दिवासेवा केन्द्रमा रमाउँदै वृद्धवृद्धा

वीरेन्द्र केसी

गुल्मी — आमा तपाईंको उमेर कति ? यहाँको धुर्कोट अमराइकी अम्बिका विकसँग सबैले यस्तै जिज्ञासा राख्छन् । विक १ सय ३ वर्ष पुगिन् । त्यसैले उनीसित लामो आयु कसरी जिउने भनेर धेरैले जिज्ञासा राख्छन् । ‘उमेरमा अलि मिलाएर टन्न खानुपर्छ नि,’ अम्बिका जवाफ दिन्छिन् । गुन्यू, चोली र पटुकीमा सजिएकी उनको कपाल सेतै छ । अनुहारमा मुजा परेका छन् । तर बोली जोसिलो छ । 

दिवासेवा केन्द्रमा रमाउँदै वृद्धवृद्धा

घरमा बस्दा नातेदार, छिमेकी र इष्टमित्र आउँथे । कसैले चासो दिन्थेनन । घरबाट १५ मिनेट पैदल हिँडेर धुर्कोट गाउँपालिका–५ मा सञ्चालन गरिएको दिवा सेवा केन्द्रमा पुग्छिन् । लौरो टेक्दै बिहान १० बजे पुग्छिन । साँझ ४ बजे घर फर्किन्छिन् । बिहान बेलुका रेडियोमा समाचार सुन्छिन् । बुधबार उनको बिदा हुन्छ ।


दिवा केन्द्रमा ३० जनाभन्दा बढी ज्येष्ठ नागरिक भेला हुन्छन् । त्यहाँ भेला हुने मध्ये विक जेठी हुन् । उनलाई ठुलो रोग छैन् । सरोकारवाला दैनिक केन्द्र अवलोकन गर्न आउँछन् । उनीहरू सबैभन्दा ‘जेठो को छ ?’ भनेर सोध्छन् । सहयोगीले विकसँग चिनजान गरिदिन्छन् । उनको उमेर र जोश देखेपछि दंग पर्दै सोध्छन, ‘कसरी धेरै वर्ष बाँच्न सकिन्छ ?


बिक सेवा केन्द्रमा भजन गाउँछिन् । आफूले नसके पनि उठेर यसरी नाच्नुपर्छ भनेर हौंस्याउँछिन् । ‘काम गर्न नसक्ने भएपछि मनमा अनेक चिन्ता, ताप हुन्थ्यो, यहाँ आएपछि सबै हटेको छ,’ उनले भनिन्, ‘जवानीमा जस्तो नाच्न नजाने पनि दुई/चार फन्का घुम्छु । रहर पूरा हुन्छ ।’ आफूजस्तै बुढाबुढी लेख्दा उनी फुरुङ्ग हुन्छिन् ।


‘छोराहरू ठूला भए, नातिनतिना लेखपढ गर्छन्, आफू एक्लै बस्दा दिन काटन गार्‍हो हुन्थ्यो, यहाँ आएपछि सबै उस्तै उमेरका कुरा गर्न पाइएकी छुँ,’ उनले भनिन, ‘जवानीमा कति भारी घाँस काटिन्थ्यो, कतिवटा डिँंगा पालियो, के–के गरियो , पुराना कुरा गर्दागर्दै दिन बितेको पत्तो हुँदैन ।’ सबैले अनुभव र रमाइला पल साटासाट गर्छन् । ‘रमाइला कुराले हाँसिरहन्छौं, मन खुसी भएपछि अझै केही वर्ष बाँचिन्छ भन्ने आशा पलाएको छ,’ उनले भनिन् ।


अमराईका ८३ वर्षीय झविलाल सुनारलाई भजन गाउँने, नाच्ने र बजाउने गर्दा बेग्लै आनन्द लागेको छ । बुढेसकालमा नाच्ने गाउने चाँजोपाँजो गाउँपालिकाले दिवा सेवा केन्द्र स्थापना गरेर जुराएको हो । बिहान ११ देखि बेलुका ४ बजेसम्म नाच्ने, गाउने र मनोरञ्जन गर्नु उनको दैनिकी हो । ‘भजनमा नाच्ने रहर बल्ल पूरा भयो,’ उनले भने, ‘म कसरी नाच्छु मलाई थाहा हुँदैन । अरू नाचेको मैले हेर्छु, क्या रमाइलो लाग्छ ।’ दिउँसो १ बजे चिया र साढे २ बजे खाजा खान पाइन्छ । प्रत्येक दिन भजन र धार्मिक कार्यक्रम हुन्छन् ।


