कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डिन र क्याम्पस प्रमुख एकै

विनोद भण्डारीे

विराटनगर — पूर्वाञ्चल विश्वविद्यालयको कला तथा कानुन संकायका डिन र आंगिक कानुन क्याम्पसको प्रमुख एकै व्यक्ति भएको पाइएको छ । कला तथा कानुन संकायका डिन शम्भु कोइरालाले विश्वविद्यालयकै आंगिक कानुन क्याम्पसको प्रमुख भएर दोहोरो सुविधा लिएका हुन् । 

विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि कानुन संकायको तीनवर्षे एलएलबी कार्यक्रम सञ्चालन गरेको छ । करिब एक वर्षदेखि कोइरालाले डिन पदमा रहेर क्याम्पस प्रमुखको समेत जिम्मेवारी बहन गर्दै आएका छन् । विश्वविद्यालय स्रोतका अनुसार कोइरालाले कला तथा कानुन, विज्ञान तथा प्रविधि र व्यवस्थापन संकायसहित कानुन क्याम्पसको समेत आर्थिक कारोबारसमेत हेर्दै आएका छन् ।


विश्वविद्यालयसँग कानुनका शिक्षक नभएका कारण कार्यकारीको निर्णयअनुसार आफूले डिन र क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको कोइरालाले बताए । ‘कानुनका तीन जना प्राध्यापक करारमा नियुक्ति गर्न तयारी गरे पनि प्राध्यापक संघको विरोधका कारण विश्वविद्यालयले नियुक्त गर्न सकेन,’ उनले भने, ‘भएका सबै शिक्षक आंशिक भएकाले उनीहरूलाई प्रमुखको जिम्मेवारी दिन नमिल्ने भएपछि आफैंले हेर्दै आएको हुँ ।’


कोइराला डिन भएकै समयमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएको विराटनगरको अन्नपूर्ण कलेजका पनि प्रिन्सिपल थिए । विवादमा परेपछि कलेजको प्रिन्सिपलबाट उनी हटेका थिए ।


मेडिकल बायोमा प्लान्ट बायोका शिक्षक पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित पुकमास कलेजमा अध्यापन गराउन मेडिकल बायो केमेस्ट्री पढेको हुनुपर्नेमा प्लान्ट बायो केमेस्ट्रीकोलाई उपप्राध्यापकमा नियुक्त गरेको पाइएको छ ।


विश्वविद्यालय सेवा आयोगले अस्थायी शिक्षण सहायकमा कार्यरत नवीन भट्टराईलाई आन्तरिक प्रतियोगिताबाट उपप्राध्यापकमा स्थायी नियुक्त गरिएको हो । ‘भट्टराई बायो प्लान्ट केमेस्ट्रीका हुन्,’ विश्वविद्यालय स्रोतले भन्यो, ‘तर उनलाई मेडिकल बायो केमिस्ट्रीको उपप्राध्यापकको ठाउँमा नियुक्त गरिएको छ ।’


भट्टराईको स्थायी नियुक्ति गोठगाउँको पुकमास कलेजमा दरबन्दीसहित हो । तर उनी विश्वविद्यालयको पुसेट क्याम्पसमै करिब दुई महिना अध्यापन गराएपछि मात्र दरबन्दी रहेको ठाउँमा पुगेको स्रोतले जनाएको छ । विश्वविद्यालय नियममा नियुक्ति पाएको ३५ दिनभित्र दरबन्दी भएको निकायमा हाजिर हुनुपर्ने र त्यसो नभए नियुक्ति स्वतः खारेज हुने व्यवस्था छ ।


मेडिकल संकायका डिन आरके सिंह हुँदा प्रवेश परीक्षाको उत्तरपुस्तिका काठमाडौंको एक होटलमा बसेर परीक्षण गराएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिँदा भट्टराई पनि परेका थिए । त्यतिबेला उनी अस्थायी शिक्षण सहायक थिए ।

प्रकाशित : श्रावण ८, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?