१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निर्मला हत्या प्रकरण : कसैलाई राहत र नोकरी, कोहीलाई उपचार खर्चै अभाव

बलात्कारपछि हत्या गरिएकी निर्मला र आन्दोलनका क्रममा गोली लागी मृत्यु भएका शनि खुनाका परिवारले १८ लाख रुपैयाँ राहत पाइसके
भवानी भट्ट

कञ्चनपुर — बोल्न सक्दैनन्, अलि–अलि इसारा मात्रै गर्छन् । दिसा–पिसाब आएको पनि थाहा पाउँदैनन् । करिब १ वर्षदेखि अस्पतालको शय्यामा यस्तै दिनचर्या चलिरहेको छ । एउटा खुट्टा काटिइसकेको छ । तर, निको हुने/नहुने ठेगान छैन ।

निर्मला हत्या प्रकरण : कसैलाई राहत र नोकरी, कोहीलाई उपचार खर्चै अभाव

१ वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै चर्किएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका भीमदत्त नगरपालिका ४, महेन्द्रनगरका अर्जुन भण्डारा अहिले पनि अचेत अवस्थामै छन् ।


काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको शारीरिक अवस्थामा सामान्य सुधार आए पनि निको हुने आश न्यून रहेको डाक्टरहरूले बताएको आफन्तजनको भनाइ छ । गत भदौ ७ मा अन्य दिनझैं अर्जुन खाना खाएर घरबाट निस्किएका थिए । उनी सिधै निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै चलिरहेको आन्दोलनमा होमिए ।


साँझपख जिल्ला प्रशासन कार्यालय अगाडि प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका हुन् । त्यसपछि उनलाई महाकाली अञ्चल अस्पताल हुँदै बाँकेको कोहलपुर मेडिकल कलेजबाट काठमाडौं रिफर गरियो । ‘गोली लागेको दायाँ खुट्टा पनि काटिएको छ, अर्को खुट्टा पनि छोटो भए जस्तो छ,’ शिवकलाले भनिन्, ‘अरु कुरामा पनि कुनै सुधार आएको छैन, डाक्टर पनि अब निको नहुने भनिरहेका छन् ।’ घटना हुँदा सुरुमा सरकारले उपचार खर्च व्यहोर्ने भनेको थियो ।


तर, नयाँ वर्षदेखि १ रुपैयाँ पनि उपलब्ध नभएको शिवकलाको भनाइ छ । उनका अनुसार ३ महिनामा साढे ३ लाख रुपैयाँ खर्च भइसकेको छ । ‘ऋण गरी अहिलेसम्म उपचार गराइरहेकी छु, कमाउने कोही छैन, अब कसरी खर्च जुटाउने,’ उनले भनिन्, ‘मन्त्रालयमा जाँदा १/२ दिनमा रकम निकासा हुन्छ भन्छन्, तर कहिले हो कहिले ?’ अस्पतालले पनि पटक–पटक घर लैजान भन्दै दबाब दिन थालेको छ ।


‘कसैले राहत र नोकरी पनि पाए, तर हाम्रा बाल–बच्चाले अनाहकमा दुःख पाए,’ शिवकलाले भनिन् । उनले पछिल्लोपटक गृह मन्त्रालयमा गएर घरसम्म पुग्ने खर्चसमेत दिन आग्रह गरेको बताइन् । उनले ऋण काढेर उपचार गराउन सक्ने क्षमता नभएकाले अर्जुनलाई डिस्चार्ज गरी घर लैजाने बताइन् ।


निर्मलाका परिवारलाइ राहत सहयोग

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाका परिवारले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट गरी १८ लाख रुपैयाँ राहत पाएका छन् । निर्मलाकी आमाले भीमदत्त नगरपालिकामा दैनिक ज्यालादारीमा रोजगारी पनि पाएकी छन् ।


यसैगरी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका शनि खुनाको परिवारले पनि तीन वटै तहका सरकारबाट १८ लाख रुपैयाँ राहत रकम बुझिसकेको छ । शनिकी आमाले पनि नगरपालिकामा दैनिक ज्यालादारीमा काम पाएकी छिन् ।


तर निर्मलाकै न्यायका लागि आन्दोलनमा होमिँदा घाइते भएका परिवारको भने बिचल्ली भएको छ । उनीहरूले न कुनै राहत पाए नत उपचार खर्च नै । ‘तीन दिनदेखि गृह मन्त्रालयमा धाइरहेको छु, भोलि–भोलि भन्छन्,’ भदौ ८ गते प्रहरीको गोलीबाट घाइते भएका महेन्द्रनगरकै उमेश देउवाका बुबा यज्ञराज देउवाले भने, ‘अस्पतालले त डिस्चार्ज गर्‍यो, तर बेला–बेलामा फलोअपमा आउनुपर्छ यति पैंसा कहाँंबाट ल्याउनु ।’


उमेशका बुबा यज्ञराज पेन्टिङको काम गर्छन् । त्यसैबाट घर परिवारको खर्च चलाउँथे । १ वर्षदेखि छोराको उपचारमा दौडिनु पर्दा रोजीरोटी पनि बन्द भएको उनी बताउँछन् । ‘मजदुरी गरी परिवार पाल्थे, छोराको उपचार कसरी गरौं,’ उनले भने । उमेशलाई ३ महिनाको उपचारपछि डिस्चार्ज गरेको हो । उनको बायाँ खुट्टमा गोली र बायाँ हातमा छर्रा लागेको थियो । खुट्टाको शल्यक्रिया गरी केही निको भए पनि हातका छर्रा ननिकालेकाले बेला–बेला दुखिरहन्छ ।


‘खुट्टाको हड्डी जोडिन लागेको भन्छन्, तर हातको छर्रा निकाल्न अप्रेसन नै गर्नुपर्ने भनेका छन्,’ यज्ञराजले भने, ‘अब सरकारले उपचार खर्च नदिए म त सक्दिनँ, ज्यालादारी गरिखाने मान्छे कहाँबाट अप्रेसन तथा अन्य उपचार गराउन सक्छु ।’ उनी काठमाडौंमा कोठा लिएर बसेका छन् । त्यहींबाट फलोअपमा अस्पताल धाउँछन् । कोठा भाडा र खानाको खर्च तिर्नै धौ–धौ भएको उनले बताए ।


निर्मलाको हत्या भएको पनि १ वर्ष पुग्दै छ । अहिलेसम्म पनि वास्तविक हत्यारा पत्ता लाग्न सकेको छैन । त्यतिबेला घाइते भएकामध्ये ४ जना अहिले पनि उपचारमै छन् । भदौ ८ गते घाइते भएका सुरेन्द्र देउवा र चेतन भट्टलगायत पनि उपचारमै छन् । चेतनको दायाँ हातमा गोलीको छर्रा लागेको छ । उनी अहिले शल्यक्रियाका लागि काठमाडौं गएका छन् । अर्जुन र उमेश जस्तै अन्य घाइतेले पनि उपचार खर्च पाएका छैनन् ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?