४ हजार मिटर उचाइकाे लिमीमा धारा

४ हजार मिटर उचाइको लिमी उपत्यकाका तीन गाउँमा तीनवटा आयोजनामार्फत खानेपानी पुर्‍याइएको हो । तिब्बतसाग जोडिएको यो उपत्यका पुग्न सदरमुकामबाट चार दिन हिँड्नुपर्छ ।
छपाल लामा

हुम्ला — तिब्बतसँग जोडिएको लिमी उपत्यकामा एक गाग्री पानीका लागि कम्तीमा आधा घण्टा हिँड्नुपर्ने बाध्यता थियो । त्यो पनि खोलाको दूषित पानी । अब भने दुःखका दिन गएका छन् । हजार वर्ष पुरानो हल्जी गुम्बा रहेको यो उपत्यकाका तीनवटा गाउँमा पहिलो पटक पाइपलाइनबाट खानेपानी पुगेको छ ।

४ हजार मिटर उचाइकाे लिमीमा धारा

नाम्खा गाउँपालिका–६ अन्तर्गत लिमी उपत्यकामा पर्ने हल्जी, तिल र जाङगाउँमा खानेपानी पुर्‍याइएको हो । ‘घर–आँगनमै धाराको पानी पिउन पाइने भयो,’ स्थानीय टैफुर्बु तामाङले भने, ‘हाम्रा लागि योभन्दा खुसी के हुन सक्छ र ?’ सरकारले यो वर्षभित्र ९२ प्रतिशत जनतालाई खानेपानी पुर्‍याउने लक्ष्य राखेको छ । नाम्खा गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको साझेदारीमा खानेपानी पुगेपछि टैफुर्बु मात्र होइन, त्यहाँका अन्य स्थानीय पनि खुसीले गद्गद् छन् ।


पानी पुर्‍याउनका लागि तीनवटा खानेपानी आयोजना सञ्चालन गरिएका छन् । गाउँपालिकाका अनुसार ती आयोजनाको कुल लागत १ करोड १४ लाख रुपैयाँ छ । यसबाट १ सय ४६ घरधुरीका करिब ७ सय व्यक्ति लाभान्वित भएको गाउँपालिका अध्यक्ष विष्णु लामा तामाङले बताए । उनका अनुसार गाउँपालिकाको मिलान (जोड) कोष र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको साझेदारीमा आयोजना सञ्चालनमा आएको हो । हल्जीमा चाङजुमा खानेपानी आयोजना, जाँघमा छिसेरी खानेपानी आयोजना र तिलमा गुन्छु खानेपानी आयोजनाबाट पानी ल्याइएको छ । ‘खानेपानीको समस्या टरेको छ,’ अध्यक्ष लामाले भने, ‘आयोजना निर्माणमा स्थानीय उपभोक्ताको साझेदारीसमेत रहेकाले यसको दिगोपना हुन्छ भन्ने हामीलाई विश्वास छ ।’


समुद्र सतहदेखि ४ हजार मिटर उचाइमा रहेको यो उपत्यका पुग्न सदरमुकाम सिमकोटदेखि ४ दिन हिँड्नुपर्छ । सरकारी सेवासुविधाको पहुँच न्यून छ । जनताले शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सुविधा पाएका छैनन् । गर्मी मौसममा सरकारी कर्मचारी र स्थानीय त्यहाँ फर्कन्छन् । हिउँ पर्ने मौसममा लिमी उपत्यका जाने सबैतिरका बाटा बन्द हुन्छन् ।


जाँघका ४५ वर्षीय दाजाङबु तामाङले पहिले परिवारको एक जनाको पानी ओसार्दैमा समय बित्ने गरेको बताए । आँगनमै पानी आएपछि समयको बचत र सुविधा दुवै हुने उनको भनाइ छ । ‘त्योभन्दा खुसीको कुरा हामीले सफा पानी पिउन पाउने भयौं,’ उनले भने । हल्जीमा ७, जाङमा ९ र तिलमा ४ वटा धारा बनाइएका छन् ।


ती धारा बस्तीको पायक पर्ने ठाउँमा छन् । यसले सबै स्थानीयमा पानीको सहज पहुँच पुग्ने ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका प्रमुख वीरेन्द्र थापाले बताए । चौबीसै घण्टा पानी आइरहने भएकाले समस्या नहुने उनको भनाइ छ । २० वर्षसम्म खानेपानी सुविधा पुग्ने गरी योजनाको डिजाइन गरिएको थापाले जानकारी दिए ।


तीनवटै गाउँमा बस्तुभाउका लागि एक–एकवटा डुँड पनि बनाइएको छ । यसबाट पशुपालनमा पनि सहज हुने वडाध्यक्ष पाल्जोर तामाङले बताए । खोलाको धमिलो पानी पिउँदा यी गाउँमा झाडापखाला, हैजा, टाइफाइडजस्ता रोग देखापर्ने गरेका थिए । वडाध्यक्ष तामाङले स्वच्छ खानेपानी सुविधासँगै जनताको जीवन पनि स्वस्थ हुने बताए । ‘स्थानीय सरकारले जनतालाई सरकारी सेवासुविधा कसरी सहज रूपमा पुर्‍याउने भन्नेबारे सोचिरहेको छ,’ उनले भने ।

प्रकाशित : श्रावण ७, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?