कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कूटनीतिक भेटघाटमा आचारसंहिता उल्लंघन

घनश्याम खड्का

काठमाडौँ — भर्खरै नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समन्तकुमार गोयलले विभिन्न नेताहरूलाई भेटेको खबर सार्वजनिक भयो । भेटबारे कही कतै औपचारिक रेकर्ड छैन । न कुनै नेताहरूले भेटबारे खण्डन गरेका छन् ।

परराष्ट्र मन्त्रालय पनि बेखबर छ । गतवर्ष नवनियुक्त चार मन्त्रीले भारतसहित विभिन्न देशका राजदूतसँग कार्यकक्षमै भेटघाट गरे ।

यस्ता भेटघाटका लागि कसले के कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भनेर ‘कूटनीतिक आचारसंहिता २०६८’ बनाइएको छ ।


नेपाल बाहिरी विश्वसँग सम्पर्कमा आएको ६१ वर्षपछि बनेको यो आचारसंहिता उच्च पदस्थ सरकारी अधिकारी तथा नेताहरूबाटै पालना भएको पाइँदैन । ‘नियम बनाउनु मात्रै भयो, पालना कसैले गरेको देखिएन,’ पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले भने ।


आचारसंहितामा कूटनीतिक भेटघाट प्रोटोकलबिना गर्न नपाइने र कुनै विदेशीलाई भेट्दा परराष्ट्रका अधिकारीलाई ‘नोटटेकर’ का रूपमा राख्नुपर्ने भनिएको छ । खासगरी मन्त्री र राजनीतिक दलका नेताहरूले गर्ने कूटनीतिक भेटघाट र उनीहरूले गर्ने वैदेशिक मामिलासम्बन्धी व्यवहारमा एकरूपता ल्याउन आचारसंहिता बनाइएको थियो ।


आचारसंहिताको सुरुवाती मस्यौदामा नेताहरूलाई स्वच्छन्द भेट गर्न छुट नहुने खालका प्रावधान समाविष्ट थिए । ‘मन्त्रिपरिषद्बाट पारित गर्ने बेला त्यसलाई हटाइयो,’ परराष्ट्रका अर्का पूर्वसचिव तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत दुर्गाप्रसाद भट्टराईले भने, ‘जे जस्तो अवस्थामा पारित भएको छ, त्यसको पनि कसैले पालना गरेको छैन ।’


आचारसंहितामा सार्वजनिक जिम्मेवारीमा भएकालाई मात्रै नियमहरू लागू हुने भनिएकाले कुनै सरकारी नेतृत्वमा नरहेका नेतालाई जिम्मेवार बनाउन नसकिएको परराष्ट्र मन्त्रालयको भनाइ छ । ‘आचारसंहिता मूलतः सार्वजनिक पद धारण गरेकाहरूलाई बनाइएकाले यो परिभाषाभित्र नपर्ने व्यक्तिले गरेको भेटघाटका सम्बन्धमा प्रस्ट भन्न सकिने अवस्था छैन,’ परराष्ट्रका सचिव शंकरदास वैरागीले भने ।


नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आचारसंहिता शीर्ष नेताहरूलाई स्वतः लागू हुने तर्क गर्छन् । ‘शीर्ष नेताहरूले नियममा छैन भन्दैमा जथाभावी भेटघाट गर्न मिल्दैन र पाउँदैनन्,’ श्रेष्ठले भने, ‘आफूखुसी भेटघाट गर्दा हाम्रो कूटनीतिक मर्यादा कायम रहँदैन भने विदेशीले जथाभावी खेल्न पाउँछन् ।’


राष्ट्रिय स्वार्थ र वैदेशिक मामिलामा सिंगो मुलुकको एकै मत स्थापित गर्न कूटनीतिक आचारसंहिताको पालना सबैबाट हुनु अनिवार्य रहेको उनले बताए । ‘कूटनीतिक आचारसंहिता अरू आचारसंहिताजस्तो केवल नियमहरूको सँगालो होइन, यो देशको वैदेशिक सम्बन्ध र हैसियत कस्तो बनाउने भन्ने मार्गचित्र पनि हो,’ श्रेष्ठले भने, ‘यसलाई सबैले पूरा पालना नगरी राष्ट्र अघि बढ्न सक्दैन ।’


परराष्ट्र मन्त्रालयले परिवर्तित सन्दर्भमा आचारसंहिता संशोधन गर्ने तयारी भने सुरु गरेको छ । सचिव वैरागीका अनुसार प्रादेशिक सरकारका कारण पनि नयाँ संरचनाबमोजिम कूटनीतिक व्यवहारमा सामञ्जस्यता ल्याउन संशोधन जरुरी परेको हो ।


प्रदेशका मुख्यमन्त्रीहरूले संघीय सरकारलाई जानकारीसमेत नदिई विदेश जाने र कूटनीतिक गतिविधिमा संलग्न हुने क्रियाकलाप बढाएपछि परराष्ट्रले आचारसंहिता संशोधनलाई जरुरी ठानेको हो । ‘आचारसंहितामा परिवर्तित सन्दर्भलाई अध्यावधिक गरेर समयानुकूल बनाउने प्रयास गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : श्रावण ८, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?