कुवेत जान खोज्दा जेल

दलाललाई पत्याएर कुवेत हिँडेका तीन नेपाली महिलाले भारतमा पक्राउ परेपछि मात्र आफूहरूको श्रम स्वीकृति नक्कली रहेको थाहा पाए । ६ महिना जेल बसेपछि अदालतबाट निर्दोष ठहरिएका उनीहरू बुधबार स्वदेश आइपुगेका छन् । 
पर्वत पोर्तेल

काँकडभिट्टा — बिर्तामोड–६ की रुपा लिम्बू (परिवर्तिन नाम) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपाइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरू महिला पनि थिए । 

कुवेत जान खोज्दा जेल

रुपा दिल्ली पुगेको एक सातापछि आइपुगिन्, रौतहटको गुजारा नगरपालिका–२ की सानीमाया घिसिङ (परिवर्तित नाम) । सानीमाया माघ १ गते सुनौली नाका पार गरेर दिल्ली पुगेकी थिइन् । रुपालाई झापाकै गोपाल बराइली नामका एजेन्टले दिल्ली पुर्‍याएका थिए । सानीमाया राज नामका एजेन्टको साथ लागेर पुगेकी थिइन् । दुवैले करिब डेढ महिना दिल्लीको जाडो भोगे । दलालले तीन–चार दिनपछि उडाउँछु भनेर आश्वासन दिएको थियो । तर डेढ महिनासम्म नपठाएपछि रुपाले भनिन्, ‘मलाई विदेश जानु छैन, घर फर्काइदेऊ ।’


रूपाले यति भनेपछि दलाल कुवेत पठाउन सहमत भए । इन्दिरा गान्धी विमानस्थल पुर्‍याएर फर्कनुअघि ती दलालले हातमा टिकट र पासपोर्ट थमाउँदै भने, ‘दुबई पुगेर जहाज फेर्नुपर्छ है, ध्यान दिनुहोला ।’ रुपा र सानीमायाले नपत्याउने कुरै थिएन । ९ फागुनमा दिल्लीबाट उडेको करिब ३ घण्टापछि जहाज रोकियो । रुपा र सानीमायाले ठाने– दुबई आइपुग्यो, अब कुवेतका लागि अर्को जहाज चढ्नुपर्छ ।


हत्तपत्त काउन्टरमा पुगेर पासपोर्ट देखाए । नबुझिने भाषामा विमानस्थल कर्मचारी गाइँगुइँ गर्न थाले । केही समयपछि प्रहरी आएर कागजात शंकास्पद रहेको भन्दै पक्रेर लग्यो । उनीहरू दुबई नभएर दक्षिण भारत केरलाको त्रिवेन्द्रपुरम विमानस्थल पो पुगेका रहेछन् । ‘त्यति बेला मात्रै फसाइएछ भन्ने थाहा भयो’, रुपाले भनिन्, ‘रोइकराइ गर्‍यौं, धेरै बिन्ती गर्‍यौं, पुलिसले छाडेन ।’ पासपोर्टमा श्रम स्वीकृतिको नक्कली स्टिकर टाँसिएको पाएपछि वालियाधुरा थाना प्रहरीले मुद्दा चलायो । उनीहरूमाथि आईपीसी र विदेशी कानुन ऐनअन्तर्गत मुद्दा दायर गरिएको थियो ।


स्थानीय अदालतले दुवैलाई दोषी ठहर गर्दै जेल सजाय सुनायो । एक सातापछि हुप्सेकोटा–५ की चिनीमाया राई (परिवर्तित नाम) सोही मुद्दामा जेल परिन् ।


दलालले श्रम स्वीकृतिको नक्कली स्टिकर टाँसेर पठाएको रुपा र सानीमायाले जस्तै उनले पनि पत्तो पाइनन् । चिनीमाया माघ १२ गते नेपालगन्जको रुपैडिया नाका हुँदै दिल्ली पुगेकी थिइन् । एकल महिला उनको काँधमा एक छोरा र एक छोरी हुर्काउनुपर्ने दायित्व छ । विदेशबाट फर्किएकी चिनारु महिलाले दिल्लीको दलालसँग चिनजान गराएकी थिइन् । चिनीमाया भन्छिन्, ‘काम राम्रो छ, सजिलो छ भनेपछि जाने रुचि भयो ।’


यी तीन जनाले करिब ६ महिना त्रिवेन्द्रपुरमको अताकुलांगारा महिला जेलमा सँगै बिताए । उनीहरूलाई प्रथम श्रेणीको स्थानीय न्यायिक अदालतले असार २५ मा निर्दोष साबित गर्दै रिहा गरेको नेपाली दूतावास दिल्लीका काउन्सिलर प्रकाश अधिकारीले जानकारी दिए । रिहापछि उनीहरूलाई केही दिन सेल्टर होममा राखेर मनोसामाजिक परामर्श गरिएको थियो ।

मानव तस्करीविरुद्ध सक्रिय संस्था तथा दिल्लीस्थित दूतावासको सहयोगमा उनीहरुले अदालतको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दर्ता गराएका थिए । भारतीय प्रहरीको क्राइम ब्रान्चले यो मुद्दा अनुसन्धान गरेको थियो । ब्रान्चका प्रहरी अधिकृत एन अब्दुल रसिदको अनुसन्धानले महिलाहरू निर्दोष भएको निष्कर्ष निकालेको थियो ।


सोही अनुसन्धानलाई आधार मान्दै अदालतले उनीहरू मानव तस्करीको चंगुलमा परेको र नक्कली कागजात बनाउन कुनै संलग्नता नदेखिएको भनी निर्दोष साबित गर्दै सफाइ दिएको काउन्सिलर अधिकारीले जानकारी दिए । उनका अनुसार मानव तस्करीमा संलग्न झापाका बराइलीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । तीनै जना महिला बुधबार काँकडभिट्टा आइपुगे ।


उनीहरूलाई लिन आफन्त आइपुगेका थिए । मानव तस्करीविरुद्ध सक्रिय गैरसरकारी संस्था भारत, सिलिगुडीको डुवर्स एक्सप्रेस र आफन्त नेपालले प्रहरीको रोहबरमा उनीहरूलाई आफन्तको जिम्मा लगायो । ‘जेल परेपछि बाँचेर फर्किन्न होलाजस्तो लागेको थियो,’ छोरीलाई अँगालो हाल्दै चिनीमाया भक्कानिइन्, ‘धन्य ! बाँचेर आइयो ।’

प्रकाशित : श्रावण १५, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?