१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लागू पदार्थको लतमा चालकहरू

हरिहरसिंह राठौर

धादिङ — पृथ्वीराजमार्गमा गुड्ने सार्वजनिक यातायातका चालकले लागू पदार्थ सेवन गर्ने गरेको पाइएको छ । मादक पदार्थ सेवन गरेको यात्रु, गाडी धनी तथा प्रहरीले थाहा पाउने भएपछि चालक र सह-चालक चरेस र गाँजाको विकल्पमा लागेका हुन् । जिल्ला प्रहरी धादिङले गत अर्थिक वर्षमा राजमार्गका छेउछाउमा नास्ता पसल गरी बसेका १४ जना व्यक्तिहरुलाई पक्राउ गरी लागू पदार्थ बेचविखनमा मुद्धा चलाएको थियो । 

लागू पदार्थको लतमा चालकहरू

प्रहरीले पृथ्वीराजमार्गमा पर्ने गल्छी, गजुरी, बेनीघाट, थाक्रेका विभिन्न चिया पसल, सार्वजनिक शौचालयसँग जोडिएका खाजा/खाना खाने होटल, घुम्ती पसलबाट स साना पोका बनाएर बेच्न राखिएका ३ सय देखि ६ सय ग्राम गाँजा बरामद गरेको थियो । पक्राउ परेकाले चरेस र गाँजा भरेर राखिएका चुरोटहरु युवा चालक र सह-चालकलाई सुटुक्क बेच्ने गरेको प्रहरीसामु बयान दिएका जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले बताए । नास्ता खान राकेको बेला संकेतमै लागू पदार्थ किनबेच हुने गरेका उनी बताउँछन् । लागू पदार्थ भरिएको चूरोट प्रति खिल्ली एक सयदेखि १ सय २० रुपैयाँ सम्ममा बिक्री हुने गरेको पाइएको छ ।


’चालकले ढुवानी साधनहरुमा लागू पदार्थ ओसारपसार मात्रै हैन आफैं सेवन गरेर अरु सवारीसाधनलाई ठक्कर दिने, यात्रुको अंगभंग गराएउने समेत गरेका छन् । यसै विरुद्ध धादिङ जिल्ला अदालतमा मुद्धा समेत परेको छ,‘ गजुरीस्थित जिल्ला ट्राफिक कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए । घिमिरेका अनुसार लागू पदार्थ सेवन गरेको पत्ता लगाउन रगत परीक्षण गर्न प्रक्रिया अगाडि बढाए पनि विरोधका कारण रोकिएको बताए ।


पूर्वी तराईबाट आएको खड्केश्वर यातायातका सवारी धनीकै उजुरीमा चालकलाई पक्राउ गरी पुष महिनाको राति नुहाउन लगाइएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविराजा बुढाथोकीले आफू गजुरी इलाका प्रहरी कार्यालयमा बस्दाको अनुभव सुनाए । चालकले मादकपदार्थ सेवन गरेको पत्ता लागे जस्तै लागू पदार्थ सेवन गरे नगरेको तत्काल पत्ता लगाउने मेसिन नभएकोले जरिवाना नगरिकनै छोड्नुको विकल्प नभएको उनले बताए । राजमार्गको धादिङ खण्डमा मात्रै भएका सवारी दुर्घटनामा मृत्यु हुनेहरु अधिकांश साना सवारीसाधनका यात्रु छन् ।


गएको १ वर्षमा भएका १ सय ३८ सवारी दुर्घटनामा ९३ जनाको मृत्यु भएको र यस मध्य ८९ वटा साना सवारीसाधनहरु छन् । अधिकांश दुर्घटना राति १ देखि बिहान ५ बजेको समयमा हुने गरेको ट्राफिक प्रहरी कार्यालय गजुरीको तथ्यांक छ । ठूला सवारीसाधनसँग ठोक्किएर मोटरसाइकल, माइक्रोबस, कखुरा बोक्ने जिप दुर्घटनामा पर्छन् । 'मृत्यु हुनेहरुमा अधिकांश हेल्मेट नलगाएर मोटरसाइकल पछाडि बसेका हुन्छन्,' जिप्रका धादिङका प्रमुख वैदवारले भने, 'मृत्यु हुने ९३ जनामा अधिकांश महिला र बालबालिका छन् । विगत ४ वर्षमा दुर्घटनामा मृत्यु हुने ४ सय ८१ जना मध्य ३ सय ५४ जना कार, भ्यान, मोटरसाइकल र माइक्रोबसकै यात्रु छन् ।'


राजमार्गमा भएका अधिकांश दुर्घटना सवारीसाधनको साँघुरो र जीर्ण सडकमा तीव्र गतिका कारण मोडमै हुने गरेको छ जिल्ला ट्राफिक कार्यालयको तथ्यांक छ । चालकले लागू पदार्थ सेवन, थकान र निन्द्राले पनि दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाइ छ । मदिरा सेवनको परीक्षण गर्ने ब्रेथ लाइजर प्रयोग गरे जस्तै अन्तर्राष्ट्रिय बजारमा लागू पदार्थ सेवन गरे/नगरेको बारे तत्काल पत्ता लगाउने उपकरण देशका विभिन्न राजमार्गमा तयारी अवस्थामा राख्नु पर्ने नेपालमा सडक दुर्घटना र घाईतको अध्यययन गरि रहेको नेपाल ईन्जुरी अध्ययन केन्द्रका निर्देशक डाक्टर सुनीलकुमार जोशीले बताए ।

प्रकाशित : श्रावण ६, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?