कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालको चाहना चीनका सबै अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ — चीनसँगको हवाई सेवा सम्झौता पुनरावलोकनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिनिधिमण्डल मंगलबार चीन गएको छ । 

पर्यटन मन्त्रालयअन्तर्गतको हवाई उद्योग व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव सुरेश आचार्य नेतृत्वको ५ सदस्यीय टोलीले २१ वर्षअघिको सम्झौता पुनरावलोकन गर्नेछ । यो दुईपक्षीय पुनरावलोकन बैठक नेपालको प्रस्तावमा हुन लागेको बताइएको छ ।


चीनले नेपालका विमान कम्पनीलाई बेइजिङ, सांघाई, ल्हासा, ग्वान्जाओ, कुनमिङ, छेन्दु र सियानगरी सातवटा सहरमा मात्रै उडान अनुमति दिएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।


तर कुनै पनि नेपाली वायुसेवा कम्पनीले अहिले चीनका यी सातवटै सहरमा नियमित उडान गर्दैनन् । निजी क्षेत्रको हिमालय एयरलाइन्सले केही महिनाअघि चीनको छाङछुङमा चार्टर उडान थालेको थियो । तर यात्रु अभावका कारण हाल उक्त सेवा नियमित हुन सकेको छैन ।


बेइजिङस्थित संवाददाता लक्ष्मी लम्सालका अनुसार टोली र चिनियाँ पक्षबीच बिहीबार र आवश्यकता परेमा शुक्रबार पनि हवाई सेवासम्बन्धी बैठक हुनेछ । बेइजिङस्थित चिनियाँ नागरिक उड्डयनको कार्यालयमा हुने बैठकका एजेन्डा महत्त्वपूर्ण भए पनि एकअर्काका कुरा बुझ्न र बुझाउन केन्द्रित हुने बताइएको छ ।


सहसचिवस्तरमा हुने बैठकमार्फत दुवै निकायका माग र चासोबारे गहन छलफल हुने नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले बताए ।


बैठकमा नेपाली विमानलाई चिनियाँ आकाशमा उड्न दिनुपर्ने, हिमालय एयरलाइन्सलगायतलाई बेइजिङमा अनुमति दिनुपर्नेलगायत विषयमा नेपाली पक्षले चासो राख्ने बताइएको छ । साथै चीनले पनि नेपालमा अरू विमानस्थल पाउनुपर्‍यो भन्ने विषय उठाउन सक्ने बुझिएको छ ।


पछिल्ला वर्ष नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्दो छ । त्यसैले नेपालले त्यहाँका मुख्य ठूला सहरसँग हवाई सेवा विस्तार गर्नेबारे छलफल गर्ने बैठकको एजेन्डा छ । चिनियाँ विमान कम्पनीहरूलाई पनि नेपालले काठमाडौंबाहेक अब सञ्चालनमा ल्याइने अन्तर्राष्ट्रिय विमानस्थलमा उडानमा खुला गर्ने भएको छ । नेपालले सन् २०२० देखि सञ्चालनमा ल्याउन लागेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रवर्द्धन गर्ने उद्देश्य राखेर चिनियाँ विमान कम्पनीहरूलाई भैरहवासहित पोखरामा उडान अनुमतिका लागि बाटो खुला गर्ने छ ।


चीनको नागरिक उड्डयन मन्त्रालयका पदाधिकारीसँग हुने दुईपक्षीय बैठकका लागि १२ दिनअघि मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति दिएको थियो ।


उक्त निर्णयका आधारमा मन्त्रालयले सहसचिव आचार्यसहित एटीसी अधिकृत प्रमोद नेपाल, प्राधिकरणका निर्देशक गोपालचन्द्र थापा, कानुन मन्त्रालयका उपसचिव अरुणा जोशी र नेपाल वायुसेवा निगमको संस्थागत विभागका निर्देशक कृष्णगोपाल जोशीलाई चीन पठाएको हो ।


चीनसँग नेपालको हालको सम्झौताअनुसार दुवै मुलुकले सातामा ७० वटासम्म उडान गर्न पाउँछन् । जसमा १४ हजार सिटको सम्झौता छ ।


यात्रु पाएन नेवानिले

काठमाडौं (कास)– नेपाल वायुसेवा निगम (नेवानि) ले करिब एक महिनापछि जापान उडान थाल्दै छ । तर यात्रु नहुँदा सेवा सुरु हुनेमा अन्योल देखिएको छ ।


उडान प्रक्रिया र यात्रु संख्या नमिलेर असार १९ मा नेवानिको उडान रोकेर पुनः भदौ १२ का लागि काठमाडौं–ओसाका उडान तय गरिएको थियो । तर नयाँ तालिका खोलिएको एक महिना बितिसक्दा पनि निर्धारित उडानको दिनका लागि काठमाडौंबाट ओसाका जान ३ जना र ओसाकाबाट काठमाडौंका लागि भने ७ जना यात्रुले टिकट लिएका छन् ।


वाइडबडी (एएलवाई/एएलजेड) विमानमा २ सय ७४ यात्रु क्षमता छ । यसमा २ सय ५६ इकोनमी र १८ बिजनेस क्लास छन् । नियमानुसार प्रतिउडानमा औसत ६५ प्रतिशत यात्रु क्षमता नरहुन्जेल उडान गरिँदैन । अहिले दुईतर्फी उडानको टिकट मूल्य ७० हजार रुपैयाँ तोकिएको छ ।


नेवानिले खुला गरेको टिकटमा अगस्ट २९ देखि सेप्टेम्बर २८ सम्मका लागि ओसाका जाने यात्रुको संख्या २८ र ओसाकाबाट काठमाडौं फर्कने यात्रु संख्या ३० मात्रै छ । ‘अझै एक महिना बाँकी छ,’ नेवानिका कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले कान्तिपुरसँग भने, ‘हामीले केही ट्राभल एजेन्सीलाई यात्रु उपलब्ध गराउन भनेका छौं, पुस सेल गरेर भए पनि उडान हुनेछ ।’ तर वायुसेवाको नयाँ तालिकासमेत ‘अर्थहीन’ देखिएपछि पर्यटन मन्त्रालयले नेवानिका महाप्रबन्धक मदन खरेल, कमर्सियल डाइरेक्टर दाहाल र जनरल सर्भिस डाइरेक्टर अमृत श्रेष्ठसँग ‘जानकारी’ लिने मन्त्रालयका एक अधिकारीले बताए ।

प्रकाशित : श्रावण ८, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?