कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाढीपीडित भन्छन्– 'यस्तो दशा भोगेका थिएनौं’

‘त्यो रात सम्झँदा अहिले पनि डर लाग्छ, घरको खाँबो समातेर ज्यान जोगायौं ।’ 
शिव पुरी

बन्जाराहा, रौतहट — राति झन्डै एक बजेको थियो । सिमसिम पानी बर्सिरहेको थियो । घर गर्लम्मै ढलेर थिचेपछि उनीहरू निसास्सिए । चिच्याएर गुहार मागे । गाउँमा ठूलै होहल्ला भयो । छिमेकी र केहीछिनमा सुरक्षाकर्मी पुगेर पीडितको उद्धार गरे । 

बाढीपीडित भन्छन्– 'यस्तो दशा भोगेका थिएनौं’

ईशनाथ नगरपालिका–१ बन्जाराहाका रामनारायण साहले त्यस रातको घटना सुनाउँदा आँसु थाम्न सकेनन् । घरमा उनीसहित ३ छोरा, एक छोरी र श्रीमती लालवतीदेवी थिए । इँटाको पर्खाल रहेको घर लगातारको बर्खाले ढालिदियो । ‘हामी चिच्यायौं । धेरै करायौं । हारगुहार माग्यौं,’ साह भन्छन्, ‘भगवान्ले नै बचाइदिएका हुन् । यस्तो दशा कहिल्यै भोगेका थिएनौं ।’


उनको घाँटी र विभिन्न भागमा चोट लागेको छ । राम्ररी बस्न सक्दिनन् । घरसँगै अन्नपात पनि सबै नासिएको छ । परिवारै अहिले छिमेकी सत्यनारायण साहको घरमा आश्रय लिइरहेको छ । लालबकैया र झाझा नदी पसेपछि ईशानाथ डुबानमा पर्‍यो । दक्षिणतर्फ भारतले एकतर्फी लगाएको बाँधले निकास बन्द गरिदिँदा थप समस्या भएको हो । डुबानबाट बच्न अधिकांशले तीन दिन सडकमै रात बिताए । अहिले स्थिति सामान्य बन्दै छ । मानिसहरू घर सफा गर्न, लत्ताकपडा र अन्नपात सुकाउन थालेका छन् ।


गाउँमा शनिबार गैरसरकारी संस्थाहरूले ७ सय परिवारलाई राहत वितरण गरेका छन् । राहतले पीडितलाई धेरै सहयोग पुगेको मेयर सन्तोष मेहताले बताए । ‘एक हजार ५ सयभन्दा बढी घर डुबानमा परेका छन्,’ उनले भने, ‘डुबानपछि के गर्ने भन्ने सोच्न सक्ने अवस्था थिएन । अहिले अवस्था विस्तारै सामान्य बन्दै गएको छ ।’ सबैभन्दा बढी क्षति १ नम्बर वडामा भएको छ । ‘त्यो रात सम्झँदा अहिले पनि डर लाग्छ,’ रामकली देवीले भनिन्, ‘घरको खाँबो समातेर ज्यान जोगायौं ।’


विस्थापित परिवारलाई तत्काल नगरपालिकाले राहत दिएको थियो । डुबानपछि बाटो बिग्रिएकाले तीन दिनसम्म यहाँ बाहिरबाट कोही आउन सकेन । पहिलोपटक सुरक्षा अधिकारीहरू सदरमुकाम गौरबाट डुंगाको मद्दतमा पुगेका थिए । अहिले पनि केही घर डुबानमा छन् । बाढीले सबैभन्दा बढी क्षति ईशनाथ र दुर्गाभगवती गाउँपालिकामा भएको थियो । राजधानी बसेका संघीय सरकारका मन्त्रीहरू कोही पनि नआएको भन्दै पीडितहरू आक्रोशित छन् ।


डुबान क्षेत्रमा केसी

बाढीपीडितलाई स्वास्थ्योपचार दिन डा. गोविन्द केसी बन्जाराहा आएका छन् । उनी दुई दिनदेखि पीडितको उपचारमा संलग्न छन् । बन्जाराहा गाउँमै शिविर सञ्चालन गरेका छन् । बाढी सुके पनि फोहोर र दूषित पानीले महामारी फैलन सक्ने भन्दै स्थानीय त्रासमा थिए । धेरैजसोमा रुघाखोकी पाइएको केसीले बताए । ‘झाडापखाला र छालाको समस्या पनि धेरैमा देखें,’ उनले भने, ‘सबैले आफ्नो स्वास्थ्यप्रति हेरचाह गर्नुपर्छ । विशुद्धीकरण गरेको पानी पिउनुपर्छ ।’ उनले जथाभाबी दिसापिसाब नगर्न अनुरोध गरे ।


अवस्था सामान्य बन्दै

बाढी घटेसँगै अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए । ‘मानिस विस्तारै आफ्नो घर फर्कन थालेका छन्,’ उनले भने, ‘स्थिति सामान्य बन्दै गएको छ । पहिलेको अवस्थामा फर्कन केही समय लाग्छ ।’

प्रकाशित : श्रावण ५, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?