छाडा चौपायाको व्यवस्थापन 'जटिल’

गौशालाले धानेन  तस्करीको चिन्ता  दुर्घटनाको जोखिम

दाङ/बाँके — सडकमा जता पनि छाडा गाईगोरु । हुलमा सडकमा बस्छन्, त्यहीँ गोब्य्राउँछन् । त्यसले दुर्घटनाको जोखिम बढेको छ । घोराही र तुलसीपुर उपमहानगरपालिकामा छाडा बस्तुभाउले सडकै अवरुद्ध गर्छन् । घोराही–तुलसीपुर खण्डअन्तर्गत सडक बीचमा बसेका बस्तुभाउका कारण यातायात सञ्चालनमा बाधा पुग्ने गरेको छ । 

छाडा चौपायाको व्यवस्थापन 'जटिल’

लमही नगरपालिकामा यस्तै समस्या छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही बजार र आसपास सडकमा सास्ती दिने गरेका छन् । छाडा वस्तुभाउले सहरको सुन्दरता खलबल्याएको छ । नजिकका खेतबारीमा पसेर किसानलाई सताउने समस्या त छदैछ । लामो समयदेखि व्यवस्थापन नहुँदा सर्वसाधारण सरकारलाई सराप्छन् ।


स्थानीय सरकारले यिनको व्यवस्थापन योजना बनाउन सकेका छैनन् । पछिल्लो पटक यहाँ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका व्यक्तिलाई गाईगोरु धपाउने काम दिएका थिए । घोराही उपमहानगरपालिकाले उनीहरूलाई गाईगोरु नियन्त्रणमा लिने काम दिएको छ । बस्तुभाउ नियन्त्रणमा लिएर घोराही १६ स्थित अर्गानिक कृषि फर्ममा पुर्‍याउने जिम्मा लगाएको छ ।


अहिलेसम्म दिगो समाधान नभएको घोराही नगर प्रमुख नरुलाल चौधरीले बताए । ‘गाईगोरु व्यवस्थापनमा तत्काल केही गर्नसक्ने अवस्था छैन । सबै ठाउँबाट बजारमा आउँछन् । धपाएर साध्य छैन,’ उनले भने, ‘गौशाला बनाएर पाल्न पनि सम्भव छैन । टाढाटाढाबाट हिँड्दै आउँछन् अनि डेरा जमाउँछन् ।’


नगरपालिकामा तत्काल कुनै योजना नभएकाले वडाले आफ्नै तरिकाले व्यवस्थापन गर्नुपर्ने उनले बताए । ‘नगर तहबाट सबै वडाका गाईगोरु हेर्न सकिँदैन । सबै वडाले आफ्नो क्षेत्रमा कसरी व्यवस्थापन गर्ने भन्ने योजना बनाउनुपर्छ,’ उनले भने, ‘त्यही अनुसार वडा तहबाटै केही काम गर्ने योजना भइरहेको छ ।’


गौशालाले धानेन

केही स्थानीय तहले भने गौशाला बनाएर छाडा गाईगोरु व्यवस्थापनको काम थालेका छन् । गौशालामा राख्दा पनि संख्या नघटेपछि उनीहरू तनावमा छन् । गढवा र दंगिशरण गाउँपालिकाले बजेट विनियोजन गरेर गत वर्षदेखि गौशाला सञ्चालन गरिरहेका छन् ।


छाडा चौपाया व्यवस्थापन अन्तर्गत ४ लाख रुपयाँ विनियोजन गरी गौशाला सञ्चालन गरेको गढवा गाउँपालिकामन अध्यक्ष सहजराम यादवले बताए । ‘गौशाला चलिरहेको छ तर बस्तुभाउ बढिरहेकै छन् । अहिले ६० भन्दा बढी छन्,’ उनले भने, ‘गाई हेर्न दुईजना राखिएको छ तर त्यतिले भ्याउन गार्‍हो छ ।’


गढवा–६ मनिकापुरमा ऐलानी जग्गामा तारवार गरेर गाईबस्तु पालिएको छ । टिनको टहरा बनाइएको छ । दिनभर जंगल र खेततिर चराउने गरिएको छ । साँझपख टहरामा राखिन्छ । ‘खेतीबाली नष्ट गरे । किसानले गाली गर्न थालेपनि गौशाला बनाइएको हो,’ यादवले भने, ‘ तर अहिले भएको स्थान उपयुक्त छैन । खोला किनारमा छ ।


अझै उपयुक्त ठाउँको खोजीमा छौं । बजेट पुगेको छैन । अब थप रकम छुट्याउने तयारीमा छौं ।’ दंगिशरणले पनि वडा ६ को थपगाउँस्थित वनको जग्गामा गौशाला बनाएको छ । गौशालामा २ सय गाई रहेको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । ४ जना नियमित हेरालु छन् । नदी किनारमा चराउने र दाना ख्वाउने गरिएको छ ।


