भेरी–बबई डाइभर्सनबाट बाहिरियो कोभेक

कलेन्द्र सेजुवाल

सुर्खेत — भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्षअघि सम्पन्न गरेको चिनियाँ कम्पनी कोभेक दोस्रो चरणमा बाहिरिएको छ । सिभिल निर्माणतर्फ दोस्रो चरणको काम चिनियाँ कम्पनी ग्वाङ्डङ युन्टिनले पाएको छ । उसले नेपाली कम्पनी रमनसँगको साझेदारीमा ठेक्का पाएको हो । 

भेरी–बबई डाइभर्सनबाट बाहिरियो कोभेक

ग्वाङ्डङ–रमनले ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले शुक्रबार ग्वाङ्डङ युन्टिन–रमन छनोट भएको जानकारी दिँदै आशयपत्रको सूचना प्रकाशित गरेको छ । आयोजना कार्यालयका सूचना अधिकारी एवं सिनियर डिभिजनल हाइड्रोलोजिस्ट कृष्णप्रसाद उपाध्यायले दाबी विरोधका लागि ७ दिने म्याद दिइएको र त्यसपछि १५ दिनभित्र सम्झौताका लागि सूचना प्रकाशित गरिने जानकारी दिए ।


दोस्रो चरणको कामका लागि करिब एक दर्जन अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कम्पनीसँगको साझेदारीमा आवेदन दिएकामा ५ कम्पनी प्रतिस्पर्धाका लागि योग्यताको सूचीमा परेका थिए । तीमध्ये चार चिनियाँ र एक भारतीय कम्पनी छन् । कम्पनी छनोट प्रक्रियामा सामेल आयोजनाका डिभिजनल इन्जिनियर तुलसी भट्टराईका अनुसार सबैभन्दा बढी रकम कबोल गरेर नान्टोङ–आशिष जेभी पाँचौं नम्बरमा पर्‍यो ।


नेपाली कम्पनी टुन्डीसँगको साझेदारीमा प्रतिस्पर्धा गरेको कोभेक–स्वेव यसपटक चौथो नम्बरमा परेको छ । त्यस्तै नेपाली निर्माण कम्पनी केएसएनएससँग साझेदारी गर्दै प्रतिस्पर्धा गरेको चिनियाँ कम्पनी सिनोहाइड्रो तेस्रो नम्बरमा परेको छ । एकमात्र भारतीय कम्पनी पटेलले नेपालको कालिका कन्स्ट्रक्सनसँगको साझेदारीमा टेन्डर हालेको थियो । पटेल–कालिका जेभी दोस्रो नम्बरमा परेको छ ।


निर्माण कम्पनीले सम्झौता भएको ४ वर्षभित्र काम सम्पन्न गरिसक्नुपर्नेछ । आर्थिक वर्ष २०७९/८० भित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने गरी सम्झौता गरिने सूचना अधिकारी उपाध्यायले बताए । करिब ३६ अर्ब लागतको भेरी–बबई डाइभर्सनमा सबैभन्दा बढी (४० प्रतिशत) वित्तीय भार सिभिल निर्माणअन्तर्गत छ । ३५ प्रतिशत वित्तीय भार ओगटेको टनेल निर्माणको काम भने कोभेकले सम्पन्न गरिसकेको छ । इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल निर्माण तथा जडानका लागि पनि प्रक्रिया सुरु भइसकेको उपाध्यायले जानकारी दिए ।


ठेक्कामा जोखिम

दोस्रो चरणमा सिभिल निर्माणतर्फ हेडवर्क्स, सर्ज साफ्ट र पावरहाउस निर्माणका लागि आयोजनाले भ्याटसहित करिब ९ अर्ब २३ करोडको लागत अनुमान गरी टेन्डर गरेको थियो । ग्वाङ्डङ युन्टिन–रमनले इस्टिमेट रकमको झन्डै ३४ प्रतिशत कममा ठेक्का प्राप्त गरेको छ ।


ग्वाङ्डङ नेपालका लागि नयाँ कम्पनी हो । ऊ नेपालमा आफैं आएर काम गर्नेमा आयोजनाकै कतिपय कर्मचारीको आशंका छ । ‘ग्वाङ्डङले नेपाली साझेदार रमनमार्फत काम गर्ने नीति बनायो भने भेरी–बबईमा ठूलो धोका हुन सक्छ,’ एक कर्मचारीले भने, ‘अत्यन्त चुनौतीपूर्ण काम रहेको भेरी–बबईमा यति कम अंकमा ठेक्का बोल्नुले नै हामीलाई झस्काएको छ ।’ ठेक्का प्रक्रियामा पनि ग्वाङ्डङ नेपाल नआई रमनले सबै काम गरेको उनले बताए ।


टेन्डर प्रक्रियामा विदेशी कम्पनीको साझेदार बने पनि नेपाली कम्पनीसँग जलविद्युत् क्षेत्रमा अनुभव कम छ । ग्वाङ्डङ युन्टिनको साझेदार रमनले यो क्षेत्रमा काम गरेको छैन । स्वयं ग्वाङ्डङ पनि चीनमा रियल स्टेटमा अनुभवी कम्पनी मानिन्छ ।


खरिद ऐनको सातौं संशोधनले यस्ता ठेक्कामा नेपाली साझेदार राख्दा मूल्यांकनमा ५ नम्बर बढी पाउने प्रावधान रहेकाले भेरी–बबईको दोस्रो चरणअन्तर्गत काममा सबै विदेशी कम्पनीले नेपाली साझेदार राखेका थिए । ‘ठेक्का पाउन नेपाली कम्पनीसँग साझेदारी गर्नु राम्रो हो, काम पनि आफैं आएर नगर्दासम्म सम्भव छैन,’ ती कर्मचारीले भने, ‘भेरी–बबईको दोस्रो चरणमा ग्वाङ्डङ युन्टिनले कोभेकले झैं काम गर्नेमा हामी विश्वस्त छौं ।’


टीबीएमको सदुपयोग कसरी ?

भेरी–बबईमा निर्धारित समयभन्दा एक वर्षअगावै काम सकेर प्रशंसा कमाएको चिनियाँ कम्पनी कोभेकले दोस्रो चरणको कामका लागि छनोट नभए पनि सुरुङमार्ग निर्माणमा प्रयोग भएको टनेल बोरिङ मेसिन (टीबीएम) नेपालमै अन्यत्र कहीँ प्रयोग गर्ने चाहना राखेको छ । कम्पनीका नेपाल प्रतिनिधि उज्ज्वल पौडेलले सडक, खानेपानी, जलविद्युत्लगायत क्षेत्रमा टीबीएमको प्रयोग गर्न सकिने बताए ।


‘हामीले यो टीबीएमको कहाँ, कसरी सदुपयोग गर्ने भन्नेबारे सोचिरहेका छौं,’ उनले भने, ‘सरकारले पनि नेपालमा आएको अत्याधुनिक उपकरणबाट कसरी लाभ लिन सकिन्छ भन्नेबारे योजना बनाइरहेको होला ।’ भेरी–बबईमार्फत पहिलोपटक नेपाल आएको कोभेकले नेपालमै जलविद्युत्, सडकलगायत क्षेत्रमा काम गर्ने योजना बनाइरहेको उनले बताए ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?