‘नाँच्दा थकाइ लाग्छ,’ उनले भने, ‘शरीर हलुका हुन्छ ।’ सेवा केन्द्रमा नयाँ ज्ञानका कुरा सुन्न पाइने उनले बताए । ‘घरमा बस्दा शरीर भारी हुने, अनेक कुराको सोचाइ आउँथ्यो,’ उनले भने, ‘ बूढो भइयो, हिँडडुल गर्न नसक्दा छोराले हेर्लान कि नहेर्लान, भन्ने चिन्ताले पिरोल्थ्यिो ।’ केन्द्रमा आएपछि त्यसको कुनै चिन्ता छैन । उनी १५ मिनेट पैदल हिँडेर केन्द्रमा आउजाउ गर्छन् ।


सिमलचौरका ८४ वर्षीय टोपला पराजुलीका छोरा छैनन् । छोरी ज्वाइँसँग बस्छिन् । केन्द्रमा आएर भजनमा नाच्ने गरेको सुनाइन् । ‘घरमा छोरी–ज्वाइँबाट धेरै माया पाएकी छु,’ उनले भनिन्, ‘तर उनीहरू काममा व्यस्त भएकाले गफिन फुर्सद हुँदैन । यहाँ आएपछि त जति मन लाग्यो त्यति गफ गर्न पाइएको छ, रमाइला गफ गर्दा साह्रै हाँसो लाग्छ, रोग नै भाग्छ जस्तो लागेको छ ।’ केन्द्रमा हाँसेर समय बित्ने गर्छ । आधा घण्टा पैदल हिँडेर आउजाउ गर्छिन् ।


‘घरमा बस्दाबस्दा हैरान लाग्ने, यहाँ आएपछि त नयाँ जोश हुन्छ,’ उनले भनिन । वृद्धवृद्धाको भावना बुझेर गाउँपालिकाले केन्द्र सञ्चालन गरेकोमा खुसी छन् । ८२ वर्षीय झविकला भण्डारीले गीत गाएर रमाइलो गर्छिन् । ‘चुनावताका धेरैले भोट माग्थे, जितेर गएपछि मुख देख्न पाइँदैनथ्यो,’ उनले भनिन्, ‘हाम्रै पालिकाका जनप्रतिनिधिले सेवा केन्द्र खोलेर रमाइलो गराइदिए ।’ उनका अनुसार घरमा एक्लै बस्दा अनेक कुरा मनमा खेल्छन् ।


‘तनाव हुन्छ, खान मन लाग्दैन तर, यहाँ आएपनि केही चिन्ता छैन, भुल्ने बाटो भएको छ,’ उनले भनिन । सेवा केन्द्र वृद्धवृद्धाका लागि धर्मथलो जस्तै भएको छ । बुढेसकालमा धर्मतिर जोड हुन्छ, यहाँ सबै पाइएको छ । ‘हाम्रो पालमा घरमा धेरै गाईभैंसी, बाख्रापाल्ने, खेती धेरै गर्ने चलन थियो, अहिले परिवर्तन भएको छ, हामीले जस्तो घाँसपात गरेर अचेलका दुःख गर्दैनन्,’ उनले भनिन् ।


गाउँपालिकाले ५ लाख रुपैयाँ खर्च गरेर भवन निर्माण गरिदिएको छ । प्रदेश सरकारले खाजाको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकका लागि यो नमुना काम बनेको छ । भजनकीर्तन सहित बाध्यबादनका सामग्री छन् । ‘दलित, जनजाती र बाहुन क्षेत्री सबै

एकै ठाउँमा बसेर खाजा खाने र भजनकीर्तनमा नाच्ने गर्दा ज्येष्ठ नागरिकको एकता देखिएको छ, जातीय विभेद छैन,’ गाउँपालिका उपाध्यक्ष शिवबहादुर केसीले भने ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?