कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नवनियुक्त पर्यटनमन्त्रीले भने, 'कसैलाई काम लगाउन होइन सिक्न आएको हुँ'

अधिकारीको उत्तराधिकारी भएर आएको छु
रासस

काठमाडौँ — नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको इज्जत र जनताको अपेक्षा पूरा गर्नेतर्फ आफूले ध्यान केन्द्रित गर्ने बताएका छन् ।

नवनियुक्त पर्यटनमन्त्रीले भने, 'कसैलाई काम लगाउन होइन सिक्न आएको हुँ'

बुधबार मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित स्वागत समारोहमा मन्त्री भट्टराईले भने, “तपाईहरुले मलाई काम लगाउनुहुनेछ, कस्तो काम गर्दा मुलुकको इज्जत बढ्छ, प्रधानमन्त्रीले र जनताले सोचेको अपेक्षा पूरा हुन्छ, के गर्दा चुनौतीमाथि सफलता हासिल हुन्छ, भोलिका दिनमा विषयगत हिसाबले छलफल गरेर जानेछु ।”


केही दिनभित्रैमा प्रधानमन्त्रीसमक्ष मन्त्रीको हिसाबले कामको करार सम्झौता गर्ने उल्लेख गर्दै मन्त्री भट्टराईले भने, “हामी जे गर्न सक्छौँ, त्यो कुरा भन्छौँ, जे हुन सक्दैन, त्यो के कारणले भएन भनेर पारदर्शी ढङ्गले बताउने छौँ ।” निर्देशन कम हुने र सामूहिक निर्णयबाट अघि बढ्ने बताउँदै उनले प्रधानमन्त्रीले राखेको आशा र अपेक्षा पूरा गर्ने उल्लेख गरे ।


कुनै पूर्वघोषित कार्यक्रम नभई परिस्थितिले आफू मन्त्री हुन आइपुगेको प्रष्ट्याउँदै उनले कसैलाई काम लगाउन होइन काम सिक्न आएको बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनालाई समयमै सक्ने तथा सन् २०२० को नेपाल भ्रमण वर्ष साकार पार्ने मन्त्री भट्टराईले प्रतिबद्धता जनाए ।


मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कुनै कसर बाँकी नराख्ने मन्त्री भट्टराईको भनाइ थियो । नेपाल वायुसेवा निगमको विश्वसनियता कायम गर्नेसमेत उनले प्रतिबद्धता जनाए । सञ्चारमाध्यमलाई कुनै पनि बधाई नछाप्न अनुरोध गर्दै उनले मन्त्रीका रुपमा नियुक्तिका लागि सहयोग गर्ने पार्टीका नेतृत्वप्रति आभार प्रकट गरे ।


अधिकारीको उत्तराधिकारी भएर आएको छु


मन्त्री भट्टराईले विसं २०७५ फागुन १५ गते तत्कालिन मन्त्री रवीन्द्र अधिकारीको दुःखद् निधनले असल युवा राजनीतिकर्मी र घनिष्ट मित्र गुमाएको स्मरण गरे । उनले परिस्थिति र घटनाक्रमले अधिकारीको कुर्सीमा आफू आइपुगेको बताए । “यो मन्त्रालयलाई उहाँकै नेतृत्व आवश्यक थियो, प्रधानमन्त्रीले सही चयन गर्नुभएको थियो, अफसोच प्रकृतिसँग हामीले जित्न सकेनौँ र उहाँलाई अल्पआयुमै गुमाउन पुग्यौँ, उहाँको एउटा उत्तराधिकारी जस्तो भएर म आएको छु, यसोभन्दा मलाई कुनै हिनताबोध छैन, गर्व छ”, मन्त्री भट्टराईले भने ।


अधिकारीले यो मन्त्रालयमा जे कदम उठाउनुभएको थियो, त्यो कामलाई आगामी दिनमा अझै माथि बढाउने विश्वास व्यक्त गर्दै उनले यसअघि जिम्मेवारी सम्हालिसकेको सल्लाह लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित : श्रावण १५, २०७६ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?