कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ओढारमा १६ केजी सुन

हरिराम उप्रेती

(गोरखा) — तिब्बती बजारबाट अवैध रूपमा भित्र्याइएको १६ किलो सुन प्रहरीले बरामद गरेको छ । धार्चे गाउँपालिका–३, खोर्लाबेसीनेरको ओडारमा लुकाइराखेको अवस्थामा बिहीबार बिहान प्रहरीले सुन बरामद गरेको हो । 

ओढारमा १६ केजी सुन

प्रहरीले बिहीबार राति उक्त सुन सार्वजनिक गरेको छ । ‘बोराले बेरेर झोला र सलले बाँधी ढुंगामुनि लुकाइराखेको अवस्थामा सुन भेट्यौं,’ एसपी ओम अधिकारीले भने । चुमनुब्री गाउँपालिका–७, छेकम्पारस्थित ङुइला नाकाबाट सुन भित्र्याइएको प्रहरीले जनाएको छ । उक्त सुन आठ करोड ९१ लाख रुपैयाँ बराबरको छ ।


२९ दिनदेखि सम्पर्कविहीन रहेका धार्चे गाउँपालिका–१, हुल्चोकस्थित यारुबगरका खच्चड व्यवसायी धनकमल गुरुङले उक्त स्थानमा सुन लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । धनकमललाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरेको थियो ।


खच्चड व्यवसायी धनकमल गत असार ११ गते राति १० बजेबाट हराएका थिए । उनले असार १२ गते आफू अपहरणमा परेको भन्दै परिवारजनलाई जानकारी गराएका थिए । सुन ल्याएको सुइँको पाएपछि केही युवाले आफूलाई आक्रमण गरेको उनले बताएका थिए । सुन लुट्ने उद्देश्यले धनकमललाई आक्रमण गर्ने तीन युवा अझै प्रहरी हिरासतमा छन् तर उनीहरूमाथि धनकमलले लगाएको आरोप पुष्टि हुन सकेन । बरु प्रहरीसँग वादविवाद गरेको आरोप लगाउँदै प्रहरीले उनीहरूलाई सार्वजनिक अपराध मुद्दा दर्ता गरी हिरासतमा राखेको छ ।


‘सुरुमा परिवारले धनकमल सम्पर्कविहीन छन् भन्दै उजुरी दिए, पछि परिवारसँग सम्पर्क भयो भनेर फिर्ता लिए,’ एसपी अधिकारीले भने, ‘परिवारको सम्पर्कमा आउने, हाम्रो सम्पर्कमा नआउने, घटना शंकास्पद बनेपछि खोजी तीव्र पारेका थियौं ।’ उक्त घटनाको अनुसन्धान नगरी दिउँसै कार्यालयमा मदिरा पिएको भन्दै तत्कालीन प्रहरी प्रमुख भोला रावको असार २० गते सरुवासमेत भएको थियो ।


खच्चड धपाउँदै माछाखोलातर्फ आएका धनकमल खच्चड छाडेर सम्पर्कविहीन बनेपछि घटना रहस्यमय बनेको भन्दै प्रहरीको एक टोली उत्तरी क्षेत्रमा खटिएको थियो । दिउँसो सुन कटाउँदा जोखिममा पर्ने भएपछि राति कटाउने योजना बनाएको र त्योसमेत असफल भएपछि उनी सुन लुकाएर सम्पर्कविहीन भएको प्रहरीको अनुमान छ । ‘छेकम्पारबाट बहुमूल्य चीज ल्याएको विशेष सूत्रबाट बुझिन आएको थियो,’ अधिकारीले भने, ‘त्यसैको आधारमा खोजी गर्दा सुन फेला पार्‍यौं ।’ स्थानीयको उपस्थितिमा ओडारमा भेटिएको सुन मुचुल्का गरिएको उनले बताए । ‘घटनाको अनुसन्धानमै छौं,’ उनले भने, ‘कसरी कहाँबाट सुन आयो, कहाँ लैजान लागियो, को–को संलग्न छन्, यसबारे सूक्ष्म अनुसन्धान हुन्छ ।’ बरामद भएको सुन राजस्व कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ । उक्त सुन छेकम्पार, सिर्दिबास माछाखोला, आरुघाट हुँदै काठमाडौं पुर्‍याउन लागिएको प्रहरीले जनाएको छ ।


गत भदौ अन्तिम साता चुमनुब्री गाउँपालिका–३, सिर्दिबासस्थित फिलिमबाट प्रहरीले १० किलो अवैध सुन बरामद गरेको थियो । गत भदौमा समातिएको सुनको मुद्दा किनारा नलाग्दै फेरि सुन समातिएपछि तस्करीका लागि उत्तरी गोरखा सजिलो रुट भएको थप पुष्टि भएको छ । उत्तरी क्षेत्रको सीमा सुरक्षा फितलो हुँदा पनि तस्करले उक्त नाका प्रयोग गर्ने गरेका छन् । छेकम्पार–आरुघाटको रुटअन्तर्गत छेकम्पार र सिर्दिबासमा मात्रै प्रहरी चौकी छन् ।

प्रकाशित : श्रावण ९, २०७६ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?