कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

निर्मला हत्या प्रकरण : पीडित परिवारले मार्‍यो आस

यति धेरै आन्दोलन र दबाबले पनि न्याय मिलेन । अब हत्यारा पत्ता लाग्छ भन्ने आस छैन । –दुर्गादेवी पन्त निर्मलाकी आमा 
भवानी भट्ट

कञ्चनपुर — पछिल्लो समय महिला अधिकारकर्मी र नागरिक समाजका अगुवाले दबाब दिन छाडेपछि निर्मला पन्त प्रकरणको अनुसन्धान रहस्यमै छ । लामो समयको आन्दोलन र दबाबले पनि केही नभएपछि पीडितले न्याय पाउने आस मारेका छन् । घटनाको अनुसन्धान ओझेलमा परेको छ । 

निर्मला हत्या प्रकरण : पीडित परिवारले मार्‍यो आस

‘अब हत्यारा पत्ता लाग्छ भन्ने कुनै आशा छैन,’ निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिन्, ‘यति धेरै आन्दोलन र दबाबले पनि न्याय मिलेन, अहिले पनि सत्य कुरा बाहिर आएन, अब आन्दोलन मात्रै कति गरिराख्ने ?’ उनी घटनाको अनुसन्धानको अवस्था बुझ्न प्रायः जिल्ला प्रहरी कार्यालय पुग्छिन् । तर उनले पाउने जवाफ सधैं एउटै हुन्छ, ‘हामी अनुसन्धानमै छौं, हत्यारा पत्ता लगाउन प्रयासरत छौं ।’ नेता पनि यसैगरी सान्त्वना दिन उनको घर आइरहेका छन् ।


‘हत्यारा पत्ता लाग्ने भए त अहिलेसम्म लागिहाल्थ्यो, अब घटना पुरानो हुँंदै गयो, हामीले पनि बिर्सिंदै गयौं,’ निर्मलाकी दिदी मनीषाले भनिन्, ‘यसैगरी भुल्याउने र हामीलाई घटना बिर्साउन मात्रै खोजिएको हो कि ?’ घटनाको वर्ष दिन पुगेका दिन निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्दै लामो समयसम्म आन्दोलनरत नागरिक संघर्ष समितिको बैठक बसेर केही दबाबमूलक कार्यक्रम गरिने अधिकारकर्मी नरबहादुर साउदले बताए ।


अहिले पनि जिल्ला प्रहरी कार्यालयको टोलीसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध अनुसन्धान ब्युरोको टोली अनुसन्धानमा खटिएका छन् । आवश्यकताअनुसार संघीय प्रहरी इकाई कार्यालय धनगढीबाट समेत विभिन्न टोली आउने गरेका छन् । तर पनि अनुसन्धान जहाँको त्यहीँ छ । अहिले एसपी गणेश चन्दको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


‘हाम्रो अनुसन्धान न्यारो डाउन प्रविधिबाट चलिरहेको छ, अहिले पनि विगतमा अनुसन्धानको दायरामा नआएका तथा बाहिर भएका व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउने काम भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले भने, ‘शंकास्पद व्यक्तिलाई ल्याउने र सोधपुछ गर्ने क्रम चलिरहेको छ ।’


प्रारम्भिक चरणकै कमजोरीले अनुसन्धानमा समस्या

घटनास्थल सुरक्षित गर्न नसक्दा र तत्काल प्रभावकारी ढंगले अनुसन्धान गर्न नसक्दा अनुसन्धान निकै जटिल बनेको प्रहरी अधिकारी बताउँछन् । घटनास्थल सुरक्षित गर्न नसक्दा थुप्रै प्रमाण नष्ट भएको र त्यसपछि पनि निरन्तर आन्दोलनका कारण अनुसन्धान हुन नसक्दा प्रारम्भिक चरणमै समस्या रहेको उनीहरूको भनाइ छ । निर्मला घटनाको छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले पनि अनुसन्धानमा प्रहरीको लापरबाही रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।


अदालतमा धमाधम मुद्दा

निर्मला घटनाको अनुसन्धान जारी छ । तर अदालतमा त्यही घटनासँग जोडिएका विभिन्न मुद्दा पर्ने क्रम पनि जारी छ । तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जनाविरुद्ध प्रमाण नष्ट र ४ जनाविरुद्ध यातना कसुरको मुद्दा अदालतमा विचाराधीन छ । उनीहरूलाई जिल्ला अदालतले धरौटीमा छाडेको छ । घटनामा संलग्नताको आरोप लागेकाहरूले पनि मानहानिसँगै क्षतिपूर्तिको माग गरी जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।


घाइतेको उपचारमा आर्थिक अभाव

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै भदौ ७ र ८ गतेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएकाहरू अहिले पनि काठमाडौंमा उपचाररत छन् । भदौ ७ गते दायाँ खुट्टामा गोली लागेर घाइते भएका भीमदत्त नगरपालिका–४ का अर्जुन भण्डारा काठमाडौंस्थित शिक्षण अस्पतालमा अचेत अवस्थामा छन् ।


उनको दायाँ खुट्टा काटिएको छ भने अन्य शरीर पनि चल्दैन । एक वर्षदेखि अस्पतालको शय्यामा रहेका छोराको उपचारमा समस्या भएको अर्जुनकी आमा शिवकलाले बताइन् । नयाँं वर्षदेखि सरकारले उपचार खर्च दिन छाडेपछि समस्या भएको उनको भनाइ छ ।

भदौ ८ गते प्रहरीको गोली लागेर घाइते भएका उमेश देउवा पनि अहिले उपचारमै छन् । अर्जुनको तुलनामा उमेशको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । तर नियमित फलोअप गराउन आर्थिक अभावका कारण समस्या भएको उमेशका बुवा यज्ञराजले बताए । उमेशको बायाँ खुट्टामा गोली र बायाँ हातमा छर्रा लागेको थियो । चेतन भट्ट, सुरेन्द्र देउवालगायत घाइते पनि नियमित उपचारमा छन् ।


राहतसँगै रोजगारी पनि

लामो समयसम्म सरकारले घोषणा गरेको राहत बुझ्न इन्कार गर्दै आएकी निर्मलाकी आमा दुर्गादेवीले राहत रकम बुझेकी छन् । वैशाख पहिलो साता उनले तीनवटै सरकारले घोषणा गरेको राहत लिइन् । निर्मला घटनापछि भीमदत्त नगरपालिकाले ३ लाख, सुदूरपश्चिम प्रदेश सरकारले ५ लाख र संघीय सरकारले १० लाख राहत दिने घोषणा गरेको थियो । राहत रकम बुझेसँगै दुर्गादेवीले नगरपालिकामा दैनिक ज्यालादारीमा काम पनि पाएकी छन् ।

प्रकाशित : श्रावण ९, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?