सुरुमा गाउँपालिकाका बाहिर भेटिएका पनि त्याएर राखिएको थियो । अहिले धान्न नसकेपछि गाउँपालिकाभित्रका मात्र बाँध्ने गरिएको चौधरीले बताए । ‘अहिले क्षमताभन्दा बढी भएकाले राख्न कठिन भएको छ । बाहिरका राख्न रोकेका छौं,’ उनले भने,‘संख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको हो ।’


मलमूत्रको व्यवस्थापन

गाइको मल र पिसाब बिक्री हुने भएकाले यसको संकलन गर्न सकिने सम्भावना रहेको दंगिशरणका अध्यक्ष चौधरीले बताए । ‘अहिले मल बेचेर आम्दानी भइरहेको छ । पिसाब संकलन गरी बेच्ने योजना छ,’ उनले भने, ‘पिसाब औषधिका रूपमा प्रयोग हुन्छ ।’ मलमुत्रको व्यावसायिक सम्भावना भएपछि तुलसीपुर उपमहानगरपालिकाले गौशालाको तयारी गरेको छ ।


तुलसीपुर–१३ फूलबारीस्थित तुलसी सहकारीमार्फत गौशाला सञ्चालन गर्न लागेको उपमहानगरका प्रवक्ता श्याम डाँगीले बताए । त्यसका लागि २ बिघा १८ कट्ठा जग्गा २० वर्षका लागि भाडामा लिइएको बताए । सहकारीले थप २ बिघा जग्गा किनेर तारबार गरिरहेको डाँगीले जनाए ।


‘गौशालाका लागि नगरपालिकाले सहकारीमा १५ लाखको शेयर पनि हालेको छ,’ उनले भने, ‘छाडा गाईगोरुको समस्या भएपनि केही समयपछि समाधान हुनेछ ।’ गौशाला व्यवस्थित गरी दूधदही, मल र पिसाब बिक्री गर्नुका साथै अर्गानिक खेती गर्ने योजना रहेको डाँगीले बताए । ‘छाडा गाईगोरु त्यत्तिकै पालेर सम्भव छैन । यसलाई व्यवसाय र उत्पादनसँग जोड्नुपर्छ,’ उनले भने, ‘दीर्घकालिन रूपमा छाडा गाईगोरु व्यवस्थापन गर्न र गौशाला सञ्चालनमा सघाउ पुर्‍याउन व्यावसायिक रूपमा काम गर्नैपर्छ ।’


तस्करीको चिन्ता

बेलाबेला गाईगोरु तस्करीको समस्या आउने गरेको छ । केही समयअघि ट्रकमा बर्दियाबाट पूर्वी नेपाल लैजान लागिएका गाईगोरु लमहीमा रोकिएका थिए । धार्मिक महन्थले बाटोमा ट्रक रोके । लमहीको सतबरियाबाट सिसहनियासम्म ठाउँठाउँमा अबरोध गर्दा प्रहरी र महन्थबीच झडप भयो । केही महन्थ घाइते भए । प्रहरीले बल प्रयोग गरी ट्रक पठाउन खोजे पनि सम्भव भएन ।


मुलुकका विभिन्न क्षेत्रबाट गाईगोरु संकलन गरी पाल्ने उद्देश्यले भन्दै पूर्वी नेपाल लैजाने र त्यहींबाट सीमापार गराएर बंगलादेशसम्म पुर्‍याउने गरेको पाइन्छ । यसमा ठूलै गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ । जिल्लाको राजपुरमा केही समयअघि गाईगोरु खोजिरहेको एक समूहलाई स्थानीयले रोकेका थिए । त्यसक्रममा गाईगोरु खोज्ने समूह र स्थानीयबीच झडप भएको थियो । त्यसक्रममा उक्त समूहलाई गाउँलेले लखेटेर मोटरसाइकलमा आगजनी गरिदिएका थिए ।


गाईगोरु संकलनमा महिला र बालबालिका प्रयोग गर्ने गरेको स्थानीयले बताएका छन् । गाउँगाउँमा खेतीपातीका लागि भन्दै संकलन गर्ने र जंगलमा लगेर ट्रकमा लोड गरिएको छ । गाईगोरुका विषयमा झडप हुन थालेपछि हिँडाएर गाईगोरु एक ठाउँबाट अर्को ठाउँमा लैजान रोक लगाइएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए ।


‘तस्करी गरेको कुनै प्रमाण भेटिँदैन । पाल्नकै लागि लैजान थालिएको कागजात हुन्छ । हामीले प्रमाणका आधारमा छोड्न खोज्दा पनि सडकमा अबरोध हुन थाल्यो,’ उनले भने, ‘हिँडाएर लैजान थाल्दा झन् झडप र असुरक्षा हुन थाल्यो । त्यसकारण हिडाएर आवतजावत गराउन रोकेका छौं । गाडीमा पनि प्रमाणविना ओसारपसार गर्न दिएका छैनौं ।’


