कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेममा फसाएर बन्धक

युवतीले व्यवसायीलाई फ्ल्याटमा बोलाइन् । त्यहीँ युवकहरु आएर व्यवसायीलाई कुटपिट गरे । लुगा फुकाल्न लगाएर भिडियो बनाए । भिडियो सार्वजनिक गरिदिने भन्दै ५० लाख फिरौती मागे । 
अर्जुन राजवंशी

बिर्तामोड — व्यवसायीलाई बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा भाडाको फ्ल्याटमा बन्धक बनाई उनीहरूले ४० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । 

प्रेममा फसाएर बन्धक

बिर्तामोड–४ का २९ वर्षीय मेराज खान, सोही वडाका २५ वर्षीय प्रकाश दास, इलाम घर भई बिर्तामोड–२ बस्ने २० वर्षीया ऋतु फियाक लिम्बू र भारत, दार्जिलिङका सञ्जु क्षेत्री भनिने सुजन शंकर पक्राउ परेका हुन् ।


चारै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । उनीहरूलाई साउन ५ गते चारआलीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनीहरूका साथबाट बा१५च ७३३ नम्बरको कार, नक्कली पेस्तोल र लागूऔषध बरामद भएको उनले जानकारी दिए ।


ती व्यवसायीलाई बन्धक बनाउन युवतीको प्रयोग गरी नक्कली मायाजालमा फसाइएको पाइएको बिर्तामोडका डीएसपी मोहन थापाले बताए । उनका अनुसार शंकरले भारतको दिल्ली बस्दै आएकी लिम्बूलाई बिर्तामोड बोलाएर व्यवसायीको फोन नम्बर उपलब्ध गराएका थिए ।


लिम्बूले आफू जया खान भएको बताउँदै असार २८ देखि व्यवसायीलाई इमो र मोबाइल फोनबाट नियमित सम्पर्क गरेकी थिइन् । उनले साउन १ गते साँझ साढे ७ बजे व्यवसायीलाई भेट्न बोलाएकी थिइन् । भेटेपछि उनले व्यवसायीलाई बिर्तामोडस्थित भद्रपुर रोड, कुमारी बैंकको पश्चिमपट्टि गल्लीभित्रको घरको चार तलामा रहेको साथीको कोठामा लगिन् । राति १० बजे युवकहरू हतियारसहित आएर उनलाई बन्धक बनाए ।


उनीहरूले व्यवसायीलाई कुटपिट गरी कपडा खोल्न लगाई भिडियोसमेत बनाएको डीएसपी थापाले बताए । युवकहरूले भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइदिने धम्की दिँदै व्यवसायीसँग ५० लाख रुपैयाँ मागेका थिए । ५० लाख दिन नसक्ने बताएपछि व्यवसायीलाई उनीहरूले साउन ५ भित्रमा ४० लाख रुपैयाँ दिनुपर्ने भन्दै छाडेका थिए । पीडितले साउन ३ गते इलाका प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए ।


पक्राउ परेकाहरूलाई अपहरण, शरीर बन्धक, फिरौती माग र लागूऔषध कसुरअन्तर्गत मुद्दा चलाउन लागेको डीएसपी थापाले बताए । पक्राउ परेकामध्ये शंकर ०७४ सालमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकामा हालसम्म फरार सूचीमा रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिनेश मैनालीले बताए ।

प्रकाशित : श्रावण ८, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?