कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्राविधिक शिक्षामा स्नातकोत्तर कार्यक्रम

काठमाडौँ — काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा व्यावसायिक शिक्षा तथा तालिम (सीटीईभीटी) लक्षित स्नातकोत्तर कार्यक्रम सुरु गरेको छ ।प्राविधिक शिक्षालयहरूमा अध्यापन गराउने शिक्षकलगायत आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको केयू स्कुल अफ एजुकेसनका डिन महेशनाथ पराजुलीले बताए ।

उनका अनुसार सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिएकाले त्यसलाई टेवा पुर्‍याउन यो शैक्षिक कार्यक्रम सुरु गरिएको हो । जुनकुनै विषयमा स्नातक गरेका विद्यार्थीले टीईभीटीको मास्टर्स डिग्रीमा भर्ना हुन पाउने स्कुल अफ एजुकेसनले जनाएको छ ।


‘विद्यालय तह र स्नातक तहमा प्राविधिक शिक्षा नै अध्ययन गरेकालाई मार्स्टस डिग्री गराउने लक्ष्य हो,’ पराजुलीले भने, ‘भर्खरै कार्यक्रम सुरु गरिएकाले साधारण धारमा स्नातक गरेकालाई पनि अहिलेसम्म भर्ना लिएका छौं ।’ एक शैक्षिक सत्रका लागि २५ जना विद्यार्थीको कोटा तोकिएको छ । सेमेस्टर प्रणालीअनुसार १५ विद्यार्थीले दोस्रो सेमेस्टर पूरा गरिसकेका छन् ।


सरकारले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय पुर्‍याउने लक्ष्य लिइएको छ । त्यस्ता शैक्षिक संस्था खुल्ने क्रम तीव्र रहे पनि शिक्षक, व्यवस्थापकलगायत तालिमप्राप्त जनशक्तिको अभाव हुने गरेको छ । प्राविधिक शिक्षा र तालिमको क्षेत्रमा अनुसन्धान र नेतृत्व गर्न सक्ने जनशक्ति तयार पार्न उक्त शैक्षिक कार्यक्रम सफल हुने स्कुल अफ एजुकेसनका प्राध्यापक बताउँछन् ।


अहिले माध्यमिक तह (९–१२) र कक्षा १२ पछि स्वास्थ्य, कृषि, इन्जिनियरिङ, पशुपालनलगायत क्षेत्रमा प्राविधिक शिक्षा पठनपाठन हुँदै आएको छ । त्यसबाहेक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले विभिन्न क्षेत्र र तहको तालिमसहित परीक्षणसमेत गर्ने गर्छ ।


यस्ता जनशक्तिलाई स्नातकोत्तर तह पढाएर उच्चस्तरका जनशक्ति तयार पार्ने लक्ष्य लिइएको प्राविधिक शिक्षा तथा तालिमविज्ञ उषा भण्डारीले बताइन् । ‘प्राविधिक शिक्षा र तालिमको क्षेत्रमा आवश्यक योजनाकार, व्यवस्थापक र विशेषज्ञ तयार पार्न मास्टर्स डिग्री कार्यक्रम सहयोगी बन्नेछ,’ उनले भनिन् । उक्त तह पढ्ने निश्चित विद्यार्थीका लागि वार्षिक रूपमा छात्रवृत्ति प्रदान गरिने केयूले जनाएको छ ।

प्रकाशित : श्रावण ७, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?