेजीमा खरिद गरी काठमाडौं पुर्‍याएर ८ हजारमा बेच्नेहरू छन् ।

गुची च्याउ जंगलमा २० हजारमा संकलन गरी सहर पुर्‍याएर २५ हजारमा बिक्री भएको वडाध्यक्ष झक छन्त्यालले बताए । उनका अनुसार गुर्जाको जंगलमा गुच्ची च्याउ वार्षिक ४/५ केजीसम्म संकलन हुन्छ । गुर्जाका बासिन्दा कुनै न कुनै रूपमा जडीबुटी व्यापारमा संलग्न भएर वार्षिक कम्तीमा पनि २५ हजारदेखि २ लाखसम्म कमाउँछन् । गुची च्याउको राजस्व मात्र प्रतिकेजी ३ सयरुपैयाँ छ ।

‘व्यापारीले जडीबुटी संकलन पुर्जीसहित पैसा बोकेर गाउँमा आउँछन् । संकलन गर्नुपर्ने परिमाणअनुसार सबैका हातहातमा पेस्की दिन्छन् । हामीले वनबाट संकलन गरेर गाउँमा ल्याएर व्यापारीलाई दिने हो,’ वडाध्यक्ष छन्त्यालले भने, ‘केही वर्षयता यार्चागुम्बु र गुची च्याउ धेरै पाइँदैन । सतुवा उत्पादन घटेकाले संकलनमा प्रतिबन्ध लगाएका छौं । सेतक चिनीको माग बढी आएको छ ।’

उनका अनुसार चालु सिजनमा गुर्जाबाट ४ हजार १ सय ५० केजी सेतक चिनी, साढे ३ केजी यार्चागुम्बु, ३० केजी वन लसुन र २ सय २६ केजी भीरमह संकलन भएर बिक्रीका लागि बाहिरिएको छ । अन्य जडीबुटीको अभिलेख राख्न वडा कार्यालय लागेको छ ।
समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जामा २ सय ३० घरपरिवार छन् । गुर्जामा गाडी पुगिसकेको छैन ।

गुर्जा पुग्ने तीनवटा पैदल मार्ग छन् । सबैभन्दा नजिकको अर्को बस्ती पुग्न कम्तीमा ८ घण्टा हिँडेर ४ हजार मिटरसम्म अग्ला निर्जन जंगल भएको पहाड छिचोल्नुपर्छ । गुर्जाको रुखाचौर, इङ्ले, खोलाखर्क, लगवाङ, ताम्जा र फेसताङलगायत जंगलमा च्याउ पाइन्छ । यार्चागुम्बु भने चुरेन, पुथा, गुर्जा र धौलागिरि हिमाल फेदीका बुक्यान क्षेत्रमा पाइन्छ ।

जिल्ला वन कार्यालयमा यो वर्ष यार्चागुम्बु २.५ केजी, रातोच्याउ ३७ केजी र सेतक चिनी ११ हजार ८ सय ४० केजी निकासी भएको तथ्यांक छ । रातो च्याउ टिप्ने सिजन बल्ल भएकाले संकलन पुर्जी लिन व्यापारी आउन थालेका छन् ।

प्रकाशित : श्रावण ४, २०७६ ०७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT