पहिरोले घेरियो गाउँ

गतवर्षको पहिरोले खानेपानीको मुहान बगाएपछि स्थानीयले हिउँदमा मर्मत गरेका थिए । त्यसलाई यस वर्षको पहिरोले बगाएको छ ।
आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिका ३ अर्खले गाउँ पहिरोको उच्च जोखिममा परेको छ । कुनै पनि समय गाउँमा पहिरो जान सक्ने भन्दै स्थानीय त्रस्त छन् । 

पहिरोले स्थानीय विस्थापित हुन थालेका छन् । केही वर्षयता स्थानीय धनराज गुरुङ बेंसीसहर बस्न थालेका छन् । गतवर्ष भदौ २७ गतेको भीषण पहिरोपछि अर्का स्थानीय टेकबहादुर गुरुङ पनि बेंसीसहर झरेका छन् । पानी पर्नेबित्तिकै निदाउन नसकिने पहिरो छेवैको घरका ६५ वर्षीय श्रीप्रसाद गुरुङले बताए । ‘रातभरि के र कसो गरौं हुन्छ । घरबाहिर, भित्र गर्दैमा रात कटेको छ,’ उनले भने, ‘पहिरो घरछेउमै छ । पानी परेपछि बग्न थाल्छ । कुन बेला बगाउला भन्ने डर ।’

पहिरोले जोखिममा पारेको घरबाहेक अन्यत्र बस्ने उपाय नरहेको स्थानीय कास्बिरी गुरुङ बताउँछन् । ‘जति पानी पर्छ, हामीलाई उत्तिकै डर लाग्छ,’ उनले भनिन् । गाउँमा १६ घर रहेको पञ्चकन्या देवी युवा क्लबका अध्यक्ष विनोद गुरुङले बताए । यीमध्ये २ घरपरिवार बेंसीसहर बस्छन् । ‘पहिरोले घेरिएर बसीखानु छैन । पानी पर्न थालेपछि हामी डाँडाका चौरमा जान्छौं,’ उनले भने । उनकाअनुसार जनचेतना प्रावि पनि जोखिममा छ ।

पहिरोले दायाँबायाँ, माथि र तलबाट च्याप्दै ल्याएको स्थानीय जितबहादुर गुरुङ बताउँछन् । गतवर्षको पहिरोले खानेपानीको मुहान बगाएपछि स्थानीयले हिउँदमा मर्मत गरेका थिए । त्यसलाई यस वर्षको पहिरोले बगाइसक्यो । पुनः सामान्य ढंगबाट मर्मत गरी खानेपानी ल्याइएको उनले बताए । बाढीपहिरो गए तत्काल सर्न गाउँलेलाई १५ वटा पाल बाँडिएको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले जानकारी दिए । उक्त पालले गाउँको दायाँपट्टि पर्ने माथिल्लो चौरमा गोठ निर्माण गरिएको छ । पानी पर्नेबित्तिकैसुरक्षित हुन स्थानीय त्यहाँ जाने गरेका छन् ।

२०५८ मा गाउँ वरपर ठूलो पहिरो गएको थियो । पहिलेदेखि पहिरो खस्ने ठाउँ भएकाले स्थानीय स्थानान्तरण हुन खोजिरहेका छन् । अहिले गाउँमाथि करिब ५ सय मिटरबाट छेउछाउ पहिरो झरिरहेको स्थानीय बताउँछन् । पहिरो निरन्तर झरिरहेकाले जोखिम बढ्दै गएको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको भनाइ छ ।

‘अर्खले गाउँ उच्च जोखिममा छ । स्थानान्तरण गर्नुपर्नेछ,’ उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँलेलाई स्थानान्तरणका लागि निर्णयसहितको आग्रह सरकारलाई पठाएका छौं ।’ यो गाउँमा हिउँदमा समेत सुक्खा पहिरो जान सक्ने उनले बताए ।

प्रकाशित : श्रावण ६, २०७६ ०८:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गोरेटोसमेत बगेपछि ढुवानी बन्द

दीपेन्द्र शाक्य

संखुवासभा — पहिरोले ठाउँठाउँमा सडक भत्काउँदा उत्तरी भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको छ । महिना दिन बित्दा पनि सडक नखुलेपछि स्थानीय खाद्यान्न माग्दै सदरमुकाम खाँदबारी झरेका छन् ।

असार २ को पहिरोले सडक र गोरेटोसमेत बगाउँदा सदरमुकामसँग गाउँपालिकाको यातायात सम्पर्क टुटेको छ । स्थानीयले वैकल्पिक बाटो खुलाएर खाद्यान्न पुर्‍याउन माग गरेका छन् । उत्तरी क्षेत्रका पावाखोला, हटिया, चेपुवा र किमाथांकामा दैनिक उपभोग्य सामग्रीको अभाव छ ।

खच्चड र भरियाबाट समेत सामान ढुवानी गर्न सकिने अवस्था नरहेको भोटखोला–२ च्याम्ताङका वाङछिरिङ भोटेले बताए । व्यापारीले वर्षाअघि भण्डारण गरिएको सामानको समेत मूल्य बढाएपछि स्थानीय झनै मारमा छन् ।

खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोसी–ल्हासा राजमार्गको मकालु गाउँपालिकाका फ्याक्सिन्दा र नयाँबस्तीमा एक महिनाअघि सडक थुनिएको हो । भोटखोला सदरमुकामबाट १ सय ६२ किलोमिटर उत्तरमा पर्छ । ‘हिउँदमा गोलाबजारसम्म सीधै यातायात सञ्चालन भइरहेको थियो,’ वाङछिरिङले भने, ‘पहिरोले सडक बगाएपछि अहिले ठप्प छ ।’ खाद्यान्न संकट परेपछि सदरमुकाम झरेर सडक कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई समस्याबारे जानकारी गराएको उनले बताए । भर्खरै मात्र राजमार्गले छोएको भोटखोलामागोलाबजारसम्म यातायात चल्न थालेको थियो ।

उत्तरी भोटखोला क्षेत्रमा कोदो र आलुमात्र उत्पादन हुन्छ । त्यसले तीन महिना पनि नधान्ने स्थानीय बताउँछन् । यहाँ करिब ५ हजार बासिन्दा छन् । उनीहरूले चाँडै चामल पठाउन माग गरेका छन् । पैदल उक्त क्षेत्र पुग्न खाँदबारीबाट छिटोमा पनि तीन दिन लाग्छ । प्रजिअ जीवनप्रसाद दुलाल वैकल्पिक व्यवस्था गरेर चाँडै सडक खुलाउने प्रयास गरिरहेको बताउँछन् । ‘सडक खुलाउन सबै तहलाई सक्रिय पारिसकेका छौं,’ उनले भने ।’

भोटखोला क्षेत्रमा सहज रूपमा खाद्यान्न पुर्‍याउन गाउँपालिका केन्द्र हटियामा खाद्य डिपो छ । तर यहाँ न कर्मचारी बस्छन् न चामल छ । भोटखोलाका लागि पाँच सय क्वीन्टल चामलको कोटा थियो । यसैअनुसार गत पुसमा ठेकेदारमार्फत ढुवानी गरेर वितरण गरिएको खाद्य संस्थान खाँदबारीका निमित्त प्रमुख धर्मदेवप्रसाद यादवले जानकारी दिए ।

डिपोमा भएको चामल यसअघि नै वितरण गरिसकिएको उनले बताए । संस्थानका एक जना कार्यालय प्रमुख र कार्यालय सहयोगी मात्रै सदरमुकाम खाँदबारीमा बस्ने गरेका छन् । आपूर्ति सहज बनाउन र अवरुद्ध सडक खुलाउन समन्वय भइरहेको भोटखोलाका अध्यक्ष तेम्बा भोटेले बताए ।

प्रकाशित : श्रावण ६, २०७६ ०८:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT