कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयोगले न्यायिक निकायका फैसलासमेत अध्ययन गर्ने

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जांँचबुझ आयोगले सर्वोच्च अदालतसहितका न्यायिक निकायले जग्गाबारे गरेका फैसलासमेत अध्ययन गर्ने भएको छ । आयोगले मुलुकभरका न्यायिक निकायले गरेका फैसलाका विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरेको छ । 

‘न्यायिक निकायले गरेका फैसलामाथि हस्तक्षेप हुँदैन तर उजुरी आए अध्ययनचाहिँ गर्छौं,’ आयोग अध्यक्ष मोहनरमण भट्टराईले कान्तिपुरसँग भने, ‘जग्गाको हालको अवस्था, मालपोत रजिस्ट्रेसन पास गर्दाको अवस्था र त्यसबारे भएका फैसला अध्ययन गर्छौं, अनि प्रतिवेदनमा राख्छौं ।’ मुलुकभरबाट उजुरी आउने क्रम जारी रहेको उनले बताए । न्यायिक निकायबाट भएका फैसला पुनरावलोकन गर्न सकिने भए पनि आयोगले त्यसबारे अहिले केही पनि नसोचेको उल्लेख गरेको छ ।


न्यायिक निकायले मालपोत कार्यालयको प्रमाणका आधारमा फैसला गरे पनि रजिस्ट्रेसन पास गराउँदाको सत्यतथ्य के छ भन्नेबारे आयोगले अध्ययन गर्ने भट्टराईले बताए । ‘न्यायिक निकायले त लालपुर्जालगायत प्रमाण हेर्ने हो तर त्यो लालपुर्जा कसरी बनाइयो भन्नेबारे हामीे मालपोल कार्यालयमा समेत गएर अध्ययन गर्ने गरी संयन्त्र बनाउँछौं,’ उनले भने ।


आयोगको दायरा ठूलो भएकाले आवश्यक कर्मचारी, सामग्री र प्रविधि सोचेजति पर्याप्त नभएको भट्टराईले बताए । आयोगले ७७ वटै जिल्ला प्रशासनलाई सरकारी, सार्वजनिक र गुठी जग्गा अतिक्रमणसम्बन्धी विवरण पठाउन सर्कुलर गरेको छ । आयोगमा २ सयवटा उजुरी परेका छन् । उजुरीको सूक्ष्म अध्ययनसँगै समय–समयमा विभिन्न सरकारी अधिकारीले जग्गासम्बन्धमा तयार पारेका प्रतिवेदन पनि अध्ययन भइरहेको जानकारी भट्टराईले दिए ।


यसअघि आयोगले सरकारी, सार्वजनिक र गुठी जग्गा अतिक्रमणसम्बन्धी उजुरी दिन सार्वजनिक आह्वान गरेको थियो । उजुरी इमेल, फ्याक्स र हुलाकमार्फत वा व्यक्ति स्वयं कार्यालयमा आएर दिइरहेका छन् । आयोगले जग्गासम्बन्धी अन्तरक्रिया गर्न विभिन्न विज्ञसँग छलफल गरिराखेको छ ।


भट्टराईले सरकारी रेकर्ड केलाउने कामसमेत भइरहेको बताए । चरणबद्ध रूपमा नापी विभागका पूर्वमहानिर्देशक, सुकुम्बासी आयोगका पूर्वअध्यक्ष तथा सदस्यलगायत विभिन्न विज्ञसँग छलफल गरिरहेको उनले जानकारी दिए । ‘केही उजुरी हेलो सरकारमा आएजस्ता छन्, त्यस्ता उजुरी अलि स्पष्ट छैनन्,’ आयोगका एक सदस्यले भने, ‘केही गाउँपालिकाले त आफ्नो जग्गा अतिक्रमण भएको छ, छानबिन गरिदिनुपर्‍यो भनेरसमेत उजुरी दिएका छन् ।’ उजुरीलाई विभिन्न कोणबाट अध्ययन भइरहेको उनले बताए । ‘उजुरी आए विभिन्न विज्ञसँग छलफल गरेर मात्र किनारा लगाउँछौं,’ उनले भने, ‘आयोगको टोलीले ७७ जिल्लामा गएर अध्ययन गर्नसमेत सक्छ ।’


जाँचबुझ गर्दा तथ्य र प्रमाणबारे शंका लागे सम्बन्धित स्थलमा गएर छानबिन गर्न आयोग सक्षम रहेको ती अधिकारीले बताए । सरकारले गत जेठमा ६ महिनाभित्र काम सम्पन्न गर्न आयोगलाई कार्यादेश दिएको छ ।

प्रकाशित : श्रावण ८, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?