कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री

अब्दुल्लाह मियाँ

काठमाडौँ — वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् ।

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री

यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको छ । २०७४ मा संशोधित ‘मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २६५ लिटर पेट्रोल र त्रैमासिक रूपमा ५ लिटर मोबिल’ मात्र पाउने उल्लेख छ ।


सरकारी सवारी साधन दुरुपयोगबारे मन्त्री बस्नेतले प्रतिक्रिया दिन चाहेनन् । मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले ‘मन्त्रीको सचिवालयको विषय भएकाले उतै सोध्न’ सुझाए । जनमानसमा सकारात्मक सन्देश दिन भन्दै वातावरणमन्त्रीका हैसियतमा बस्नेतले साउनदेखि ‘प्रदेश ३, ००२ झ ४९०६ नम्बर’ को विद्युतीय गाडी चढिरहेका छन् ।

मन्त्रालयले असार अन्त्यमा उनका लागि ५५ लाख ४६ हजार रुपैयाँमा यो गाडी किनेको हो । विद्युतीयबाहेक मन्त्रीसँग मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका ४ गाडी छन् । उनीसँग वन मन्त्रालयको बा २ झ २२०१ र गृह मन्त्रालयले उपलब्ध गराएको बा २ झ १०९० नम्बरको कार छ । उनले कोषबाट दुई गाडी लिएका छन् ।

मन्त्री कोषका अध्यक्ष हुन् । कोष स्रोतका अनुसार उनले बा १५ च ३५०८ नम्बरको स्कोरपियो र २८३४ नम्बरको गाडी लिएका छन् । कोषको गाडी सांसदसमेत रहेकी पत्नी सत्य पहाडीले चढ्ने गर्छिन् ।

प्रशासनसमेत हेर्ने कोषका कार्यकारी निर्देशक दीपककुमार सिंहले भने मन्त्रीलाई एउटा मात्र

गाडी दिइएको दाबी गरे । केही समयअघि मन्त्रीको सचिवालय/आफन्तले बा १५ च

३५०८ नम्बरको स्कोरपियो गाडी बिगारेर मलेखुमा अलपत्र छोडेका थिए । बस्नेतले सचिवालयका लागि वन तथा भूसंरक्षण विभाग र राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिबाट समेत गाडी तानेका छन् ।

बा २ झ ३६९२ नम्बरको गाडी मन्त्रीका निजी सचिव गणेशविक्रम शाहीले चढिरहेका छन् भने राष्ट्रपति चुरेबाट तानिएको बा २ झ १२७३ नम्बरको गाडी सचिवालयकै यज्ञबहादुर खत्रीले प्रयोग गरिरहेका छन् । विभागबाट तानिएको गाडी मन्त्रीका नातेदारले चढ्छन् । गाडीबाहेक उनको सचिवालयले मन्त्रालयका ७ मोटरसाइकल प्रयोग गरिरहेको छ ।


पूर्वगृहमन्त्रीका हैसियतले मन्त्री बस्नेतले दोहोरो सुरक्षा लिएको भन्दै आलोचना भएपछि उनले सशस्त्र प्रहरीको पछुवालाई मन्त्रालय ल्याउन छोडे पनि निवासमा राखेका छन् । ‘सशस्त्र प्रहरीको टोली सवारी साधनसहित मन्त्री निवासमा अहिले पनि ड्युटीमा छ,’ स्रोतले भन्यो ।

मन्त्री बस्नेतको सचिवालयमा स्वकीय सचिव र अन्य सहयोगीको ओइरो छ । दुई भतिजहरू मुक्ति बस्नेत र अरुण बस्नेतसहित करिब दर्जन सचिवालयमा कार्यरत छन् । गणेशविक्रम शाही, यज्ञबहादुर खत्री, भीमबहादुर रोकाय (मुस्कान क्षेत्री), धिरज उपरकोटी, रविनकुमार ग्यालन, विवेक बुढा, दयानिधि भट्टलगायत उनको सचिवालयमा छन् ।


पीएहरूले मन्त्रालयका कर्मचारीलाई अनावश्यक निर्णयमा दबाब दिने गरेको स्रोतले उल्लेख गरेको छ ।

यसअघिका वनमन्त्रीहरूले जस्तै मन्त्री बस्नेत र सचिव विश्वनाथ ओलीले कोषमा आफूनिकट र नातेदारलाई भर्ती गरिरहेका छन् । पछिल्लो पटक मन्त्री र सचिवको ठाडो आदेशमा केही कर्मचारी भर्ना भएको कोष स्रोतले बतायो ।

मन्त्री बस्नेतले कोषको सदस्य सचिवमा मन्त्रालयका सहसचिव यज्ञनाथ दाहाललाई नियुक्त गरेका छन् । यसप्रति सचिव ओली असन्तुष्ट छन् ।

प्रकाशित : श्रावण ७, २०७६ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?