कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बासस्थलमै बाघ दिवस

अब्दुल्लाह मियाँ

काठमाडौँ — १० वर्षदेखि काठमाडौंको हलभित्र मनाइँदै आएको विश्व बाघ दिवस यस पटक तिनकै बासस्थानमा स्थानीय, मध्यवर्तीका बासिन्दा र स्थानीय सरकारका प्रतिनिधिसँग छलफल/अन्तर्क्रिया गर्दै मनाइने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघको आकर्षण बढदै गएको बाँके निकुञ्जका तीन ठाउँमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, विशेषज्ञ र सरोकारवालासँग बाघ दिवसका अवसरमा आइतबार संरक्षण, चुनौती र भावी कार्यक्रमबारे छलफल गर्दै छ । 

बासस्थलमै बाघ दिवस

बाघ पाइने १३ देशले सन् २०१० देखि जुलाई २९ मा बाघ दिवस मनाउँदै आएका छन् । बाघ संरक्षणका चुनौती र बाघबारे स्थानीय बासिन्दा, मध्यवर्ती क्षेत्रका उपभोक्ता र स्थानीय सरकारको समेत राय बुझ्न बाघकै बासस्थल रहेको निकुञ्जमा कार्यक्रम गर्ने निर्णय गरिएको विभागका महानिर्देशक मनबहादुर खड्काले बताए । २०६७ सालमा स्थापित बाँके निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढिरहेको छ । छोटो समयमै बाघ संरक्षणमा उक्त निकुञ्ज सफल बनेको छ ।


सरकारले गत वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पर्सा (१८), चितवन (९३), बर्दिया (८७), बाँके (२१) र शुक्लाफाँटा (१६) निकुञ्जमा गरी कुल २ सय ३५ वयस्क बाघ छन् । निकुञ्जको पश्चिम सेक्टर कोहलपुर, पूर्वी सेक्टर कुसुम र निकुञ्जको मुख्यालय रहेको ओभरीमा अलगअलग कार्यक्रम गरिने बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले जानकारी दिए । ‘बाघ संरक्षणबारे स्थानीय बासिन्दा, मध्यवर्ती क्षेत्रका बासिन्दा, स्थानीय सरकारका प्रतिनिधिको बुझाइ र समस्या केलाउन सजिलो होस् भनेर फिल्डमै कार्यक्रमको तयारी गरेका छौं,’ उनले भने ।


सन् २०१० मा रुसको पिटर्सबर्गमा भएको बाघ पाइने देशका राष्ट्रप्रमुखहरूको पहिलो सम्मेलनले बाघ संरक्षणबारे चेतना फैलाउने उद्देश्यले जुलाई २९ मा बाघ दिवस मनाउने घोषणा गरेको थियो । सम्मेलनले सन् २०२२ सम्म ती देशमा बाघको संख्या दोब्बर बनाउने घोषणासमेत भएको थियो । त्यति बेला नेपालमा बाघको संख्या १ सय २१ थियो । अहिले २ सय ३५ पुगेको छ । सन् २०२२ सम्म नेपालले बाघको संख्या २ सय ५० भन्दा बढी बनाउने संकल्प गरेको थियो ।


सन् २०१८ मै नेपालमा बाघको संख्या संकल्प नजिक पुग्नुलाई संरक्षणकर्मीले सकारात्मक सन्देशका रूपमा लिएका छन् । बाघको बासमै गएर दिवस मनाउँदा स्थानीयस्तरमा सकारात्मक सन्देश जाने महानिर्देशक खडकाको विश्वास छ । ‘समस्या के हुन् र चुनौती के छ भनेर बुझ्ने उद्देश्यले फिल्डमै कार्यक्रम गर्न खोजिएको हो,’ उनले भने ।


संघका वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, ५ नम्बर प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकारीलगायत सहभागी हुने दिवसले बाघ संरक्षणका चुनौती पहिचान गर्ने अपेक्षा गरिएको विभागका सूचना अधिकारी विष्णु श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : श्रावण ८, २०७६ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?