२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

प्रधानमन्त्रीको 'कन्भिन्स' ले बनायो योगेशलाई मन्त्री

दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गरेका छन् । उनले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्तमन्त्री भट्टराईलाई ४ बजे शपथ गराउँदैछिन् । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराई नेकपाका स्थायी समिति सदस्यसमेत हुन् । उनी पहिलोपटक मन्त्री बन्दै छन् । 

प्रधानमन्त्रीको 'कन्भिन्स' ले बनायो योगेशलाई मन्त्री

गत फागुन १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए ।


२०२३ सालमा ताप्लेजुङमा जन्मिएका भट्टराई तत्कालीन एमालेको विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । २०५२ सालमा तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष बनेका थिए । विद्यार्थी राजनीतिको बलमा पार्टीमा स्थापीत भएका नेता भट्टराई तत्कालीन माओवादीसँग मिल्नुअघि तत्कालीन एमालेको सचिव थिए ।


योगेश पार्टीभित्र विचार र संगठन दुवै क्षेत्रमा जुझारु नेताको रुपमा चिनिन्छन् । २०५४ सालमा तत्कालीन एमाले विभाजन हुँदा उनी माले खेमामा लागेका थिए । पार्टी एकीकरणपछि उनी संगठन निर्माणका क्षेत्रमै क्रियाशील भए । २०६२/०६३ सालको जनआन्दोलनका बेला काठमाडौंको आन्दोलन परिचालनको अग्रमोर्चामा भट्टराई संलग्न थिए । २०६४ साल र २०७० सालको संविधान सभा चुनावमा उनी काठमाडौं निर्वाचन क्षेत्र ६ बाट उम्मेदवार बनेका थिए । तर ती दुवै निर्वाचन भट्टराईका लागि अनुकूल बनेनन् । त्यसपछि उनी २०७४ को प्रतिनिधिसभा चुनावमा गृहजिल्ला ताप्लेजुङमा उम्मेदवार बने र जिते ।

तत्कालीन एमालेको प्रचार विभागमा बसेर पार्टीका प्रकाशन र प्रचारको काममा समेत भूमिका निर्वाह गरिसकेका भट्टराई पछिल्लो समयमा संसदभित्र पनि क्रियाशील थिए । संसदीय सुनुवाइ समिति र शिक्षा समितिमा बसेर काम गरिरहेका भट्टराईलाई पार्टी भित्रबाट मन्त्री बनाउन सुरुदेखि नै दबाब थियो ।


पहिलो चरणको मन्त्रिपरिषद् विस्तारकै क्रममा भट्टराईको नाम आए पनि पार्टी भित्रको गुटबन्दीको कारण उनी सूचीमा परेनन् । चुनावका बेला अध्यक्ष ओलीले नै भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर जितेपछि मन्त्री बनाउने आश्वासन दिएका थिए । तर चुनाव जितेपछि सरकार बनाउने बेला भट्टराई पार्टीभित्रको आन्तरिक खिचातानीको शिकार बने । किनकि उनी माधव नेपाल समूह निकट हुन् । पार्टी भित्रको गुटमा नेपाल पक्षमा भए पनि उनी आफूलाई लागेको विषयमा स्पष्ट बोल्छन् र सक्रिय पनि छन् ।


त्यसैले उनका निकट साथी रवीन्द्र अधिकारीको निधन भएपछि उनको योजना पुरा गर्न सक्ने नेताको रुपमा भट्टराईलाई हेरिएको थियो । भट्टाईको अधिकारीसँग व्यक्तिगत रुपमा पनि अत्यन्त निकट सम्बन्ध थियो । अधिकारीको निधनपछि भट्टराईलाई नै त्यो पद स्वीकारीदिन पटकपटक प्रधानमन्त्री ओली र नेकपाका शीर्ष नेताहरुले आग्रह गर्दै आएका थिए ।

उनी निकटस्थहरुका अनुसार भट्टराईले नेताहरुको आग्रहलाई स्वीकारेका थिएनन् । मन्त्रालय धेरै लामो समयसम्म प्रधानमन्त्री अन्तर्गत रहँदा काममा पनि समस्या आएकोले यो बीचमा प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा पटकपटक भट्टराईलाई बालुवाटारमा बेलाए । पछिल्लो दिनमा भट्टराईलाई धेरैपटक ओलीले बालुवाटारमा बोलाएर कन्भिन्स गरे । पार्टीको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको आग्रह र अन्य नेताहरुले पनि जिम्मेवारी लिन सुझाव दिएपछि भट्टराई राजी भएका हुन् ।

प्रकाशित : श्रावण १५, २०७६ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?