गोरेटोसमेत बगेपछि ढुवानी बन्द
संखुवासभा — पहिरोले ठाउँठाउँमा सडक भत्काउँदा उत्तरी भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको छ । महिना दिन बित्दा पनि सडक नखुलेपछि स्थानीय खाद्यान्न माग्दै सदरमुकाम खाँदबारी झरेका छन् ।
असार २ को पहिरोले सडक र गोरेटोसमेत बगाउँदा सदरमुकामसँग गाउँपालिकाको यातायात सम्पर्क टुटेको छ । स्थानीयले वैकल्पिक बाटो खुलाएर खाद्यान्न पुर्याउन माग गरेका छन् । उत्तरी क्षेत्रका पावाखोला, हटिया, चेपुवा र किमाथांकामा दैनिक उपभोग्य सामग्रीको अभाव छ ।
खच्चड र भरियाबाट समेत सामान ढुवानी गर्न सकिने अवस्था नरहेको भोटखोला–२ च्याम्ताङका वाङछिरिङ भोटेले बताए । व्यापारीले वर्षाअघि भण्डारण गरिएको सामानको समेत मूल्य बढाएपछि स्थानीय झनै मारमा छन् ।
खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोसी–ल्हासा राजमार्गको मकालु गाउँपालिकाका फ्याक्सिन्दा र नयाँबस्तीमा एक महिनाअघि सडक थुनिएको हो । भोटखोला सदरमुकामबाट १ सय ६२ किलोमिटर उत्तरमा पर्छ । ‘हिउँदमा गोलाबजारसम्म सीधै यातायात सञ्चालन भइरहेको थियो,’ वाङछिरिङले भने, ‘पहिरोले सडक बगाएपछि अहिले ठप्प छ ।’ खाद्यान्न संकट परेपछि सदरमुकाम झरेर सडक कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई समस्याबारे जानकारी गराएको उनले बताए । भर्खरै मात्र राजमार्गले छोएको भोटखोलामा गोलाबजारसम्म यातायात चल्न थालेको थियो ।
उत्तरी भोटखोला क्षेत्रमा कोदो र आलुमात्र उत्पादन हुन्छ । त्यसले तीन महिना पनि नधान्ने स्थानीय बताउँछन् । यहाँ करिब ५ हजार बासिन्दा छन् । उनीहरूले चाँडै चामल पठाउन माग गरेका छन् । पैदल उक्त क्षेत्र पुग्न खाँदबारीबाट छिटोमा पनि तीन दिन लाग्छ । प्रजिअ जीवनप्रसाद दुलाल वैकल्पिक व्यवस्था गरेर चाँडै सडक खुलाउने प्रयास गरिरहेको बताउँछन् । ‘सडक खुलाउन सबै तहलाई सक्रिय पारिसकेका छौं,’ उनले भने ।’
भोटखोला क्षेत्रमा सहज रूपमा खाद्यान्न पुर्याउन गाउँपालिका केन्द्र हटियामा खाद्य डिपो छ । तर यहाँ न कर्मचारी बस्छन् न चामल छ । भोटखोलाका लागि पाँच सय क्वीन्टल चामलको कोटा थियो । यसैअनुसार गत पुसमा ठेकेदारमार्फत ढुवानी गरेर वितरण गरिएको खाद्य संस्थान खाँदबारीका निमित्त प्रमुख धर्मदेवप्रसाद यादवले जानकारी दिए ।
डिपोमा भएको चामल यसअघि नै वितरण गरिसकिएको उनले बताए । संस्थानका एक जना कार्यालय प्रमुख र कार्यालय सहयोगी मात्रै सदरमुकाम खाँदबारीमा बस्ने गरेका छन् । आपूर्ति सहज बनाउन र अवरुद्ध सडक खुलाउन समन्वय भइरहेको भोटखोलाका अध्यक्ष तेम्बा भोटेले बताए ।
प्रकाशित : श्रावण ६, २०७६ ०८:२६