१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्कुल विभाग लिन तयार छु : खनाल

अर्जुन राजवंशी

बिर्तामोड — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले स्कुल विभागको जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन् । पार्टीले विचार गरेर जिम्मेवारी दिए आफू स्कुल विभाग चलाउन सक्षम रहेको उनको भनाइ छ । 

स्कुल विभाग लिन तयार छु : खनाल

मंगलबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने,‘म त प्रधानमन्त्री भएर देश नै चलाएको मान्छे हुँ । पार्टीले दिन्छ भने स्कुल विभागको जिम्मेवारी किन नलिने ?’ उनले स्कुल विभागको विवाद मिडियाले चलाएको आरोप लगाए ।


पार्टीभित्र कुनै विवाद नभएको तर, मिडियाले तीव्रताका साथ बहस चलाएर स्कुल विभागमा विवाद देखाएको उनको दाबी छ । खनालले स्कुल विभाग जसलाई दिएपनि ठूलो कुरा नभएको टिप्पणी गरे ।


‘स्कुल विभाग मलाई दिएपनि हुन्छ । ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलाई दिएपनि कुनै आपत्ति छैन’ उनले भने,‘तर, विभागहरु गठन गर्ने विषयमा थप गृहकार्य गर्ने सहमति भएको छ । हामी आगामी २८ गतेसम्म गृहकार्य गर्छौँ ।’ उनले थप गृहकार्य र सहमतिबाट पार्टी एकीकरण प्रक्रियालाई चाडै टुंग्याउन लागेको बताए ।


उनले बांगाटिंगो हुँदै पार्टी एकीकरण प्रक्रिया अहिलेको अवस्थासम्म आइपुगेको बताए । ‘एकीकरण प्रक्रिया करिब एक वर्ष निस्क्रिय र≈यो । यसले पार्टीलाई ठूलो क्षति पुगेको छ । तर, अहिले वडा कमिटीसम्म र जनवर्गीय संगठनहरुलाई पनि अघि बढाएर यो प्रक्रियालाई चाडै टुंग्याउने प्रयास गरिरहेका छौं’ उनले भने ।


नेता खनालले सरकारमा रहेको मन्त्रिमण्डलमा परिवर्तन गर्न जरुरी रहेको बताए । उनले केही मन्त्रीहरुको काम र योग्यता कमजोर देखिएकोले मन्त्री परिवर्तन गर्ने बेला भएको बताए । ‘पार्टीले सरकारको काम, कारबाहीको समिक्षा गर्ने बेला भएको छ । समिक्षा गर्दा मन्त्रिमण्डल पुर्नगठन गर्न जरुरी हुन्छ’ उनले भने ।

प्रकाशित : श्रावण १४, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?