२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भ्यु टावरमा हुन्डी रकम

काठमाडौँ — जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पुरानो बसपार्कमा निर्माण थालेको २९ तले ‘काठमाडौं भ्यु टावर’ मा गैरकानुनी रूपमा संकलित रकम प्रयोग भएको भेटिएको छ ।

भ्यु टावरमा हुन्डी रकम

सिंगापुरमा संकलित रकम हुन्डीबाट नेपाल भित्र्याएको आरोपमा राजस्व अनुसन्धान विभागले बुधबार बिल्डर्स सञ्चालक मनोज भेटवालसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

गैरकानुनी रूपमा हुन्डी कारोबार गरेकाले विदेशी विनिमय ऐनअनुसार कारबाही हुनुपर्ने भन्दै विभागले उनीहरूसँग ४ करोड ६० लाख रुपैयाँका दरले बिगो अनि त्यसको ३ गुणा सजाय र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ । बरामद भएको ४ करोड ६० लाख जफतसमेत हुनुपर्ने मागदाबी छ ।

विभागका अनुसार निशा गुरुङले सिंगापुरमा रहेका आफन्त, साथीहरू र अन्य व्यक्तिसँग काठमाडौं भ्यु टावरमा लगानी गर्ने भनी रकम संकलन गरेकी थिइन् । त्यो रकम राष्ट्र बैंकको अनुमतिबिना गैरकानुनी रूपमा हुन्डीबाट नेपाल भित्र्याएको विभागको आरोप छ । त्यस क्रममा राजकुमार विष्ट अनि उनका भाइ शिव विष्टको सहयोगमा भेटवालसँग मिलेमतो गरी रकम प्रयोग गरिएको विभागको अनुसन्धानबाट खुलेको छ । ‘उक्त रकम विभिन्न व्यक्तिहरूलाई वितरण गरेको कुरा पुष्टि हुन आएको छ,’ विभागले भन्यो ।

रकम संकलनको आरोप लागेकी गुरुङ अमिताभ मल्टी प्रपोज प्रालिकी सञ्चालकसमेत हुन् । उनको फर्मले कुनै कारोबार नगरेको भनी आन्तरिक राजस्व कार्यालयले विवरण पठाएको थियो । तर उनको फर्मको बैंक खातामा व्यावसायिक कारोबारको आन्दानीका नाममा ठूलो रकम बचत र भुक्तानी भएको भेटिएको हो । उनीहरूका साथबाट १ सय ४ वटा चेक पनि बरामद भएको विभागले जनाएको छ ।

करिब ६ वर्षअघि काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित पुरानो बसपार्कमा बुट प्रणालीमा २९ तले ‘काठमाडौं भ्यु टावर’ निर्माणका लागि काुननी प्रक्रिया अघि बढाएको थियो । निर्माण जिम्मा पाएको बिकोई बिल्डर्सले रकम अभावमा काम गर्न सकेको छैन । पहिलो चरणमा टावरको १२ तलासम्म निर्माण गर्ने सम्झौता छ । अहिलेसम्म टावरको पाइल हाल्नेबाहेक अन्य काम हुन सकेको छैन । विभिन्न कानुनी अड्चन देखाउँदै विल्डर्सले ढिलाइ गरिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को सार्वजनिक लेखा समितिले आवश्यक प्रक्रिया पुर्‍याएर निर्माण गर्न भनेपछि दुई वर्षअघि महानगरले बिल्डर्ससित अन्तिम सम्झौता गरेको थियो । भ्यु टावरको भूमिगत दुई तलामा पार्किङ, त्यसभन्दा माथि बस, टेम्पोलगायत सवारी साधन, मोटरसाइकललगायत स्टेसन बनाइनेछ ।


टावरबाट पूरै काठमाडौंको दृश्यावलोकन गर्न सकिने सम्झौतामा छ । टावरलाई व्यापारिक केन्द्रका रूपमा विकसित गरिनेछ । टावरमा प्राचीन कला झल्कने विभिन्न किसिमका डिजाइन निर्माण गर्न लगाइनेछ । टावरमा चारवटा मनोरञ्जन हल, बैंक, अस्पताल, रेस्टुरेन्ट, पुस्तकालयसमेत बनाइनेछ । टावरका प्रत्येक तला चौबीसै घण्टा खुला रहनेछन् ।

पहिलो तीस वर्षसम्म निर्माण कम्पनीले नै टावर सञ्चालन गर्नेछ । त्यसपछि महानगरलाई हस्तान्तरण गर्नेछ । टावर निर्माण गर्न करिब साढे तीन अर्ब रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ ।

कम्पनीले प्रत्येक वर्ष जमिनको सत्तरी लाख रुपैयाँ भाडा तिर्ने र भाडादर वर्षैपिच्छे दस प्रतिशतले बढ्ने पहिलो चरणको सम्झौता छ । टावर दुई वर्षभित्र सम्पन्न गर्ने, प्रत्येक वर्ष महानगरलाई २ करोड ३५ लाख राजस्व बुझाउने सम्झौतामा उल्लेख छ ।

प्रकाशित : श्रावण १६, २०७६ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?