कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

(अपडेट) बबईमा दाउरा झिक्न गएका एक बेपत्ता, एकको उद्धार

वर्षाले बर्दियामा ४० घर डुबान, बबईमा बाढीकाे खतरा
कमल पन्थी

बर्दिया — बबई नदीमा बाढीको भेलमा दाउरा संकलन गर्न गएका बर्दिया बारबर्दिया नगरपालिका—११ खुन्तीपुरका ३५ वर्षीय बलिराम चौधरी बेपत्ता भएका छन् । जब्दीघाटस्थित बबई नदीमा काठ संकलन गर्न गएका उनलाई बाढीले बगाएको हो ।

(अपडेट) बबईमा दाउरा झिक्न गएका एक बेपत्ता, एकको उद्धार

सोही ठाँउका ३८ वर्षीय रामभरोस चौधरीलाई उद्धार गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए । उनलाई बालापुरबाट उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको प्रहरी उपरीक्षक बाँस्तोलाले बताए । बेपत्ता भएका चौधरीको खोजी भइरहेको छ ।


बबईमा जलस्तर बढ्ना साथ काठ, दाउरा संकलन गर्ने सक्रिय हुने गरेका छन् । यसै क्रममा चौधरीलाई बाढीको भुमरीले बगाएको हो ।


मंगलबार देखिको अविरल वर्षाले बासगढी नगरपालिका—३ खल्ला बस्तीका ४० घर डुबानमा परेका छन् । डुबानले मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।


वर्षाका कारण बर्दियाबाट बग्ने बबई नदीमा जलस्तर बढ्दै गएको छ । जलस्तर बढ्दै जाँदा तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । बबईको जलस्तर बुधबार बिहान ७ बजेसम्म ५ दशमलव १४ पुगेको छ । बबईमा जलस्तर ६ पुगे बाढी आउने गर्छ ।


जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्म भारी वर्षा हुने चेतावनी दिएको छ । स्थानीय प्रशासनले बबई नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आव्हान गरेको छ । दाङमा पानी नरोकिएकोले बबईमा जलस्तर बढ्दै जाने खतरा भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जनाए । ‘तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सर्तक गराएका छौं,’ उनले भने,‘केही बेरमा तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन साइरन बजाउने तयारीमा लागेका छौं ।,’


बबई नदी दाङ हुँदै बर्दियाबाट भारतीय सीमा पुग्ने गरेको छ । दाङमा भारी वर्षा हुदाँ बर्दियामा बाढी आउने गर्छ । बबईमा जलस्तर बढ्ने क्रममा भए पनि कर्णाली नदीमा जलस्तर स्थिर रहेको जिल्ला आपतकालीन सूचना व्यवस्थापन कार्य सञ्चालन केन्द्रका अधिकृत रुपन ज्ञवालीले बताए ।


दाङ लगायत पहाडी जिल्लामा वर्षा भइरहेकोले बबई नदीमा जलस्तर बढ्ने खतरा बढेको हो । बाढीको जोखिम आकलन गर्दै सेना, प्रहरी लगायत सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

प्रकाशित : श्रावण ८, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?