कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फाट्याे धर्ती, फुट्यो मन

विप्लव भट्टराई

इलाम — बारी जोत्ने क्रममा अनौ फुस्किँदा अनौठो दुर्घटनाको सिकार बनेका महेरमान गुरुङ बैसाखीको सहाराले मुस्किलले भित्रबाहिर गर्न सक्छन् । पाँच वर्षअघिको यो घटनापछि उनी लामो समयसम्म अस्पतालमै बसे । 

त्यसपछि घरमा कष्टले जीवनयापन गर्दै आएका उनलाई अहिले अर्को आपत् आइलाग्यो । सिङ्गो गाउँ पहिरोको जोखिममा पर्दा सन्दकपुर ५ जमुनाको एक गाउँका बासिन्दा कति बेला बगिने हो भन्ने चिन्तामा छन् । साता दिन भयो, उनीहरू निदाउन सकेका छैनन् । छिमेकीहरू रात बिताउन अन्यत्रै सर्दा उनको परिवार भने बिहीबार बल्ल भिटीगुन्टा कस्दै थियो ।


घर वरिपरि परेका धाँजा र यसअघि पानीको स्रोत नभएका ठाउँमा पनि पानीको मूल फुटेपछि उनले घर नछाडी सुखै पाएनन् । आमा तुलसी प्यारालाइसिसले थलिएकाले यो विपद्मा गुरुङ परिवारलाई थप पीडा भएको छ । ‘मलाई भित्रबाहिर गर्नै मुस्किल छ । आमा ओछ्यानबाट उठ्न सक्नुहुन्न,’ मेहेरमानले भने, ‘रातबिरात आपत् आइलाग्यो । मरिन्छ भन्ने डरले थातथलो छाडेर अन्यत्रै जाँदै छौं ।’


गाईबस्तुसहित खानेसुत्ने सामग्री लिएर करिब १ किलोमिटर टाढा आफन्तको घरमा जान उनीहरूलाई कम कठिन थिएन । मोटरबाटोसमेत नपुग्ने भएकाले छिमेकी, आफन्त र शुभेच्छुकको सहयोगमा उनीहरू सुरक्षित बासतिर लागेका हुन् ।


६ सदस्यीय यो परिवारको अवस्था मात्र यस्तो होइन, गाउँका दर्जन घरपरिवारको अवस्था पनि उस्तै छ । असार अन्तिम साता परेको झरीले सिंगो गाउँमै धाँजा फाँट्ने र जमिन भासिने क्रम सुरु भएको हो । ‘यस्तो हुन्छ भनेर कहिल्यै सोचिएन,’ छिमेकी नेत्रबहादुर गुरुङले भने, ‘व्यवस्थित घर भए पनि यो अवस्थाका कारण घर छाडेर रात बिताउन बाध्य छौं ।’


घरमुनीको बारी वारपार धस्सिएसँगै उनको घर पनि चर्किएको छ । ०४५ को भलवाडीमा यो गाउँदेखि केही परको डाँडामा यस्तै भएको थियो । उतिबेला त्यस क्षेत्रमा भएका घरमा बस्ने अवस्था नभएपछि यहि क्षेत्रमा सर्नेहरू पनि छन् । उति भिरालो जमिन नभएकाले यस्तो अवस्था आउनेमा कसैलाई शंका नै थिएन ।


पानी पर्नेक्रम सुरु भएपछि क्रमश यो गाउँको जमनिमा परवर्तन आउन थाल्यो । अविरल वर्षाका कारण कसैको भान्सा घरमा नै धाँजा फाटेको छ । ‘छिमकीका घरभित्र रहेको चुलोमा नै पानी निस्किपछि तत्काल घर छाड्नु पर्यो,’ स्थानीय सूर्य गुरुङले भने, ‘दिन उघ्रिएको बेला दिउँसो आएर गाईबस्तु र खेती स्याहार्नु पर्ने भएकाले डर भइरहन्छ ।’


अहिलेको बर्खामा यस्तो कष्ट झेलेका उनीहरू वाँकी दिनमा पनि घर फर्कन नसकिने होकी भन्ने चिन्तामा छन् । खोला पनि उति नजिक नभएको र यसअघि पहिरो पनि नभएको अवस्थामा गाउँभर यस्तो समस्या आएपछि त्रास बढेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभरबाट पूर्णरूपमा ९ परिवारका ५९ जना विस्थापित भएका छन् । तर जोखिममा रहेका यी परिवार विस्थापितको सूचीमा छैनन् ।


जुनसुकै बेला दुर्घटना हुन सक्ने भन्दै प्रहरीले सजग गराएपछि आइतबारदेखि त्यस क्षेत्रका बासिन्दा अन्यत्र जान थालेका छन् । पहिरोको जोखिममा रमेश, सूर्यबहादुर, भक्तबहादुर, मेहेरमान, जितकुमार, धर्मध्वज, नेत्रबहादुर, निरबहादुर र वेदबहादुर गुरुङको घर छन् । उत्तरी यो गाउँमा तुलनात्मक रूपमा धेरै पानी पर्ने भएकाले पनि उनीहरू त्रासमा छन् ।


जिल्लामा बाडीपहिरोका ३३ घटना भएका छन् । घटनामा १ जनाको ज्यान गएको पुष्टि भएको छ । अरु ३ जना बालबालिका बेपत्ता छन् । ‘इलाम र झापा प्रहरीले उनीहरूको खोजी जारी राखेको छ,’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने, ‘परिवार र माइ नगरपालिकावाट मृतक घोषणाकालागि अनुरोध आएकाले खोजीसँगै यो प्रक्रिया अघि बढाएका छौं ।’

प्रकाशित : श्रावण ४, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?