१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कर्मचारीको कार्यसम्पादन मूल्यांकन पुरानै कानुनले

काठमाडौँ — संघ, प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीको कार्यसम्पादन मूल्यांकन पुरानै कानुनअनुसार गरिने भएको छ । 

प्रदेश निजामती र स्थानीय सेवासम्बन्धी ऐन बन्न बाँकी भएकाले समायोजन हुनुअघिकै कानुनअनुसार कार्यसम्पादन मूल्यांकन फाराम भर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ ।


कर्मचारीको कार्यसम्पादन मूल्यांकन फारम भर्ने मंगलबार अन्तिम दिन थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार परिपत्र जारी गर्दै समायोजन भएका कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी व्यवस्था साबिकबमोजिम नै हुने जनाएको छ ।


संघ (केन्द्र) र प्रदेश मन्त्रालय अन्तर्गतका आयोग, सचिवालय, विभाग, निर्देशनालय तथा सबै कार्यालय, जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई सम्बोधन गरेर मन्त्रालयले परिपत्र गरेको हो । कर्मचारी समायोजन ऐन २०७५ को दफा १५ को उपदफा २ मा संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी कानुन नबनेसम्मका लागि समायोजन हुनुपूर्वकै कानुनअनुसार हुने उल्लेख छ ।


मन्त्रालयका प्रवक्ता सहसचिव भूपाल बरालका अनुसार साबिककै ढाँचाको कार्यसम्पादन मूल्यांकन फारम भरेर कर्मचारीले सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय, विभाग, निर्देशनालय तथा अन्य निकायमा दर्ता गराएका छन् ।

प्रकाशित : श्रावण ८, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?