१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

हेग लगिए म झन् हिरो हुन्छु : दाहाल 

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूलाई हेग (अन्तर्राष्ट्रिय अदालत) लगिए आफू झन् विश्वभर चर्चित हुने दाबी गरेका छन् । उनले ललितपुरस्थित आफ्नो निवास खुमलटारमा सोमबार बिहान नेकपामा प्रवेश गरेका नेत्रविक्रम चन्द समूहका ८ नेता/कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो दाबी गरेका हुन् ।

हेग लगिए म झन् हिरो हुन्छु : दाहाल 

‘हेग लगिएपनि मलाई केही फरक पर्ने छैन । हेग लगे भने त म झन् विश्वकै हिरो भएर निस्कन्छु, संसारभरिका जनताले मलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने छन् । त्यो त मेरो लागि गौरवको कुरा हुन्छ’ उनले भने, ‘तर मलाई लाग्दैन तिनीहरूले लान्छन् र विश्वको हिरो बनाउँछन् भनेर ।’


नेकपा प्रवेश गरेका नेताहरूले सशस्त्रकालीन मानव अधिकार उल्लंघनका घटनामा तत्कालीन माओवादीका दाहालसहितका नेता तथा कार्यकर्तालाई अन्तर्राष्ट्रिय अदालतमा लगेर कारबाही हुन सक्ने खतरा अझै रहेको धारणा व्यक्त गरेका थिए । दाहालले त्यसको प्रत्युत्तर दिँदै कसैले पनि आफूलाई हेग लान नसक्ने दाबी गरेका हुन् ।


उनले मुलुकमा परिवर्तनको नेतृत्व गरेका नेताहरूलाई सिध्याउन पाए लोकतान्त्रिक उपलब्धिलाई उल्टाउन सकिन्छ कि भनेर पश्चमागी तत्वले षडयन्त्र गरिरहेको दाबीसमेत गरे ।

दाहालले चन्दको नेतृत्वमा केही मान्छे लाग्दैमा क्रान्ति हुन नसक्ने बताए । ‘दुई चार जना क्रान्ति गर्छौ भनेर लाग्दैमा क्रान्ति हुँदैन । क्रान्ति त लाखौं करोडौं जनताको व्यापक जनसहभागिताबाट मात्र सम्भव हुन्छ’ उनले भने ।

उनले आफ्नो पार्टीको नेतृत्वमा क्रान्ति पूर्ण रूपमा सफल नभएपनि शक्ति सन्तुलन र विश्व परिस्थितिलाई विचार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिमा चित्त बुझाएको बताए । उनले संघीय लोकतान्त्रिक व्यवस्था रहँदासम्म अहिले नेतृत्वमा रहेकामध्ये कोही पनि कमजोर नहुने बताए ।


उनले क्रान्तिका नाममा हिंसात्मक गतिविधि गर्दा संघीय लोकतान्त्रिक व्यवस्था कमजोर भई प्रतिक्रियावादीलाई फाइदा पुग्ने र मुलुकले दुःख पाउने उल्लेख गर्दै चन्द समूहले यसतर्फ सचेत हुन आग्रह गरेका थिए ।

प्रकाशित : श्रावण १३, २०७६ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?