गिद्ध रेस्टुरेन्ट र वृद्धाश्रम

बुढा गाईगोरु व्यवस्थापनसँगै गिद्ध संरक्षणका लागि राप्ती गाउँपालिकाको लालमटिया र तुलसीपुर उपमहानगरपालिकाको बिजौरीमा गिद्ध रेस्टुरेन्ट संचालन गरिएका छन् । जसमा गाईगोरुको वृद्धाश्रम छ । नमरुन्जेल गाईगोरु वृद्धाश्रममा राखेर पालिन्छ ।


मरेपछि गिद्धको आहारा हुन्छन् । यसले एकातिर छाडा गाईगोरु व्यवस्थापन भएको छ भने अर्कोतिर गिद्ध संरक्षणमा टेवा पुगेको छ । पानी अभाव, आर्थिक अभाव, स्थानीयले दुर्गन्ध फैलियो भनेर गर्ने बिरोध जस्ता कारणले केही समस्या भए पनि नियमित वृद्धाश्रम चलाइरहेको बिजौरीमा सञ्चालन गरिरहेका पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले बताए ।


वैदिक विधि गाह्रो

मानिसहरू दूध खाँदासम्म गाई पाल्ने त्यसपछि सडकमा छोडिदिने गर्छन् । जोतिने क्षमता हुन्जेल गोरु पाल्छन्, त्यसपछि छोडिदिन्छन् । यसले छाडा गाईगोरुको समस्या बढाएको छ ।


कतिले गाईगोरु तस्करी गरेका छन् तर यहाँको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गद्वारी आश्रमले भने वैदिक विधि संरक्षणका लागि भन्दै वर्षौंदेखि सयौं गाईहरू पाल्दै आएको छ । अहिले दाङ र प्युठानमा ७ सय बढी गाईहरू पालिएको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरी अधिकारीले बताए ।


वैदिक बिधि अनुसार गौमाताको रक्षा गर्न, पूजापाठका लागि दूध, दही, घिउ, गहुँत र लिपपोतका लागि गोबर जुटाउन गाई पाल्ने गरिएको छ । गाईगोरुको पराल र खर्च जुटाउन आश्रमको नाममा दाङमा ९ सय ९८ बिघा ४ कटठा ७ धुर र प्युठानको स्वर्गद्वारीमा २६ हजार रोपनी जग्गा छ । जग्गा बिभिन्न व्यक्तीले कब्जा गर्दा अहिले गाईलाई पराल पाउन पनि समस्या भएको अधिकारीले बताए ।


‘पराल भिक्षा माग्नुपर्ने अबस्था आएको छ । गाईलाई दाना जुटाउन समस्या भएको छ,’ उनले भने,‘जग्गा उपभोग गर्न नपाउँदा गाई पाल्ने खर्च अभाव भैरहेको छ ।’


दुर्घटना बढ्दै

स्थानीय सुनिता लम्साल स्कुटरमा नेपालगन्जबाट कोहलपुर आइरहेकी थिइन । सडकमा गाई देखेपछि झयाप्प ब्रेक लगाइन् । स्कुटर हुत्तियो । उनको खुट्टामो चोट लाग्यो । ‘चौपाया जोगाउदा झन्डै ज्यान गएन’, उनले भनिन, ‘गाईबस्तुका कारण सडक असुरक्षित बन्दैछ ।’ बैजनाथ गाउपालिकाकी श्रुति चौधरी चौपायाका कारण दुर्घटनामा परिन् । बैजनाथ–६ का भूपेन्द्र खडका पूर्वपश्चिम राजमार्गमा यात्रा गरिरहेका थिए ।


मोटरसाइकलमा सवार उनी कोहलपुरमा चौपायासँग ठोक्किए । टाउँकोमा गम्भीर चोट लागेका उनी लामो समय उपचार गरेपछि तंग्रिएका छन् । ट्राफिक कार्यालय बांकेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा चौपायाका कारण भएका दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । चौपायाका कारण भएका घेरै घटना कार्यालयमा दर्ता नभएको प्रहरी निरिक्षक हिरेन्द्र रोकायले बताए । नेपालगन्ज उपमहानगरपालिकाले चौपाया नियन्त्रणमा कान्जी हाउ सञ्चालनमा ल्याएकोछ ।


डेड सय गाई, गोरु, गघा जस्ता जनावर पाल्दै आएको उपमहानगरका प्रशासकीय प्रमुख हरि प्याकुरेलले बताए । चौपाया खुला नछोड्न आग्रहसहित माइकिङ समेत गरेको उनले सुनाए । भारतको रुपैडिया खुला सिमाना हुदै गाई, गोरु नेपालगन्ज आउने संख्या बढै गएकाले नियन्त्रण गर्न चुनौति थपिएको प्याकुरेलले बताए । ‘सिमा हुदै भारतका सयौ गाई गोरु नेपालगञ्ज आउछन’, उनले भने, ‘संख्या बढो छ, नियन्त्रण गर्न चुनौती छ ।’

प्रकाशित : श्रावण ४, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?