१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

१२ सय परिवार आइरनयुक्त पानी पिउँदै

चौपायाले खाँदैनन्, मान्छेलाई विकल्प छैन
अर्जुन राजवंशी

बिर्तामोड — दुर्गापुरका बासिन्दा सेतो रङको लुगा लगाउँदैनन् । महिना–डेढ महिनामा छालासम्बन्धी समस्याको औषधि नखाने कुनै परिवार छैन । कारण हो– पानीको खराबी । सेतो कपडा धोए रातो/पहेँलो हुन्छ । पानीकै कारण स्वास्थ्यमा समस्या देखिने गरेको छ ।

१२ सय परिवार आइरनयुक्त पानी पिउँदै

स्वच्छ खानेपानीको प्रबन्ध नहुँदा कन्काई नगरपालिका १ र २ नम्बर वडाका १२ सय घरपरिवार वर्षौंदेखि आइरनको मात्रा अत्यधिक भएको पानी पिउन बाध्य छन् । खानेपानीको एकमात्र विकल्प ट्युबवेल हो । ट्युबवेलबाट निकालिने पानीमा आइरनको मात्रा अत्यधिक छ । भाँडामा थापेको एकछिनमै पानी तर लागेको जस्तो चिल्लो र रातो हुन्छ । गाउँलेका पानी थाप्ने सबै भाँडाहरू रातो भएका छन् ।

पानीलाई दुई–तीन चरणको फिल्टर गरेर गाउँले उपभोग गर्छन् । सिमेन्टका ठूला ४–५ वटा रिङमा गिट्टी, बालुवा हालेर फिल्टर गर्नुपर्छ । त्यसपछि थप अर्को फिल्टरमा राखेर वा उमालेर मात्र पानी पिउने गरेको कन्काई १ का खगेन्द्र निरौलाले बताए ।

‘त्यति गरेर खाँदा पनि पानीबाट गन्ध आउँछ,’ उनले भने, ‘त्यही पानीले नुहायो, जीउ चिलाउँछ । औषधि नखाई हुँदैन ।’

बाहिरबाट किनेर ल्याएका पशुचौपायाले १५–२० दिनसम्म गाउँको पानी खान मन नगर्ने उनले बताए । ‘गन्ध आउने र आइरनका कारण पशुचौपायाले नखाने पानी हामी दैनिक पिउन बाध्य छौं,’ उनले भने, ‘विकल्प छैन ।’ कनकाई १ र २ मा करिब १ हजार ९ सय घरपरिवारको बसोबास छ । उनीहरूमध्ये वडा नम्बर १ का ४ सय घरपरिवारलाई वडा नम्बर ७ को भवानी खानेपानी आयोजनाले धाराको पानी वितरण गरेको छ । धाराको पानीमा त्यस्तो समस्या छैन ।


वडा नम्बर २ का ३ सय घरपरिवारले अर्को कनकाई खानेपानी आयोजनाबाट धारा जडान गरेर पानी उपभोग गरेका छन् । ‘१ नम्बर वडाका करिब ५ सय ५० र २ नम्बरका ६ सय ५० घरपरिवार आइरनयुक्त पानी पिउन बाध्य छन्,’ कन्काई १ का वडाध्यक्ष रोशनराज पोखरेलले भने ।

शुद्ध खानेपानीको व्यवस्था गर्न १५ वर्षअघि एक गैरसरकारी संस्थाको सहयोगमा वडा १ मा ३० हजार लिटर क्षमताको आयोजना स्थापना गरिएको थियो । केही वर्ष २ सय घरधुरीमा पुगेको त्यसको पानी अहिले २५ घरपरिवारले मात्र उपभोग गर्छन् । प्रजापति खानेपानी आयोजना भनिने उक्त परियोजना मर्मत हुन सकेन । वडाको जनसंख्या बढ्यो ।

वितरण क्षमता विस्तार नहुँदा अहिले ट्यांकी वरपरका घरमा मात्र उक्त परियोजनाको धारामा पानी आउँछ । वडामा शुद्ध खानेपानीको समस्या वर्षौंदेखिको भए पनि सरोकारवाला निकायले चासो नदिँदा समस्या ज्युँका त्युँ रहेको स्थानीय ताराप्रसाद खनालले बताए । ‘पुरानो परियोजना विस्तार गर्नुभन्दा नयाँ ल्याउन केही अगुवाले जोड गरे,’ उनले भने, ‘न नयाँ आयो, न त पुरानोको क्षमता विस्तार भयो ।’

अहिले उक्त परियोजनाको सिमेन्टका रिङमा पानी शुद्धीकरण गर्न हालिने बालुवा र गिटी १५/१५ दिनमा फेर्ने गरिन्छ । ‘पानीमा आइरनको मात्रा यति धेरै छ, फिल्टरको बालुवा र गिट्टी १५ दिनमा फेरिएन भने फिल्टर लेदोले भरिन्छ,’ उनले भने, ‘सीमित घरधुरीमा भए पनि आयोजनाको शुद्ध पानी पुगेको छ । यसैलाई क्षमता विस्तार पनि गर्न सकिन्थ्यो । त्यस्तो योजना आएन ।’

पानीको समस्या बढ्दै गएपछि स्थानीयले संघीय, प्रदेश र स्थानीय सरकारलाई पहल गरेर छुट्टाछुट्टै खानेपानी आयोजना पनि ल्याएका छन् । योजनामा परे पनि नयाँ आयोजना निर्माण भएर पानी वितरणको अवस्थासम्म छिट्टै आइपुग्ने संकेत छैन । दुवै वडामा गरी १२ सय घरपरिवारलाई तत्काल शुद्ध खानेपानीको आवश्यकता छ । स्थानीय नेताहरूले खानेपानीमाथि राजनीति गर्न थालेको भन्दै स्थानीय असन्तुष्ट छन् ।

संविधानसभा सदस्य प्रेम गिरीको नेतृत्वमा ०७२ मा वडा १ मा जामुनखाडी प्रजापति कन्काई खानेपानी आयोजना स्थापना गरिएको थियो । आयोजनाका लागि स्थानीयले ७ कट्ठा जमिन पनि उपलब्ध गराएका छन् । उक्त आयोजनाको घेराबारा, कार्यालय भवन र डिप बोरिङको काम भइसकेको छ । ओभरहेड ट्यांकी निर्माण गर्नै बाँकी छ । ट्यांकी निर्माण गर्न २ करोडभन्दा बढीको बजेट आवश्यक हुन्छ । तर, यो वर्ष उक्त आयोजनालाई प्रदेश सरकारले ५ लाख रुपैयाँ मात्र विनियोजन गरेकाले निर्माणको काम अघि बढाउने अवस्था नभएको आयोजना अध्यक्ष ऋषिकेश खतिवडाले बताए ।

जामुनखाडी खानेपानी आयोजनाको निर्माण सुरु भएपछि वडा १ को प्रजापति खानेपानीले पनि नयाँ व्यवस्थापनसहित योजनाको पहल गरेको छ । प्रदेश सरकारले यो वर्षका लागि प्रजापतिका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित : श्रावण ७, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?