चेपुवामा साना

हरिहरसिंह राठौर

धादिङ — काठमाडौंबाट छुट्ने र भित्रिने सवारी साधनका कारण पृथ्वी राजमार्ग बिहानैदेखि व्यस्त हुन्छ । त्यही बेला राजमार्गमा विद्यालय र कार्यालय जानेको लर्को लाग्छ । विद्यार्थीको हुल सडकछेउबाटै हिँड्छ, सवारीसाधन भएकाहरू ठूला गाडीबाट छलिँदै गुड्छन् ।

चेपुवामा साना

राजमार्ग आसपासका बजारक्षेत्रमा मोटरसाइकलमा अटेसम्म खाँदेर विद्यार्थी ओसारेका दृश्य सामान्य बनिसकेको छ । ४–५

जना बालबालिका मोटरसाइकलको अगाडि–पछाडि राखेर हुइँकिँदा पनि ट्राफिक प्रहरीले देखेनदेख्यै गर्ने गरेको छ ।


लामो दूरीका चालकको अनिद्रा, चालकको लापरबाही, मोडमा उछिन्ने प्रतिस्पर्धा, तीव्र गति, मादक पदार्थ सेवन, पैदल यात्रु, जथाभावी छाडिएका चौपाया र जथाभावी गुड्ने साना सवारीसाधनका कारण दुर्घटना हुने गरेको गजुरीस्थित जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक हेमराज घिमिरे बताउँछन् ।


धादिङ खण्डमा मात्रै एक वर्षमा १ सय ३८ दुर्घटना भएका छन् । जसमा ९३ जनाले ज्यान गुमाए । गत साउनदेखि असार मसान्तसम्म भएका दुर्घटनामध्ये ८९ वटामा साना सवारी परेका छन् । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि हेलमेट नलगाई बस्ने महिला र बालबालिकाकै संख्या अधिक छ ।


पछिल्ला ४ वर्ष यो राजमार्गमा दुर्घटनामा मृत्यु हुने ४ सय ८१ जनामध्ये ३ सय ५४ जना मोटरसाइकलसहित साना सवारीसाधनका यात्रु छन् । ‘मृत्यु हुनेमा मोटरसाइकल र माइक्रो बसका यात्रु धेरै छन्,’ घिमिरेले भने, ‘तीमध्ये पनि पछाडि बसेका महिला र इन्धन भर्ने ट्यांकीमा राखिएका बालबालिकाको संख्या बढी छ ।’ विद्यालय समयमा नजिकै त हो भन्दै अभिभावकले मोटरसाइकलमा ५ जनासम्म बोकेको देखेपछि ओह्रालेर सम्झाउने गरेको उनले बताए ।


‘प्रहरीचौकी अलि टाढा भएका बजारमा यस्तो समस्या देखिएको छ’, उनले भने, ‘गस्तीमा गएको बेला मोटरसाइकलमा बालबालिका राखेर जोखिमयुक्त तबरले यात्रा गर्नेको कागजात नियन्त्रणमा लिने गरेका छौं । मौखिक सचेत पनि गराउँछौं ।’ बिहान ९ देखि १० बजे र साँझ ४ बजेतिर राजमार्गका विद्यालय आसपास यस प्रकारका जोखिमपूर्ण दृश्य देखिने उनले बताए । ‘हामी देखेपछि रोकेर एक पटक सम्झाउँछौं, फेरि उनै व्यक्ति देखिए नियमानुसार जरिवाना पनि गर्छौं ।’


पृथ्वी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनमा सहजता ल्याउन गजुरीमा जिल्ला ट्राफिक कार्यालय स्थापना गरिएको छ । यो कार्यालयअन्तर्गत ३३ जनाको दरबन्दी छ । चितवनको सिमाना मौवा खोलादेखि काठमाडौंको सिमाना पिपलामोडसम्मको राजमार्ग क्षेत्र र जिल्ला सदरमुकामलगायत सडकको यातायात व्यवस्थापन यिनै ३३ जनाले गर्दै आएका छन् । ‘दरबन्दी थोरै भएकाले व्यवस्थापन गर्न मुस्किल पर्छ,’ घिमिरेले भने ।


दैनिक १२ हजारभन्दा बढी सवारीसाधन गुड्ने राजमार्गसँगै विद्यालय रहेकाले सुरक्षा चुनौती थपिएको उनले बताए । जोगीमारा, बेनीघाट, शीतलबजार, गजुरी, मलेखु, घाटबेसी, खानीखोला, सिम्ले, आदमघाट, धार्के, महादेवबेसी, गल्छीलगायत मुख्य बजार क्षेत्रमा जेब्रा क्रसिङ भए पनि ८६ किमि राजमार्ग क्षेत्रमा टाँसिएका बस्ती र विद्यालयका कारण सुरक्षा चुनौती बढेको उनको बुझाइ छ ।


राजमार्गमा गुड्ने अधिकांश गाडी थोत्रा छन् । लामो दूरीमा दुई जना चालक राख्नुपर्नेमा एउटै चालकले चलाउने, दिगो मर्मत गर्नॅपर्ने सडक एक महिनाका लागि हुने गरी टालटुल गर्ने र अर्को पटक पुनः मर्मतको नाममा खर्च गरिरहने प्रवृत्तिले दुर्घटना बढेको स्थानीयवासी बताउँछन् ।


२०२४ सालमा देशभरि २ हजार सवारी भएका बेला बनाइएको सडकमा हजारौं सवारीसाधन थपिँदा पनि गुणस्तर उस्तै छ । १० टन क्षमताका लागि बनाइएको राजमार्गमा ४० टनभन्दा बढीका मालवाहक गाडी गुडाइएको र दुर्घटनाबाट जोगाउन सडक किनारामा राख्नुपर्ने सुरक्षा उपाय नगर्दा दुर्घटना बढेको सडक दुर्घटनामा घाइते भएकाहरूबारे अध्ययन गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्रका निर्देशक डा. सुनीलकुमार जोशी बताउँछन् ।


पोखरा–नौबिसे सडक २०३४ सालमा चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो । ‘उतिबेला राजमार्गमा गुड्ने सीमित सवारीसाधनको अवस्था र अहिलेको अवस्था दाँज्न मिल्दैन,’ गजुरी निवासी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चन्द्रकान्त अधिकारीले भने, ‘उतिबेला एक मिनेटमा मुस्किलले ३० वटा गाडी गुड्थे, अहिले प्रतिसेकेन्ड ३ वटा गुड्छन् तर सडकको अवस्था जस्ताको तस्तै छ ।’


गजुरीस्थित सडक डिभिजनको फिल्ड कार्यालयका इन्जिनियर हरि ठकुरी भने सवारीको चापलाई ध्यानमा राखेर पछिल्लो समय सडकको चौडाइ र घुम्ती फराकिलो पारिएको तथा पिचको गुणस्तर बढाइएको बताउँछन् । ‘सडकको गुणस्तर बढाउँदै आएका छौं,’ उनले भने । उनका अनुसार साधारण ट्रकमा १८ टन र ठूला ट्रकमा २१ टनसम्म मात्रै ढुवानी गर्न पाउने सडकको क्षमता हो ।

प्रकाशित : श्रावण ४, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?