कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कार्यकर्तामा 'फेसबुके रोग' : उपप्रधानमन्त्री पोखरेल

प्रदीप मेन्याङ्बो

सुनसरी — उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीय नेता, कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल 'फेसबुके रोग' बाट मुक्त हुन आग्रह गरेका छन् ।

धरान उपमहाननगर कमिटीद्वारा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी एकीकरणको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा आएका स्टाटस र कमेन्टका आधारमा व्यर्थ बहस नगर्न उनले आग्रह गरेका हुन् । 

कार्यकर्तामा 'फेसबुके रोग' : उपप्रधानमन्त्री पोखरेल

उनले ड्यासमै सँगै बसेका नेकपा केन्द्रीय सदस्य धर्म निरौलाले पार्टी एकीकरणको सन्दर्भमा हालै लेखेको स्टाटसबारे नामै किटेर चर्चा गर्दै भने, ‘तपाईहरु पार्टी एकीकरणबारे कुनै दोधारमा नरहनुस् । अब एमाले पनि छैन र माओवादी केन्द्र पनि छैन । नेकपा मात्र छ । को कहाँ रहने र कसको मान्छे पर्‍यो, कसले नेतृत्व गर्ने भन्ने चिन्ता नलिनुस् ।’ उनले नेतृत्व जसले लिए पनि नेकपाकै नेता कार्यकर्ताले लिने बताए ।


उनले पार्टी एकीकरणका बारेमा रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा आएका समाचारले पनि कार्यकर्ताले मन बिगार्ने भएकाले पार्टीको च्यानलप्रति विश्वास गर्न आग्रह गरे । उनले भने, ‘अहिले खोलो धमिलो छ, पारि तर्नु छ । खुट्टाको औलाले ढुङ्गा छाम्दै तर्नुपर्ने अवस्था छ । कुरो बुझ्नु भयो होला, पार्टीमा अहिले केही गाँजेमाजे छ त्यो केही समयपछि मिल्छ ।’


उनले विगतको घाउ नकोट्याउन पनि आग्रह गरे । नेकपाले संविधानको सर्वोच्चतालाई मात्र मान्ने बताए । उनले भने, ‘संविधानको सर्वोच्चतासँगै कानुनी शासन, आवधिक निर्वाचन, जनअनुमोदित जनप्रतिनिधि र नियन्त्रण, बहुलवादी खुला समाज र सन्तुलन नै नेकपाको सार हो । यिनै सारलाई लिएर अब नेकपा अगाडि बढ्छ ।’


यसअघि मन्त्री पोखरेलले चुम्लुङहिममा आयोजित धरान उपमहानगरपालिकाका दिवंगत प्रमुख तारा सुब्बा स्मृति ग्रन्थको लोकार्पण समारोहमा बहुमतको सरकारले जनतालाई सेवा दिन नसकेको कारणबारे खुलाउने प्रयास गरेका थिए ।


उनले सङ्घीय गणतन्त्रमा सरकारमात्र परिवर्तन नभएर पुरै प्रणाली परिवर्तन भएको तर त्यस प्रणालीअनुसार चल्नका लागि संविधानअनुसारका ऐन, कानुन, नीति निर्माण तयार भइनसकेकाले सरकारले जनतालाई सेवा दिन नसकेको बताए । उनले भने, ‘सरकारले प्रणाली नै परिवर्तन गरेर मुलुकको समृद्धिको आधार तयार गरिरहेको अवस्थामा कानुन र नीति अभावमा खुट्टा टेकेर हिँड्न पाएको छैन । त्यही भएर सरकारले दिने सेवा जनतासम्म ‘डेलीभर’ हुन सकेको छैन ।’

प्रकाशित : श्रावण ७, २०७६ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?